This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Thursday, March 29, 2012

चीनबाट १० जहाज ल्याउँछौः पर्यटनमन्त्री

१६ चैत, काठमाडौं । पर्यटनमन्त्री लोकेन्द्र विष्टले चिनबाट ५ बटा टुईनेटर र ३ बटा एम १६ र दुई वटा न्यारो बडीको जहाज ल्याउने तयारी भइरहेको बताउनु भएको छ ।

८ वटा जहाज ल्याउने प्रक्रिया धेरै अगाडि बढीसकेको भन्दै उहाँले पर्यटनको प्रर्वद्धनका लागि क्षेत्रीय स्तरमा उडान थप दुई वटा न्यरो बडी जहाज ल्याउने तयारी भइसकेको बताउनु भयो । विहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री विष्टले थप दुई वटा वाईड बडीको जहाज ल्याउने सरकारको योजना पनि सुनाउनु भयो ।

सन् २००९ को मुल्यमै एयरबसले दुई जहाज दिने बताए पनि लेखासमिति सहितका निकायहरुले पुनः प्रक्रिया सुरु गर्न भनेकोले बीचको बाटो खोजिएको उहाँको भनाई छ ।

पर्यटनमन्त्री विष्टले पोखरा र भैरहवा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमान स्थल बनाउने, बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक विमान स्थल छुट्याउने विषयमा सर्वे सहितका कामहरु भइरहेको जानकारी दिनुभयो ।

Sunday, March 25, 2012

शानेवानि, नेवानि, अनि के नि?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) अस्तित्वै मासिने जोखिममा छ। सरकारी स्वामित्वको यस निगमलाई चरम राजनीतिकरणले हालको अवस्थामा पुर्‍याएको साक्षी यसैको इतिहास हो।
दुई दशकभन्दा अघि दुईवटा बोइङ ७५७ जहाज खरिद गरेका भरमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छन्। ती जहाज पुराना भई बेलाबेला प्राविधिक समस्या आइरहन्छन्। अनि, नियमित उडान प्रभावित हुन्छन्। नेपालमा विदेशी वायुसेवा कम्पनीहरूको जहाजका तुलनामा निगमका जहाज अत्यन्त पुराना र भर पर्न नसकिने भइसकेका छन्। सीमित उडानका कारण नेपालको हवाई व्यापारको अति न्यून अंशमात्रै निगमले ओगट्न सकेको छ। नेपालको हवाई उद्योगको कारोबार हाल झन्डै ६० अर्ब रुपैयाँबराबर पुगिसकेको छ। यसमा निमगको हिस्सा मुस्किलले पाँच अर्बमात्रको रहेको तीतो यथार्थ छ। यो अत्यन्त दुःखलाग्दो अवस्था हो।
हाम्रा नेपाली श्रमिकले विदेश गई कठिन परिश्रम गरी आर्जन गरेको धन विदेशी वायुसेवा कम्पनीले फर्काइ आफ्नै देश लगिरहेका छन्। नेपाल भित्रिनुपर्ने रेमिट्यान्सको अंश हो त्यो। निगमले जहाज थपेर यिनै नेपाली श्रमिकलाई सेवा दिनसके मात्रै पनि यो रेमिट्यान्स देशभित्रै रहने थियो। यस्तो सम्भावना बोकेको राष्ट्रिय ध्वजावाहकलाई सरकारी उपेक्षाले आजको दरिद्र अवस्थामा पुर्‍याएको हो। तत्कालीन शाही नेपाल वायुसेवा निगमको स्थापनाकालपछि यसमा सरकारले ३३ करोड रुपैयाँमात्र लगानी गरेको छ। अहिले निगमको चलअचल सम्पत्ति मूल्यांकन गर्दा झन्डै १७-१८ अर्ब रुपैयाँबराबर हुन आउँछ।
सरकार जमानीमात्र बसिदिने हो भने त्यसबाट जहाज थपेर निगमलाई सशक्त बनाउन सकिन्छ। पक्कै पनि यसो गर्नुअघि व्यवस्थापन पक्ष सबल हुनु आवश्यक हुन्छ। निगमले भएका जहाजबाट जेनतेन उडान सञ्चालन गरी १ हजार ५ सय कर्मचारी र तिनका आश्रितको गर्जो टारिरहेको छ। सरकारी नियन्त्रणमा भएका संस्थानहरूमा व्यावसायिक सोच अत्यन्त न्यून पाइन्छ। तसर्थ नेवानिलाई व्यावसायिक बनाउन नयाँ अभ्यासको आवश्यकता देखिन्छ।
निगमले सन् १९८७-८८ मा दुईवटा बोइङ ७५७ खरिद गरेपछि हालसम्म अरू कुनै जहाज थप्न सकेको छैन। भएका जहाज पनि निकै पुराना छन्। जहाज खरिदको कुरा आउनासाथ कमिसनको चक्कर सुरु हुन्छ, अनि जहाज आउनै सक्दैन। यसमा राजनीतिक दलका नेताहरू नै बढी दोषी देखिन्छन्। विसं २०४६ को परिवर्तनपछि भाडामा जहाज ल्याउने लहड चल्यो। भाडामा ल्याउने अनि कमिसन खाने। भाडाका जहाज अस्थायी हुन्थे, तसर्थ किनेरै निगमलाई जहाज थप्ने काम कसैले गरेनन्। निगमले भाडामा खर्च गरेको रकममात्र जोड्ने हो भने चारवटा थप जेट जहाज आउन सक्थे, तर आएनन्।
निगमको वर्तमान अवस्थाको कारण भाडाको राजनीति नै हो। निगममा कतिसम्मको क्षमता छ भन्ने उदाहरण दुइटा बोइङ ७५७ किनेको प्रसंगले देखाउँछ। तत्कालीन शानेवानिले बोइङ ७५७ किन्दा यसको मूल्य ३ करोड ३० लाख अमेरिकी डलरमात्र थियो। यही मूल्यमा भारतको राष्ट्रिय ध्वजावाहक इन्डियन एयरलाइन्सले १५ जहाज किन्ने सम्झौता गरेको थियो। राजनीतिक कारणले उक्त सम्झौता रद्द गरी उसले एयरबस ए ३२० किन्यो। शानेवानिले सोही बोइङ ७५७ लाई दुइवटाको जम्मा ११ करोड डलर तिर्ने गरी सम्झौता गर्‍यो।
तीनवटाको भन्दा बढी पैसा तिरेर दुइटा जहाज खरिद गरियो। कमिसन कति खाए होलान्? यस्तो विषम अवस्थाले पनि निगम डुबेन र त्यही जहाजले अहिले अन्तर्राष्ट्रिय उडान धानिरहेको छ। अहिले पनि त्यति नै कमिसन खाएर पनि निगमलाई असर पर्दैन भन्न खोजेको अवश्य होइन। जहाज किन्दा हुने यस्ता भ्रष्टाचारप्रति सावधानमात्र गराएको हो। निगमको कायापलट हुनु आवश्यक छ।
राजनीतिले जस्तोसुकै कोल्टो फेरे पनि नेवानिको व्यवस्थापन अटल हुनुपर्छ। प्रजातन्त्र प्राप्तिपछि यतिका वर्ष बितिसक्दा पनि त्यसको प्रतिफलबाट नेवानिलाई वञ्चित राख्नु ठूलो अपराध हो। राजनीतिक हस्तक्षेेप मुक्त व्यवस्थापन राख्नु हाम्रो परिप्रेक्षमा असम्भवै छ। कागजमा मात्र स्वायत्त भनेर त केही हुने हैन। एउटा राम्रो आम्दानी गर्ने संस्थालाई सरकारी अड्डाजस्तो शैलीमा चलाउँदा के हुन्छ, हामीले देखी सक्यांै। कुशल व्यवस्थापक ल्याए पनि उसले आफ्नो काम राजनीतिक हस्तक्षेेपरहित अवस्थामा गर्न पाउँदैन।
आजसम्म भएको पनि यही हो। यसलाई व्यावसायिक रूपमा अघि बढाउन विशेषज्ञ परामर्श आवश्यक हुन्छ। राजनीतिक नियुक्ति पाएका एकजना फिलिपिनीले त्यही आडमा अनावश्यक जहाज खरिद गरेर फिलिपिन्स एयरलाइन्स बन्दै भएको उदाहरण पनि छ। एसियाकै नाम चलेको उक्त एयरलाइन्स पैसा तिर्न नसक्ने अवस्थामा पुग्दा जहाजहरू विदेशमा रहेको बेला बैंकहरूले जफत गरेका थिए। बन्द भएको उक्त कम्पनीलाई फेरि उड्न धेरै समय लाग्यो। अहिले विगतभन्दा सानो आकारमा क्षेत्रीय उडानमा सीमित भएको छ। कमिसनको लोभले यस्तोसम्म हुन्छ। यो सबै अव्यावसायिक व्यवस्थापन र राजनीतिक लोभका कारण भएका हुन्।
नेवानिलाई सरकारी हस्तक्षेेप मुक्त गर्न कुनै प्रतिष्ठित वायुसेवा कम्पनीसँग साझेदारीमा लान सके निगमको भलो हुन्छ। थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजलाई एसएएस भन्ने स्क्यान्डिनेभियन कम्पनीले सघाएको हो। यसैगरी श्रीलंकाको एयर लंकालाई इमिरेट्स एयरले साझेेदारीमा चलाएर वर्तमान अवस्थामा ल्याएको हो। यसो गरे साझेदार कम्पनीले हामीलाई चाहिने आवश्यक जहाज, जनशक्ति तथा अन्य स्ा्रोतसाधन उपलब्ध गराई एउटा सबल वायुसेवा कम्पनीमा परिणत गरिदिन सक्ने देखिन्छ। यसरी प्राप्त ज्ञान र सीप प्रयोग गरी हामी नेपालीले नै भोलिका दिनमा राष्ट्रिय ध्वजावाहकलाई हाँक्न सक्नेछौँ।
जहाज थपेर निगम सबल भए विदेशमा काम गर्ने नेपाली श्रमिकलाई सेवा दिएवबापत उठेको राशिले नै जहाजको मूल्य सजिलै चुकाउन सकिन्छ। अहिले नेपालमा भएका बेरोजगार पाइलट र इन्जिनियरले पनि रोजगारी पाउन सक्छन्। हामीसँग आँट र साहसको मात्र खाँचो छ। नेपाल पर्यटन वर्ष, लुम्बिनी भ्रमण वर्ष भनेर पर्यटक तान्नै पर्दैन। निगमले उडान बढाए नेपालमा पर्यटक भरिभराउ हुने निश्चित छ। विदेशी पर्यटक नेपाल आउन हिच्किचाउनुको प्रमुख कारण महँगो भाडा दर नै हो। निगमले उडान बढाएर भाडा घटाउन सके कुनै वर्ष वा पर्व पर्खिराख्नु पर्दैन। नेवानिलाई जोगाउन दरिलो प्रयास आवश्यक छ। अन्यथा शानेवानिबाट नेवानि भएको निगम अन्तिममा के नि हुने हो अनुमान पनि गर्न सकिँदैन।

