काठमाडौं, चैत १३ (नागरिक)- टर्कीको सरकारी वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले नेपाल उडान गर्ने भएको छ। आगामी असोज दोस्रो सातादेखि कात्तिक दोस्रो साता (अक्टोबर) भित्र काठमाडौं उडान गर्ने कम्पनीको तयारी छ।
टर्किसले यहाँ उडान सुरु गरे काठमाडौंबाट युरोप सिधै हवाई यात्रा गर्न सकिने छ। विगतमा जर्मनीको लुफ्थान्सा एयरलाइन्स, नेदरल्यान्डको ट्रान्सेभिया एयरलाइन्स र अस्ट्रियाको अस्ट्रियन एयरलाइन्सले काठमाडौं उडान गरेका थिए।
ती ठूला वायुसेवा कम्पनीले युरोपबाट काठमाडौंका लागि उडान गरे पनि व्यापार नभएको भन्दै केही वर्षपछि सेवा नै बन्द गरेका थिए। त्यसपछि केही अवधि युरोप-काठमाडौं सिधा उडान भएको थिएन तर बीचमा नेदरल्यान्डकै अर्को वायुसेवा कम्पनी टियुआई एयरलाइन्सले काठमाडौं उडान गर्न थालेको थियो। टियुआईले हाल पनि यहाँ उडान गरिरहेको छ।
युरोपका ती वायुसेवाभन्दा अघि हाम्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि त्यहाँका तीन गन्तव्यमा डेढ दशकअघिसम्म उडान गरेको थियो। निगमले बेलायतको लन्डन, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टका लागि यहाँबाट उडान गरेको थियो।
आगामी अक्टोबरबाट काठमाडौं उडान गर्ने तयारी गरेको टर्किस एयरलाइन्सले हालै जेनिथ ट्राभल्सलाई 'जनरल सेल्स एजेन्ट' (जिएसए) नियुक्त गरेको छ। यो नियुक्तिपछि जेनिथले टर्किसको नेपालमा हुने सबैखाले बिक्री तथा बजारीकरण सम्बन्धी काम हेर्ने छ।
'टर्किसले आगामी अक्टोबरभित्र काठमाडौं उडान गर्ने गरी तयारी गरिरहेको छ,' जेनिथका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'सम्भवतः टर्कीको इस्तानबुलबाट सिधै काठमाडौंका लागि दैनिक एक उडान गर्ने योजना छ तर हवाई रुट र उडान संख्याबारे भने कम्पनीले अध्ययन गरिरहेको छ।'
टर्किले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसरह प्रतिस्पर्धी भाडा दरमा उडान गर्ने उनले जानकारी दिए। नेपाल र टर्कीबीच गत वर्ष हवाई सेवा सम्झौता भएको थियो। 'काठमाडौं उडान गर्नका लागि टर्किसले हालसम्म अनुमति भने मागेको छैन,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले भने।
टर्किस पहिलो पटक नेपाल आउन लागेको हो। यसका लागि उसले गत फागुन १८ मा जेनिथलाई नेपालको जिएसए नियुक्त गरेको थियो। टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किसले बजार विस्तार गर्नेक्रममा काठमाडौं गन्तव्य छानेको हो। उसले काठमाडौं उडान सुरु गरे नेपाल घुम्न आउने युरोपेली पर्यटक तथा यहाँबाट उता जान चाहने नेपालीलाई थप सहज हुनेमा दुवै कम्पनीका अधिकारीहरू विश्वस्त छन्।
'जेनिथसँग भएको सम्झौता घोषणा गर्न पाउँदा खुसी छौं। हामी सकेसम्म चाँडै नेपाल उडान गर्छौं,' सम्झौता घोषणा अवसरमा टर्किसको उत्तर र पूर्वी भारत हेेर्ने महाप्रबन्धक अदनान एयकाकले भने, 'पछिल्लो समय हवाई उद्योगमा भएको आशालाग्दो विकाससँगै हामी त्यहीअनुरूप अगाडि बढेका छौं र नेपालजस्तो बजार प्रवेश गर्न पाउने भएकाले थप उत्साहित छौं।'
'यो सम्झौताले टर्किस एयरलाइन्ससँग नजिक रहेर काम गर्न पाउने अवसर प्राप्त भएको छ,' जेनिथका समूह प्रबन्ध निर्देशक जोय देवानले भने, 'हाम्रो उत्कृष्ट सेवासँगै टर्किसलाई तत्काल र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि हामी सक्दो सहयोग गर्छौं।'
सन् १९३३ मा पाँचवटा जहाजबाट सेवा सुरु गरेको टर्किससँग हाल १ सय ७९ जहाज सञ्चालनमा छन्। यसले विश्वका १ सय ९३ गन्तव्यमा उडान गरिरहेको छ। तीमध्ये १ सय ५२ वटा अन्तर्राष्ट्रिय र ४१ वटा आन्तरिक गन्तव्य हुन्।
स्टार एलायन्सको सदस्य रहेको टर्किस चारतारे स्तरको वायुसेवा कम्पनी हो। तीव्र गतिले वृद्धि भइरहेको यसले 'प्यासेन्जर च्वाइस अवार्ड २०११' तथा 'बेस्ट एयरलाइन युरोप', 'बेस्ट प्रिमियम इकोनोमी सिट्स' र 'बेस्ट एयरलाइन साउदर्न युरोप' लगायत पुरस्कार पाइसकेको छ।
26 MARCH 2012 नागरिक







0 comments:
Post a Comment