राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) अस्तित्वै मासिने जोखिममा छ। सरकारी स्वामित्वको यस निगमलाई चरम राजनीतिकरणले हालको अवस्थामा पुर्याएको साक्षी यसैको इतिहास हो।
दुई दशकभन्दा अघि दुईवटा बोइङ ७५७ जहाज खरिद गरेका भरमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छन्। ती जहाज पुराना भई बेलाबेला प्राविधिक समस्या आइरहन्छन्। अनि, नियमित उडान प्रभावित हुन्छन्। नेपालमा विदेशी वायुसेवा कम्पनीहरूको जहाजका तुलनामा निगमका जहाज अत्यन्त पुराना र भर पर्न नसकिने भइसकेका छन्। सीमित उडानका कारण नेपालको हवाई व्यापारको अति न्यून अंशमात्रै निगमले ओगट्न सकेको छ। नेपालको हवाई उद्योगको कारोबार हाल झन्डै ६० अर्ब रुपैयाँबराबर पुगिसकेको छ। यसमा निमगको हिस्सा मुस्किलले पाँच अर्बमात्रको रहेको तीतो यथार्थ छ। यो अत्यन्त दुःखलाग्दो अवस्था हो।
हाम्रा नेपाली श्रमिकले विदेश गई कठिन परिश्रम गरी आर्जन गरेको धन विदेशी वायुसेवा कम्पनीले फर्काइ आफ्नै देश लगिरहेका छन्। नेपाल भित्रिनुपर्ने रेमिट्यान्सको अंश हो त्यो। निगमले जहाज थपेर यिनै नेपाली श्रमिकलाई सेवा दिनसके मात्रै पनि यो रेमिट्यान्स देशभित्रै रहने थियो। यस्तो सम्भावना बोकेको राष्ट्रिय ध्वजावाहकलाई सरकारी उपेक्षाले आजको दरिद्र अवस्थामा पुर्याएको हो। तत्कालीन शाही नेपाल वायुसेवा निगमको स्थापनाकालपछि यसमा सरकारले ३३ करोड रुपैयाँमात्र लगानी गरेको छ। अहिले निगमको चलअचल सम्पत्ति मूल्यांकन गर्दा झन्डै १७-१८ अर्ब रुपैयाँबराबर हुन आउँछ।
सरकार जमानीमात्र बसिदिने हो भने त्यसबाट जहाज थपेर निगमलाई सशक्त बनाउन सकिन्छ। पक्कै पनि यसो गर्नुअघि व्यवस्थापन पक्ष सबल हुनु आवश्यक हुन्छ। निगमले भएका जहाजबाट जेनतेन उडान सञ्चालन गरी १ हजार ५ सय कर्मचारी र तिनका आश्रितको गर्जो टारिरहेको छ। सरकारी नियन्त्रणमा भएका संस्थानहरूमा व्यावसायिक सोच अत्यन्त न्यून पाइन्छ। तसर्थ नेवानिलाई व्यावसायिक बनाउन नयाँ अभ्यासको आवश्यकता देखिन्छ।
निगमले सन् १९८७-८८ मा दुईवटा बोइङ ७५७ खरिद गरेपछि हालसम्म अरू कुनै जहाज थप्न सकेको छैन। भएका जहाज पनि निकै पुराना छन्। जहाज खरिदको कुरा आउनासाथ कमिसनको चक्कर सुरु हुन्छ, अनि जहाज आउनै सक्दैन। यसमा राजनीतिक दलका नेताहरू नै बढी दोषी देखिन्छन्। विसं २०४६ को परिवर्तनपछि भाडामा जहाज ल्याउने लहड चल्यो। भाडामा ल्याउने अनि कमिसन खाने। भाडाका जहाज अस्थायी हुन्थे, तसर्थ किनेरै निगमलाई जहाज थप्ने काम कसैले गरेनन्। निगमले भाडामा खर्च गरेको रकममात्र जोड्ने हो भने चारवटा थप जेट जहाज आउन सक्थे, तर आएनन्।
निगमको वर्तमान अवस्थाको कारण भाडाको राजनीति नै हो। निगममा कतिसम्मको क्षमता छ भन्ने उदाहरण दुइटा बोइङ ७५७ किनेको प्रसंगले देखाउँछ। तत्कालीन शानेवानिले बोइङ ७५७ किन्दा यसको मूल्य ३ करोड ३० लाख अमेरिकी डलरमात्र थियो। यही मूल्यमा भारतको राष्ट्रिय ध्वजावाहक इन्डियन एयरलाइन्सले १५ जहाज किन्ने सम्झौता गरेको थियो। राजनीतिक कारणले उक्त सम्झौता रद्द गरी उसले एयरबस ए ३२० किन्यो। शानेवानिले सोही बोइङ ७५७ लाई दुइवटाको जम्मा ११ करोड डलर तिर्ने गरी सम्झौता गर्यो।