25 MARCH 2012 11:05 युवराज भट्टराई (नागरिक)

टर्किसले अक्टोबरबाट काठमाडौं उडान गर्ने

काठमाडौं, चैत १३ (नागरिक)- टर्कीको सरकारी वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले नेपाल उडान गर्ने भएको छ। आगामी असोज दोस्रो सातादेखि कात्तिक दोस्रो साता (अक्टोबर) भित्र काठमाडौं उडान गर्ने कम्पनीको तयारी छ।


टर्किसले यहाँ उडान सुरु गरे काठमाडौंबाट युरोप सिधै हवाई यात्रा गर्न सकिने छ। विगतमा जर्मनीको लुफ्थान्सा एयरलाइन्स, नेदरल्यान्डको ट्रान्सेभिया एयरलाइन्स र अस्ट्रियाको अस्ट्रियन एयरलाइन्सले काठमाडौं उडान गरेका थिए।

ती ठूला वायुसेवा कम्पनीले युरोपबाट काठमाडौंका लागि उडान गरे पनि व्यापार नभएको भन्दै केही वर्षपछि सेवा नै बन्द गरेका थिए। त्यसपछि केही अवधि युरोप-काठमाडौं सिधा उडान भएको थिएन तर बीचमा नेदरल्यान्डकै अर्को वायुसेवा कम्पनी टियुआई एयरलाइन्सले काठमाडौं उडान गर्न थालेको थियो। टियुआईले हाल पनि यहाँ उडान गरिरहेको छ।

युरोपका ती वायुसेवाभन्दा अघि हाम्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि त्यहाँका तीन गन्तव्यमा डेढ दशकअघिसम्म उडान गरेको थियो। निगमले बेलायतको लन्डन, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टका लागि यहाँबाट उडान गरेको थियो।

