'निगमसँग भाडामा लिएका दुईमध्ये एउटा टि्वनअटर सबै मर्मत गरेपछि शनिबारबाट उडान गर्न थाल्यौं,' ताराका उपनिर्देशक सरलसमशेर राणाले आइतबार नागरिकसँग भने, 'पहिलो उडान लुक्लाका लागि गर्यौं।'
निगमले १९ सिट क्षमताका दुई टि्वनअटर जहाज प्रतिस्पर्धा गराएर निजी कम्पनीलाई भाडामा दिन गत मंसिर २५ मा सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो। १५ दिन म्याद दिइएको सूचनापछि ताराको मात्र प्रस्ताव परेको थियो। तारा यती एयरलाइन्सअन्तर्गतको कम्पनी हो।
कलसाइन ९एन-एबिएम र ९एन-एबिक्यु भएका जहाजमध्ये एबिएमले उडान सुरु गरेको हो। यसले वैशाख २८ मा सफल परीक्षण उडान गरेको थियो। 'दुईमध्ये एउटालाई चौबीसै घन्टा नेपालगन्जमै राख्छौं र उतैबाट उडान गर्छौं,' राणाले भने, 'यसअघि नेपालगन्जमा नियमित उडान गर्न सकिएको थिएन, अब नियमित हुन्छ।'
यी दुईसहित अब तारासँग एउटा डोर्नियर, एउटा सिंगल इन्जिन पिलाटस पोर्टर र पाँचवटा टि्वनअटर जहाज भएका छन्। कम्पनीले लुक्ला, फाप्लु, मनाङ, सिमिकोट, जुम्ला, जोमसोम, डोल्पा, लामिडाँडा, पोखरा, सुर्खेत, रुम्जाटार, मन्थलीसहित चार्टर उडान गरिरहेको छ। उसले दैनिक एक दर्जन उडान गर्छ। 'अर्को टि्वनअटर एबिक्युको मर्मतसम्भार तीन साताभित्र सकिन्छ,' राणाले भने।
जहाज भाडामा लिन निगमले राखेका सबै प्रस्ताव ताराले स्वीकार गरेको थियो। त्रिभुवन विमानस्थलमा ग्राउन्डेड ती दुई जहाज जे-जस्तो अवस्थामा छन्, तिनको पहिलो अनुमानित मूल्यांकन गरिएको रकम १३ लाख ४४ हजार ५ सय ८ अमेरिकी डलरबराबर रकम १० वर्षका लागि बैंक ग्यारेन्टी पेस गर्नुपर्ने थियो। निगमले पुनः मूल्यांकन रकम बढाएर २० लाख डलर पुर्याएको थियो। ताराले यसलाई पनि स्वीकार गरेको थियो।
निगमका अनुसार १० वर्षका लागि ती जहाज भाडामा लिएवापत् ताराले एउटाबाट मासिक २४ हजार डलर तिर्ने सम्झौता गरेको छ। ताराका अर्का एक अधिकारीले दुर्गम भेगमा रहेको आफ्नो बजार जोगाइ राख्न निगमका जहाज भाडामा लिएको हो। बजारमा टि्वनअटर जहाज नपाएकाले ग्राउन्डेड नै भए पनि निगमको जहाज लिइएको हो। 'दुइटै जहाज मर्मत गर्न करिब ४० लाख डलर खर्च लाग्ने अनुमान छ' उनले भने।
ताराले भाडामा लिएका दुवै जहाज निगमले झन्डै ४० वर्षअघि क्यानडाबाट अनुदानमा पाएको थियो। भाडामा दिँदा दुवैमा इन्जिन थिएनन्। जहाजका 'फ्रेम' मात्र भाडामा दिइएको हो। ती सबै ताराले व्यवस्था गरेको हो।
सम्झौताअनुसार ताराले निगमलाई न्यूनतम मासिक भाडा दर पहिलो सात वर्षसम्म प्रतिमहिना एक जहाजको २४ हजार डलर र त्यसपछि थप २ हजार डलर गरी २६ हजार डलर दिनुपर्ने छ। यो भाडा दरमध्ये ५० प्रतिशत जहाज मर्मत खर्चवापत् कटाएर बाँकी प्रतिमहिना प्रतिजहाज १२ हजार डलर दिनुपर्ने छ। सात वर्षपछि भाडामा प्रतिमहिना थप १ हजार डलर बुझाउनुपर्ने र जहाज मर्मतसम्भारको सबै खर्च बेहोर्नुपर्ने सर्त छ।
त्यसै गरी जहाजको 'हल र लायबिलिटिज' बिमाका लागि 'स्ट्यान्डर्ड एभिएसन इन्स्योरेन्स पोलिसी' अपनाइ प्रस्तावकले नै बेहोनुपर्ने र जहाजको बिमा रकम निर्धारण गर्दा कम्तिमा निगमले उडान गरिरहेको समान उमेरको जहाज सरह हुनुपर्ने, भविष्यमा जहाज दुर्घटना भए क्षतिपूर्ति पाइने बिमा रकम आधा-आधा निगम र ताराले पाउनेछन्।
ताराले १० वर्षपछि जहाज फिर्ता गर्दा उडानयोग्य अवस्थामै हुनुपर्ने र दुईमध्ये एउटा जहाज भाडा अवधिभर निगमले तोकेका दुर्गम भेगमा उडाउनुपर्ने सर्त पनि छ।