तीनवटाको भन्दा बढी पैसा तिरेर दुइटा जहाज खरिद गरियो। कमिसन कति खाए होलान्? यस्तो विषम अवस्थाले पनि निगम डुबेन र त्यही जहाजले अहिले अन्तर्राष्ट्रिय उडान धानिरहेको छ। अहिले पनि त्यति नै कमिसन खाएर पनि निगमलाई असर पर्दैन भन्न खोजेको अवश्य होइन। जहाज किन्दा हुने यस्ता भ्रष्टाचारप्रति सावधानमात्र गराएको हो। निगमको कायापलट हुनु आवश्यक छ।
राजनीतिले जस्तोसुकै कोल्टो फेरे पनि नेवानिको व्यवस्थापन अटल हुनुपर्छ। प्रजातन्त्र प्राप्तिपछि यतिका वर्ष बितिसक्दा पनि त्यसको प्रतिफलबाट नेवानिलाई वञ्चित राख्नु ठूलो अपराध हो। राजनीतिक हस्तक्षेेप मुक्त व्यवस्थापन राख्नु हाम्रो परिप्रेक्षमा असम्भवै छ। कागजमा मात्र स्वायत्त भनेर त केही हुने हैन। एउटा राम्रो आम्दानी गर्ने संस्थालाई सरकारी अड्डाजस्तो शैलीमा चलाउँदा के हुन्छ, हामीले देखी सक्यांै। कुशल व्यवस्थापक ल्याए पनि उसले आफ्नो काम राजनीतिक हस्तक्षेेपरहित अवस्थामा गर्न पाउँदैन।
आजसम्म भएको पनि यही हो। यसलाई व्यावसायिक रूपमा अघि बढाउन विशेषज्ञ परामर्श आवश्यक हुन्छ। राजनीतिक नियुक्ति पाएका एकजना फिलिपिनीले त्यही आडमा अनावश्यक जहाज खरिद गरेर फिलिपिन्स एयरलाइन्स बन्दै भएको उदाहरण पनि छ। एसियाकै नाम चलेको उक्त एयरलाइन्स पैसा तिर्न नसक्ने अवस्थामा पुग्दा जहाजहरू विदेशमा रहेको बेला बैंकहरूले जफत गरेका थिए। बन्द भएको उक्त कम्पनीलाई फेरि उड्न धेरै समय लाग्यो। अहिले विगतभन्दा सानो आकारमा क्षेत्रीय उडानमा सीमित भएको छ। कमिसनको लोभले यस्तोसम्म हुन्छ। यो सबै अव्यावसायिक व्यवस्थापन र राजनीतिक लोभका कारण भएका हुन्।
नेवानिलाई सरकारी हस्तक्षेेप मुक्त गर्न कुनै प्रतिष्ठित वायुसेवा कम्पनीसँग साझेदारीमा लान सके निगमको भलो हुन्छ। थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजलाई एसएएस भन्ने स्क्यान्डिनेभियन कम्पनीले सघाएको हो। यसैगरी श्रीलंकाको एयर लंकालाई इमिरेट्स एयरले साझेेदारीमा चलाएर वर्तमान अवस्थामा ल्याएको हो। यसो गरे साझेदार कम्पनीले हामीलाई चाहिने आवश्यक जहाज, जनशक्ति तथा अन्य स्ा्रोतसाधन उपलब्ध गराई एउटा सबल वायुसेवा कम्पनीमा परिणत गरिदिन सक्ने देखिन्छ। यसरी प्राप्त ज्ञान र सीप प्रयोग गरी हामी नेपालीले नै भोलिका दिनमा राष्ट्रिय ध्वजावाहकलाई हाँक्न सक्नेछौँ।
जहाज थपेर निगम सबल भए विदेशमा काम गर्ने नेपाली श्रमिकलाई सेवा दिएवबापत उठेको राशिले नै जहाजको मूल्य सजिलै चुकाउन सकिन्छ। अहिले नेपालमा भएका बेरोजगार पाइलट र इन्जिनियरले पनि रोजगारी पाउन सक्छन्। हामीसँग आँट र साहसको मात्र खाँचो छ। नेपाल पर्यटन वर्ष, लुम्बिनी भ्रमण वर्ष भनेर पर्यटक तान्नै पर्दैन। निगमले उडान बढाए नेपालमा पर्यटक भरिभराउ हुने निश्चित छ। विदेशी पर्यटक नेपाल आउन हिच्किचाउनुको प्रमुख कारण महँगो भाडा दर नै हो। निगमले उडान बढाएर भाडा घटाउन सके कुनै वर्ष वा पर्व पर्खिराख्नु पर्दैन। नेवानिलाई जोगाउन दरिलो प्रयास आवश्यक छ। अन्यथा शानेवानिबाट नेवानि भएको निगम अन्तिममा के नि हुने हो अनुमान पनि गर्न सकिँदैन।
25 MARCH 2012 11:05 युवराज भट्टराई (नागरिक)







0 comments:
Post a Comment