आगामी अक्टोबरबाट काठमाडौं उडान गर्ने तयारी गरेको टर्किस एयरलाइन्सले हालै जेनिथ ट्राभल्सलाई 'जनरल सेल्स एजेन्ट' (जिएसए) नियुक्त गरेको छ। यो नियुक्तिपछि जेनिथले टर्किसको नेपालमा हुने सबैखाले बिक्री तथा बजारीकरण सम्बन्धी काम हेर्ने छ।

'टर्किसले आगामी अक्टोबरभित्र काठमाडौं उडान गर्ने गरी तयारी गरिरहेको छ,' जेनिथका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'सम्भवतः टर्कीको इस्तानबुलबाट सिधै काठमाडौंका लागि दैनिक एक उडान गर्ने योजना छ तर हवाई रुट र उडान संख्याबारे भने कम्पनीले अध्ययन गरिरहेको छ।'

टर्किले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसरह प्रतिस्पर्धी भाडा दरमा उडान गर्ने उनले जानकारी दिए। नेपाल र टर्कीबीच गत वर्ष हवाई सेवा सम्झौता भएको थियो। 'काठमाडौं उडान गर्नका लागि टर्किसले हालसम्म अनुमति भने मागेको छैन,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले भने।

टर्किस पहिलो पटक नेपाल आउन लागेको हो। यसका लागि उसले गत फागुन १८ मा जेनिथलाई नेपालको जिएसए नियुक्त गरेको थियो। टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किसले बजार विस्तार गर्नेक्रममा काठमाडौं गन्तव्य छानेको हो। उसले काठमाडौं उडान सुरु गरे नेपाल घुम्न आउने युरोपेली पर्यटक तथा यहाँबाट उता जान चाहने नेपालीलाई थप सहज हुनेमा दुवै कम्पनीका अधिकारीहरू विश्वस्त छन्।

'जेनिथसँग भएको सम्झौता घोषणा गर्न पाउँदा खुसी छौं। हामी सकेसम्म चाँडै नेपाल उडान गर्छौं,' सम्झौता घोषणा अवसरमा टर्किसको उत्तर र पूर्वी भारत हेेर्ने महाप्रबन्धक अदनान एयकाकले भने, 'पछिल्लो समय हवाई उद्योगमा भएको आशालाग्दो विकाससँगै हामी त्यहीअनुरूप अगाडि बढेका छौं र नेपालजस्तो बजार प्रवेश गर्न पाउने भएकाले थप उत्साहित छौं।'

'यो सम्झौताले टर्किस एयरलाइन्ससँग नजिक रहेर काम गर्न पाउने अवसर प्राप्त भएको छ,' जेनिथका समूह प्रबन्ध निर्देशक जोय देवानले भने, 'हाम्रो उत्कृष्ट सेवासँगै टर्किसलाई तत्काल र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि हामी सक्दो सहयोग गर्छौं।'

सन् १९३३ मा पाँचवटा जहाजबाट सेवा सुरु गरेको टर्किससँग हाल १ सय ७९ जहाज सञ्चालनमा छन्। यसले विश्वका १ सय ९३ गन्तव्यमा उडान गरिरहेको छ। तीमध्ये १ सय ५२ वटा अन्तर्राष्ट्रिय र ४१ वटा आन्तरिक गन्तव्य हुन्।

स्टार एलायन्सको सदस्य रहेको टर्किस चारतारे स्तरको वायुसेवा कम्पनी हो। तीव्र गतिले वृद्धि भइरहेको यसले 'प्यासेन्जर च्वाइस अवार्ड २०११' तथा 'बेस्ट एयरलाइन युरोप', 'बेस्ट प्रिमियम इकोनोमी सिट्स' र 'बेस्ट एयरलाइन साउदर्न युरोप' लगायत पुरस्कार पाइसकेको छ।

26 MARCH 2012 नागरिक

Wednesday, March 14, 2012

पर्यटन वर्ष: नयाँ दिनै सकेनौँ

काठमाडौ, पुस १६ - सन् २०११ लाई नेपाल र हङकङ सरकारले पर्यटन वर्षका रूपमा मनाए । चार करोड पर्यटक भित्र्याउने लक्ष्य राखेको हङकङ सरकारले ११ दिन बाँकी छँदै आफ्नो लक्ष्य पूरा गर्‍यो भने नेपालले दस लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि वर्षको अन्त्यसम्ममा संख्यात्मक हिसाबले ७५ प्रतिशत मात्रै सफलता पाएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार यो वर्ष जनवरीदेखि नोभेम्बरसम्ममा ५ लाख १ हजार २ सय ६४ पर्यटक भित्रिए भने डिसेम्बरको २७ दिनमा ३६ हजार ६ सय ९८ पर्यटक आए । चार दिनअघि प्राप्त तथ्यांकअनुसार हवाइमार्गबाट ५ लाख ३७ हजार ९ सय ६२ पर्यटक आएका छन् । पर्यटन मन्त्रालयका अनुसार स्थलमार्गबाट समेत आउने विदेशी पाहुनाको संख्या जोड्दा साढे ७ लाख पुग्न सक्छ । एघार महिनामा स्थलमार्ग भएर आउनेको संख्या १ लाख ६६ हजार पुगेको छ । सन् २०१० को १२ महिनामा हवाइमार्गबाट ४ लाख ४८ हजार ७ सय ६९ पाहुना नेपाल आए । जुन त्यतिबेलासम्मकै उच्च थियो । अहिले झन्डै २१ दशमलब ५ प्रतिशत वृद्धि भएको छ ।

दङ्ग सरकार

सांख्यिक दृष्टिले लक्ष्यमा पुग्न नसकिए पनि सरकारी पक्षले पर्यटन वर्षलाई सफल मानेको छ । पर्यटन सचिव गणेशराज जोशी भन्छन्, 'आगमन संख्या, थपिएका अन्तर्राष्ट्रिय विमान कम्पनी र पर्यटन क्षेत्रबाट हुने आम्दानी बढ्नुले महामहोत्सवलाई सफल मान्न सकिन्छ ।' नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बराल पनि जोशीकै लयमा लय मिलाउँदै भन्छन्, '२०११ को लहरले यो वर्ष नेपालमा आउने पर्यटक संख्या ऐतिहासिक उच्च बिन्दुमा पुग्दै छ ।'

पर्यटक संख्या बढ्नुमा विद्हरू शान्ति स्थापना हुनुलाई एउटा अर्को कारक मान्छन् । नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठलाई यस्तै लाग्छ । 'पर्यटक बढ्नुको मुख्य कारण शान्ति स्थापित हुनु हो,' उनी भन्छन्, '२०११ मा पर्यटन क्षेत्रबाहेकका निकायलाई अभियानमा सहभागी गराउन सक्नु पनि सफलताको आधार हो ।' निर्देशक बराल पनि बढ्दो पर्यटक संख्याले शान्तिसँगै गन्तव्यसँगको सहज पहुँच पर्यटन विस्तारको पूर्वसर्त हो भन्ने पुष्टि गरेको ठान्छन् ।

उपलब्धि १

राष्ट्रिय ध्वाजावाहकको हविगत दारुण भए पनि भ्रमण वर्ष घोषणापछि एकै वर्षमा १० नयाँ अन्तर्राष्ट्रिय विमान कम्पनी आए । सन् २००९ मा भ्रमण वर्षको घोषणासँगै नयाँ थपिने र पहिलेदेखि उडान गरेका कम्पनीले उडान संख्या बढाए । सरकारले पनि बढीभन्दा बढी पर्यटक ल्याउने उद्देश्यले २०१० मा भारतसँग हवाइसेवा सम्झौता संशोधन गर्दै दुवै पक्षले साताको ३३ हजार सिट क्षमता उडान गर्न पाउने व्यवस्था गर्‍यो । त्यस्तै नेपाल/चीनबीचको सम्झौताअनुसार साताको १४ उडान गर्न पाउने व्यवस्था छ । २००९ को मध्यदेखि र २०१० अन्तिमसम्म आइपुग्दा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या २७ पुगेको थियो । यो वर्ष अक्टुबरदेखि भारतीय विमान कम्पनी इन्डिगोले सेवा सुरु गरेको छ । हाल २८ विदेशी विमान कम्पनीले वाषिर्क साढे २२ लाख सिट सुविधा दिइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल -नाटा) का अध्यक्ष अर्जुन शर्मा त्यसले गर्दा आगमन संख्या बढेको बताउँछन् ।

'अकुपेन्सी राम्रो हुने भएकाले अन्तर्राष्ट्रिय विमान कम्पनी नेपाल उडानका लागि आकषिर्त छन्,' प्रेसिडेन्ट टुर्स एन्ड ट्राभलका सञ्चालक भोला थापा भन्छन्, 'रोजगार लक्षित भए पनि पर्यटकका लागि पनि हवाइसेवा थपिँदा सहज हुन्छ ।' त्रिभुवन विमानस्थलको तथ्यांकअनुसार सन् २०११ को नौ महिनामा अन्तर्राष्ट्रिय हवाइ आवागमन १७ दशमलब ७९ प्रतिशत र यात्रु चाप १२ दशमलब ४७ प्रतिशतले बढेको छ ।

उपलब्धि २

पर्यटन वर्षलाई लक्षित गर्दै होटल क्षेत्रमा अर्बौं रुपैयाँ लगानी हुनु यसको अर्को महत्त्वपूर्ण उपलब्धि हो । पर्यटन उद्योग महाशाखाका अनुसार द इम्प्िलमेन्टिङ एक्सपर्ट ग्रुपले सिनामंगलस्थित एयरपोर्ट होटल र पुल्चोकस्थित रेडरोज अपार्टमेन्ट होटलका लागि १ अर्ब रुपैयाँ लगानी गर्‍यो । त्यस्तै नेपालगन्जमा झन्डै ४० करोडको लगानीमा सिद्धार्थ भ्यु होटल सञ्चालनमा आएको थियो । लुम्बिनीमा पनि जापानी लगानीकर्ता कासाई ग्रुपले ४६ कोठे तीनतारे होटलका लागि ५० करोड खर्च गरेको छ ।

धनगढीको होटल डिभोटी र महेन्द्रनगरको ओपेरा होटल पनि पर्यटन वर्षमा आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको थियो । यी दुई होटलको कुल लगानी १ अर्ब रुपैयाँ छ । तारे होटलले पर्यटन वर्षमा आउने पाहुनालाई विशेष आतिथ्य महसुस गराउन कोठाको संरचना बदल्ने, नयाँ फर्निचर जडान गर्नेलगायतका काम गरेका थिए । यसबापत होटलहरूले कोठा शुल्क २५ प्रतिशतसम्म बढाएको होटल संघ नेपाल -हान) का प्रमुख कार्यकारी माधवओम श्रेष्ठ बताउँछन् ।

उपलब्धि ३

राष्ट्र बैंकका अनुसार यस वर्ष विदेशी पर्यटकबाट उठ्ने आम्दानीमा झन्डै ३० प्रतिशतले वृद्धि भएको छ । आउने पर्यटकको संख्या बढ्नु, डलर बलियो हुनु, होटलहरूको कोठाको शुल्क बढ्नुले पर्यटन क्षेत्रको आम्दानीलाई उच्च बनाएको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउँछन् । आर्थिक सर्वेक्षण २०६७/६८ का अनुसार अघिल्लो वर्ष पर्यटन क्षेत्रबाट सरकारले २७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । यसपालि आएका भारतीय पर्यटकका कारण नेपालले भारतसँगको व्यापार सन्तुलनमा पनि राहत पाउन सक्ने पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकाल बताउँछन् । 'भारतीय मुद्रा कम हुँदा नेपालले डलर दिएर सामान लिनुपर्ने अवस्था छ,' उनी भन्छन्, 'जति बढी भारतीय पाहुना यहाँ घुम्न आउँछन्, उनीहरूले नेपालका लागि भारतीय रुपैयाँको सञ्चितीलाई बढाउँछन् । सरकारका लागि यो उपलब्धि हो ।'

उपलब्धि ४

पर्यटन व्यवसायीहरू यस वर्ष ग्रामीण पर्यटन विकास गरेको दाबी गर्छन् । खासगरी भ्रमण वर्षमा 'होमस्टे' धेरै गाउँहरूमा सुरु भएको र त्यसमा आकर्षण बढेको बताउँछन् । 'पर्यटनलाई पनि आम्दानीको स्रोतका रूपमा लिन सकिन्छ भन्ने चेतना ग्रामीण क्षेत्रसम्म पुर्‍याउन पनि सफल भयौँ,' पूर्वकार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, 'दर्जनौं गाउँमा होमस्टे सुरु भएको छ । तीमध्ये केही निकै व्यावसायिकसमेत भइसकेका छन् ।' पर्यटन बोर्डअनुसार सिरुबारी, घान्द्रुक, बन्दीपुर, तामाङ हेरिटेज, सिलुङ, बरपाक, दोलखालगायत क्षेत्रमा होमस्टे विकास भइसकेको छ । तर यी सबै ठाउँको मुख्य पाहुना आन्तरिक पर्यटक नै हुन् । 'अन्तर्राष्ट्रिय पर्यटक पुर्‍याउन यस्ता स्थानको आक्रामक प्रवर्द्धन जरुरी छ,' उनी थप्छन् ।

उपलब्धि ५

भ्रमण वर्षले हस्तकलाको व्यवसायमा सकारात्मक प्रभाव पार्‍यो ।'पर्यटक वृद्धिका कारण हस्तकलाको बजार अहिले निकै राम्रो भएको छ,' हस्तकला महासंघका पूर्वअध्यक्ष पुष्करमान शाक्य भन्छन्, 'बहुआयामिक प्रभाव पर्ने यो उद्योगले रोजगारीको अवसरसमेत बढाएको छ ।' विश्व पर्यटन संगठनका अनुसार नेपालमा आउने प्रत्येक पर्यटकले सरदर १२ जनालाई रोजगारी दिन्छन् ।

उपलब्धि ६

बाह्य मुलुकमा नेपालबारे 'ट्राभल एड्भाइजरी' सकारात्मक बनाउनुले २०११ को महत्त्वलाई पुष्टि गरेको बोर्डका निर्देशक बराल बताउँछन् । भन्छन्, 'नेपाल प्रवर्द्धनका लागि बेलायत र अमेरिकामा राजदूतावासले गरेको मेट्रो बस प्रचार अभियानले राम्रो प्रतिफल दिएको छ ।' यसले गर्दा यो वर्ष नेपाल आउने पर्यटकमा बेलायतीको संख्या साढे ७ प्रतिशतले बढेको छ ।

एकातिर सरकारका पर्यटन व्यवसायसँग सम्बन्धित संयन्त्रहरू भ्रमण वर्ष सफल रहेको दावा गरिरहेका छन् भने अर्कातिर विज्ञहरू भ्रमण वर्ष भने पनि त्यस्तो उल्लेखनीय उपलब्धि केही नभएको तर्क गर्छन् । लक्ष्यअनुसार १० लाख पर्यटक ल्याउन नसक्नुमा राजनीतिक अस्थिरता, हतारमा पर्यटन वर्षको घोषणा र नेपाल वायुसेवा निगमको अस्तव्यस्ततालाई प्रमुख कारण मानेका छन् ।

केके कमजोरी भए त भ्रमण वर्षमा ?

कमजोरी १

पर्यटन वर्षमा सरकारले मुख्य गरी भारतीय र चिनियाँ पर्यटक बढाउने लक्ष्य लिएको थियो जसमध्ये दुई लाख ६२ हजार भारतीय र १ लाख चिनियाँ पर्यटक ल्याउने योजना

थियो । 'समयमै यी दुई गन्तव्यमा प्रवर्द्धनको काम हुन नसक्दा लक्ष्यअनुसार पाहुना नआएका हुन्,' पर्यटन वर्ष सचिवालय, अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिका संयोजक रञ्जित आचार्य भन्छन्, 'जति आए नियमित मेला र प्रर्दशनीमा गरिएको प्रचारका कारण आए । तिनमा नियमित नेपाल आउनेहरू पनि पर्छन् ।'

कमजोरी २

सन् २०१० मै गरिनुपर्ने प्रवर्द्धनको कार्यक्रम २०११ मा पनि हुन सकेन । युरोपेलीलगायत 'कन्ज्युमर मार्केट' का लागि गत नोभेम्बरबाट मात्र बीबीसीमा नेपाल प्रवर्द्धनका विज्ञापन प्रसारित/प्रकाशित भइरहेका छन् । 'सीएनएनको कार्यक्रम छिट्टै सुरु हुँदै छ,' आचार्य थप्छन् ।

कमजोरी ३

पर्यटकको बसाइ अवधि १६ दिन पुर्‍याउने र उनीहरूले गर्ने दैनिक खर्चलाई ४३ अमेरिकी डलरबाट दोब्बर बनाउने २०११ को अर्को उद्देश्य पनि पूरा हुन सकेन । बसाइ लम्ब्याउनलाई कुनै नयाँ गतिविधि मूलधारमा ल्याउन नसक्दा यो लक्ष्य पूरा नभएको नाटाका अध्यक्ष शर्मा बताउँछन् । 'प्राकृतिक रूपमा भएका कुरा मात्र बिक्री भइरहेको छ,' उनले भने, 'नयाँ आयाम थप्न नसक्नु हाम्रै कमजोरी हो ।' पर्यटकले यहाँ आएर गर्ने दैनिक खर्च औसत ५० अमेरिकी डलर मात्र रहेको व्यवसायी बताउँछन् । आर्थिक सर्वेक्षणअनुसार हाल घुम्न आउने पर्यटकहरू औसत १२.६७ दिन नेपाल बस्छन् ।

कमजोरी ४

पर्यटन वर्षकै कारण पहिचान भएका गन्तव्यसम्म व्यवसायीले पर्यटक पुर्‍याउन सकेनन् जब कि सरकारले २०११ मा आउने कुल पर्यटकमध्ये ४० प्रतिशतलाई नयाँ गन्तव्य र गतिविधि दिने लक्ष्य पनि लिएको थियो । यस्ता गन्तव्यमा दर्जनौं महोत्सवहरू पनि सञ्चालन भए । महोत्सवलाई व्यवसायीकरण गर्न नसक्दा प्रवर्द्धन हुन नसकेको बोर्डका निर्देशक बराल बताउँछन् ।

कमजोरी ५

नयाँ गन्तव्य पहिचान गर्ने र त्यसको प्रवर्द्धनको पूरै जिम्मेवारी लिनुपर्ने पर्यटन बोर्डभित्रको राजनीतिक चलखेल र कर्मचारीको अराजकताको असर गन्तव्य प्रवर्द्धनमा परेको छ । निजी पर्यटन व्यवसायीले कर्मचारीले बोर्डको जागिरलाई विदेश घुम्ने अवसरका रूपमा मात्र लिएको निजी पर्यटन व्यवसायीको आरोप छ । 'नयाँ गन्तव्य जान्छु भनेर माग आए मात्र हामीले प्याकेज बनाउने हो,' एक भ्रमण प्याकेज सञ्चालकले भने, 'बोर्डले कुनै गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन नसक्दा हामीले मात्र जोखिम उठाउने कुरा हुँदैन ।'

बोर्डभित्र पर्यटन क्षेत्र विकासका लागि काम गर्न विभिन्न विभाग बनाइएको छ । 'तर एकअर्कामा समन्वय नै छैन,' बोर्डकै एक कर्मचारी भन्छन्, 'यस्तोमा हाजिर हुने र्फकने काम मात्र भइरहेको छ ।' राजनीतिक चलखेलका कारण बोर्डको सञ्चालक समितिदेखि प्रमुख कार्यकारी छनोटको काममा ढिलाइ भइरहेको छ । 'प्रशासनले चाहेर नहुने रैछ,' पर्यटन मन्त्रालयका उच्च अधिकारीले भने, 'बोर्डमा आउन चाहनेमध्ये ५ जना एउटै पार्टीका छन् । उनीहरूका कारण सरकारमा रहेको पार्टीभित्रै कसको मान्छे राख्ने भनेर कलह सिर्जना भएको छ ।'

कमजोरी ६

गत वर्षको पुस ३० गते टँुडिखेलमा भएको यो 'महामहोत्सव' को औपचारिक उद्घाटनमा सबै राजनीतिक दलका नेता उभिएर पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिका विषयमा मतान्तर गरिरहेका दलहरूका शीर्ष नेताले एकै ठाउँ उभिएर पर्यटन विकासका लागि देखाएको ऐक्यबद्धता उदाहरणीय थियो । त्यसपछिको करिब ६ महिना मुलुकमा पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने गरी कुनै बन्द/हडताल भएनन् । तर २०११ को दोस्रो ६ महिनाको अवधिमा मुलुकका विभिन्न स्थानमा ५० को संख्यामा बन्द/हडताल भएका छन् । सबै बन्द र चक्काजामका घटनामा बढीमा ५ प्रतिशत मात्र दुर्घटना, हत्यालगायतका मुद्दामा कारबाही माग गर्दै सर्वसाधारण सम्मिलित छन् । पच्चानब्बे प्रतिशत घटना दलहरूले आफ्ना निहित स्वार्थपूर्तिका लागि जनतालाई नै दुःख दिने गरी आह्वान गरेको प्रहरी अधिकारीहरूले बताएका छन् । नाटाका पूर्वअध्यक्ष रामकाजी कोने भन्छन्, 'दलहरूले गरेको प्रतिबद्धता दिगो हुन नसक्नुले पर्यटन वर्ष प्रभावित भयो ।'

तालुमा आलु

उपलब्धि र कमजोरी आआफ्नै ढंगले दाबी गरिरहँदा पर्यटन विज्ञहरू आम्दानी र पर्यटक संख्या वृद्धिलाई स्वाभाविक मान्छन् । साढे दुई दशकदेखि यस क्षेत्रमा कार्यरत टेकचन्द्र पोखरेल २०११ को वृद्धिदर नेपालीको 'तालुमा आलु फलेको' बताउँछन् । उनी नेेपाल वायुसेवा निगममा जहाज नहुँदा र पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास नगरी हतारमा घोषणा गरिएको पर्यटन वर्ष सफल हुनुको श्रेय पर्यटकलाई दिएका छन् । 'उनीहरू यहाँ घुम्न आइदिए,' भन्छन्, 'यसर्थमा हामी भाग्यमानी हौं ।' उनी पर्यटक आगमन वृद्धि एकै वर्षमा नहुने बताउँदै भन्छन्, 'यसपालि पाहुना ल्याउन खर्च भएको छ, त्यसको प्रतिफल आगामी २/३ वर्षमा मात्र देखिनेछ ।'

सन् १९७५ देखि पर्यटन क्षेत्रसँग सम्बन्धित अर्का विज्ञ किशोर पाण्डेले अहिलेको वृद्धिलाई हेरेर धेरै उत्साहित भइहाल्नुपर्ने स्थिति नरहेको दाबी गर्छन् । '५ लाख पर्यटक त १९९९ मै पुगेका थिए,' उनी भन्छन्, 'बीचमा बिगि्रएको अवस्था सुधार भने भएको छ ।' बजार प्रवर्द्धनमा केही काम भए पनि पूर्वाधार निर्माणमा सरकार/व्यवसायी कसैले पनि ध्यान दिन नसकेको उनको भनाइ छ । 'पाहुनालाई नेपाल बोलाउने, आएपछि कहाँ राख्ने,' प्रश्न गर्दै भन्छन्, 'मुख्य पर्यटकीय सिजनमा आएका ४०/५० हजारलाई राख्न धौधौ भएको छ ।'

अबको चुनौती

पाण्डेका अनुसार अबको चुनौती नै पूर्वाधार निर्माण हो । 'कुनै पनि १ सय कोठाको होटल बन्न ३ वर्ष न्यूनतम लाग्छ,' उनले भने, 'त्यसमा पनि जमिन पाउन गाह्रो, बैंक ब्याज बढी छ । सरकारले ब्याज घटाउने वा विभिन्न छुट दिने र आफ्नो जग्गा भाडामा दिई पूर्वाधार निर्माण गर्न प्रोत्साहित गर्नुपर्ने देखिएको छ ।' कतिपय स्थानमा पर्यटकीय सम्भावना भए पनि सडक पहुँच नहुँदा ती ओझेलमा रहेका छन् । 'पर्यटकले कुनै ठाउँ घुम्न जाँदा सहज आवागमन, आवासको सुविधा पाउनुपर्छ, त्यसले मात्र संख्या चाहेअनुरूप वृद्धि हुन सक्छ,' उनी भन्छन् ।

पर्यटन वर्षले निजी व्यवसायीका लागि राम्रो अवसर सिर्जना गरेको पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकाल बताउँछन् । 'पाहुना बढी आउनासाथ उनले गर्ने आम्दानी पनि स्वतः बढ्छ,' भन्छन्, 'लक्षित संख्या पुग्यो/पुगेन भन्दा पनि आएकाले कस्तो फाइदा दिए त्यसका आधारमा पर्यटन वर्ष सफल रह्यो/रहेन भन्नुपर्ने हुन्छ ।' जनयुद्धले धराशयी बनाएको पर्यटन क्षेत्रले अन्यको तुलनामा राम्रो विकास गरिरहेकाले २०११ को औचित्यलाई प्रस्ट्याएको उनको दाबी छ । 'भ्रमण वर्ष १९९८ ले सन् २००० सम्म राम्रो स्थिति बनाइदिएको थियो,' उनले भने, '२०११ ले आगामी ३ वर्षसम्म पर्यटनको वृद्धिलाई कायम राख्न सघाउँछ ।'

यति हुँदाहुँदै सरकारले २०११ लाई घोषणा गरेर 'अनाथ' जस्तै बनाएकामा उनको गुनासो छ । 'यो अभियानमा जति ध्यान दिइनुपथ्र्यो सरकारले दिएन,' उनले भने, '२०११ भरि चार मन्त्री/३ सचिव परिवर्तन भए । समापन हुनेबेला पर्यटन बोर्ड प्रमुख कार्यकारीविहीन छ । यसले सरकारको लापरबाही प्रस्ट थाहा हुन्छ ।' पर्यटन विकासका लागि सबैभन्दा महत्त्व राख्ने राष्ट्रिय ध्वजावाहक नल्याएर सरकारले मुख्र्याइँपूर्ण काम गरेको उनको दाबी छ । अभियान अवधिभर निजी क्ष्ाेत्र र सरकारबीच समन्वय अभाव अर्को समस्या रहेको बताउने ढकालका अनुसार, सरकारले घोषणा गर्न लागेको लुम्बिनी भ्रमण वर्षमा सरकार मौन र निष्त्रिmय बस्नु हुन्न र यस्ता अभियानमा आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ ।


Source: Kantipur
प्रकाशित मिति: २०६८ पुस १६

Tuesday, March 13, 2012

किङफिसरद्वारा नेपाल उडान बन्द

काठमाडौ, चैत्र १ - लगातार घाटा बेहोर्दै आएको भारतीय विमान कम्पनी किङफिसरले नेपाल उडान कटौती गरेको छ । सेन्टर फर एसिया प्यासिफिक एसिया (कापा) को वेबसाइट अनुसार मार्चदेखि कम्पनीले नेपाल लगायत बैंकक, ढाका र लन्डन उडान कटौती गरेको हो ।

आर्थिक समस्याले सेवा सञ्चालन गर्न नसक्ने स्थितिमा पुगेको किङफिसरले दुई सातादेखि काठमाडौं उडान गरेको छैन । 'पर्यटकीय मौसम सुरु भएकाले अकुपेन्सी (यात्रु चाप) समस्या थिएन,' नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, 'कम्पनी डुब्न लागेकाले सेवा सञ्चालन गर्न नसकेको हो ।' किङफिसरले दिल्ली-काठमाडौं दैनिक उडान गर्दै आएको थियो । कम्पनीले २५ मार्चदेखि उडान सुचारु गर्ने जनाउँदै आएको छ । तर नियमित उडान हुनेमा शंका रहेको ती अधिकारीले बताए ।

कापा वेबसाइट अनुसार उडान कटौती गरेको गन्तव्यका लागि विमान कम्पनीले अनलाइन बुकिङ भने खुलै राखेको छ । कम्पनीले यसअघि सिंगापुर उडान बन्द गरिसकेको छ । कोलकाता-बैंकक र दिल्ली-लन्डन १० अपि्रलदेखि र मुम्बई-लन्डन उडान १६ अपि्रलदेखि बन्द हुने भएको छ ।

मुम्बई- हङकङ उडान पनि सोमबारदेखि बन्द भएको छ । यो गन्तव्यका लागि अपि्रल ४ सम्म उडान नगर्ने निर्णय कम्पनीले गरेको छ । उडान रद्द गरेपछि किङफिसरको अन्तर्राष्ट्रिय सन्जाल साँघुरिएर १० गन्तव्यमा सीमित भएको हवाई सेवा सम्बन्धी उडानतालिका लगायतको सूचना संकलन गर्ने संस्था इनोभाटाले जनाएको छ । गत वर्ष पनि घाटामै चलेको किङफिसर लगायत २०१२ को ३ महिनामा सरकारी विमान कम्पनी एयर इन्डिया, जेट एयरवेज र स्पाइस जेट समेत घाटामा चलिरहेका कापाको वेबसाइटमा सार्वजनिक समाचारमा छ ।

पारिश्रमिक नदिएको भन्दै अधिकांश पाइलटले सोमबार नै कम्पनी छोडेपछि किङफिसरको ४० भन्दा बढी उडान रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनिश्चित भविष्य र पारिश्रमिक समयमा नपाएकाले झन्डै ३ सय पाइलटले किङफिसर छाडिसकेका छन् । उडान सुचारु गर्न कम्पनीका प्रमुख कार्यकारी संजय अग्रवालले पाइलटहरूलाई तिर्नुपर्ने सबै रकम छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् ।

गत वर्षको अपि्रलमा कम्पनीले सेयर मूल्यको ५७ प्रतिशत गुमाउनुका साथै सेनसेक्समा पनि ८ दशमलव ५ प्रतिशतको घाटा खाएको थियो । यसअघि कम्पनीको सेयर मूल्य २१ करोड अमेरिकी डलर थियो । सन् २०१२ को तीन महिनामा विमान कम्पनीको अकुपेन्सी अघिल्लो वर्षको यही अवधिको तुलनामा ७४ प्रतिशतले घटेको छ । त्यस्तै यात्रुबाट प्राप्त हुने आम्दानीमा १६ प्रतिशतले गिरावट आएको कम्पनीको आर्थिक प्रतिवेदनमा छ ।

source : Kantipur

Sunday, March 4, 2012

२५ वर्ष पुराना पाइलट निगम छाड्दै

सुशील भट्टराई, काठमाडौं, फागुन २१ - काम गर्ने वातावरण नभएको भन्दै नेपाल वायुसेवा निगमका २५ वर्षभन्दा पुराना पाँच वरिष्ठ पाइलट (क्याप्टेन) ले जागिर छाड्ने भएका छन्। सबैजना भारतको निजी वायुसेवा कम्पनी ब्लु डार्ट एसिभएसनका जहाज उडाउन जान लागेका हुन्।

वरिष्ठ क्याप्टेनहरू एमटी लामा, शिशिरकुमार शर्मा, पुष्पराज शाक्य, शुभराज श्रेष्ठ र युवराजकुमार भट्टराईले जागिर छाडेर जान लागेका हुन्।
यसअघि लामाले कर्पोरेट र शर्माले अपरेसन डाइरेक्टर भएर पनि काम गरिसकेका छन्। पाँचै क्याप्टेनले दुई साताभित्र राजीनामा बुझाउने तयारी गरेको बताएका छन्।

'पैसाकै कारणले मात्र छोड्न लागेका होइनौं,' क्याप्टेन शर्माले नागरिकसँग भने, 'पछिल्लो केही अवधिदेखि निगम व्यवस्थापनको काम गर्ने वातावरण चित्त नबुझेर छोड्न लागेका हौं। नत्र, हामीलाई पनि 'मदर एयरलाइन्स' छाड्ने मन थिएन, तर काम गर्ने उत्साह नै मरेर गयो, बाध्य भएर जाँदै छौं।'

जहाजभित्र मुसा काण्ड, हङकङ विमानस्थलमा जहाजभित्र फोहोर भेटिएपछि उताको निकायको कारबाही प्रक्रियाजस्ता निगममा घटेका पछिल्ला घटनाक्रममा क्याप्टेनहरूले सञ्चारमाध्यममा जानकारी दिएको भन्दै व्यवस्थापनले स्पष्टीकरण लिएपछि पनि उनीहरू थप चिढिएका थिए।

गत भदौमा जहाजभित्र मुसा पसेको विषयमा सञ्चारमाध्यमलाई जानकारी दिएको भनेर क्याप्टेन भट्टराईलाई स्पष्टीकरण सोधेपछि व्यवस्थापनले प्रशिक्षक पाइलटबाट हटाएको थियो।

त्यसै गरी गत असोजमा जहाजभित्र पर्याप्त सुरक्षा उपाय नअपनाएको भन्दै हङकङको स्वास्थ्य विभागले गम्भीर चासो दिएर कारबाही गर्नेसम्मको चेतावनी दिएको कुरा सार्वजनिक गरेको भन्दै शर्मालाई स्पष्टीकरण सोधिएको थियो। उक्त जहाज शर्मा आफैंले उडाएर हङकङ लगेका थिए। 'सत्य, तथ्य कुरा बोल्दा कारबाही गर्छन्, त्यही भएर काम गर्ने जाँगरै चलेन,' उनले भने।

क्याप्टेन भट्टराईले निगमको 'भविष्य र योजना' दुवै नभएका कारण निगम छोड्न लागेको बताए। 'जहाज किन्ने कुरा हुन्छ तर उडाउने पाइलट र ग्राउन्ड इन्जिनियरबारे कहिल्यै कुरा हुँदैन,' निगम पाइलटहरूको छाता संगठन नेपाल एयरलाइन्स पाइलट्स एसोसिएसन (नापा) का अध्यक्षसमेत रहेका उनले भने, 'यो विडम्बना हो। जहाज आउनुअघि पाइलट र इन्जिनियरको पर्याप्त व्यवस्था हुनुपर्छ।'

निगम छाड्न लागेका क्याप्टेनमध्ये भट्टराईबाहेक सबैको सेवा-सुविधाबारे ब्लु डार्टसँग सहमति भइसकेको छ। क्याप्टेन शर्माका अनुसार ब्लु डार्टले ३३ प्रतिशत कर कटाएर ५ लाख ५० हजार भारु (८ लाख ८० हजार नेपाली रुपैयाँ) दिनेछ। कार्गो उडान मात्र गर्ने यो कम्पनीका जहाजबाट सातामा दुइटा मात्र उडान गर्नुपर्छ। सबै उडान राति हुन्छ। पाँचतारे होटलमा खानेबस्ने सुविधा कम्पनीले बेहोर्छ।

भट्टराईका अनुसार निगममा बोइङ जहाज उडाउने क्याप्टेनले भने मासिक १ लाख ३० हजार रुपैयाँजति मात्र पाइरहेका छन्। भारतमा ६५ वर्ष उमेरसम्म उडाउन पाइन्छ भने निगममा ६० वर्षको सीमा छ। यहीँका निजी कम्पनीमा भने ६५ वर्ष नै नियम छ।

'ब्लु डार्टका जहाज उडाउँदा तनाव हुँदैन,' शर्माले भने, 'भारतीय नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिने प्रक्रिया सुरु हुँदै छ। सबै प्रक्रिया पूरा भएपछि आउने चैत १९ देखि जेठ १८ भित्र गइसक्छौं।' क्याप्टेन भट्टराईले पनि आवश्यक कागजपत्र सबै भारत पठाइसकेका छन्।

निगम व्यवस्थापन अहिले पनि आठवटा जहाज चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याउने भनिरहेको छ, तर ती जहाज उडाउने पाइलट नभएको भट्टराई बताउँछन्। 'पाइलट आकर्षित गर्ने विषय निगममा जहिले पनि गौण हुने गरेको छ,' उनले भने।

हाल निगमसँग अन्तर्राष्ट्रिय जहाज उडाउन ३३ र आन्तरिक जहाजका लागि करिब १८ पाइलट छन्। तीमध्ये आरके शेरचन, इच्छाराज गुरुङ, विजय लामा, सुभाष रिजाल, एलबी थकालीलगायत पाइलटले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै जहाज उडाउँछन्। निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न दुईवटा बोइङ ७५७ र आन्तरिकका लागि साना चारवटा टि्वनअटर छन्।

पाइलट अभावकै कारण निगमले दुइटा टि्वनअटर जहाज निजी वायुसेवा कम्पनी तारा एयरलाई भाडामा उडाउन दिइरहेको छ। 'आन्तरिक उडान गर्ने पाइलट निजी कम्पनीबाटै तान्ने हो, तर उनीहरूको भन्दा राम्रो सेवा सुविधा नभई कसरी निगममा आउँछन्?,' उनले भने, 'पाइलटको सेवा सुविधा बढाउन बारम्बार आग्रह गर्दा पनि व्यवस्थापनले वास्ता गरेन।'

अहिले ब्लु डार्टमा जान लागेका पाँचजना निगम छाड्ने पहिला क्याप्टेन भने होइनन्। हाल ब्लु डार्टमै पाँच नेपाली क्याप्टेन इन्द्रप्रसाद सिटौला, प्रमोदराज पाण्डे, कुन्दन गिरी, मनजुजु श्रेष्ठ र विशाल देवानले जहाज उडाइरहेका छन्। ती सबै निगम छाडेर गएका थिए।

यता निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले पाँच क्याप्टेनले निगम छाड्नेबारे कुनै आधिकारिक जानकारी नआएको बताए। 'दक्ष र अनुभवी पाइलटले छाडेर जानु निगमका लागि राम्रो पक्कै होइन,' उनले भने, 'पाइलटहरूको सेवा-सुविधा बढाउने योजना छ।'

विश्वप्रसिद्ध कार्गो तथा कुरियर कम्पनी डिएचएल एक्सप्रेसको भगिनी कम्पनी ब्लु डार्टसँग हाल बोइङ ७३७ तीनवटा र ७५७ चारवटा छन्। सन् १९९६ बाट उडान सुरु गरेको यसले भारतका आन्ध्र प्रदेश, नयाँदिल्ली, गुजरात, कर्णाटक, केरला, महाराष्ट्र, तमिलनाडु र पश्चिम बंगालमा उडान गर्छ। यसको हब चेन्नाई अन्तर्राष्ट्रिय विमानस्थल हो।

SUNDAY, 04 MARCH 2012 नागरिक