काठमाडौ, पुस १६ - सन् २०११ लाई नेपाल र हङकङ सरकारले पर्यटन वर्षका रूपमा मनाए । चार करोड पर्यटक भित्र्याउने लक्ष्य राखेको हङकङ सरकारले ११ दिन बाँकी छँदै आफ्नो लक्ष्य पूरा गर्यो भने नेपालले दस लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि वर्षको अन्त्यसम्ममा संख्यात्मक हिसाबले ७५ प्रतिशत मात्रै सफलता पाएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार यो वर्ष जनवरीदेखि नोभेम्बरसम्ममा ५ लाख १ हजार २ सय ६४ पर्यटक भित्रिए भने डिसेम्बरको २७ दिनमा ३६ हजार ६ सय ९८ पर्यटक आए । चार दिनअघि प्राप्त तथ्यांकअनुसार हवाइमार्गबाट ५ लाख ३७ हजार ९ सय ६२ पर्यटक आएका छन् । पर्यटन मन्त्रालयका अनुसार स्थलमार्गबाट समेत आउने विदेशी पाहुनाको संख्या जोड्दा साढे ७ लाख पुग्न सक्छ । एघार महिनामा स्थलमार्ग भएर आउनेको संख्या १ लाख ६६ हजार पुगेको छ । सन् २०१० को १२ महिनामा हवाइमार्गबाट ४ लाख ४८ हजार ७ सय ६९ पाहुना नेपाल आए । जुन त्यतिबेलासम्मकै उच्च थियो । अहिले झन्डै २१ दशमलब ५ प्रतिशत वृद्धि भएको छ ।
दङ्ग सरकार
सांख्यिक दृष्टिले लक्ष्यमा पुग्न नसकिए पनि सरकारी पक्षले पर्यटन वर्षलाई सफल मानेको छ । पर्यटन सचिव गणेशराज जोशी भन्छन्, 'आगमन संख्या, थपिएका अन्तर्राष्ट्रिय विमान कम्पनी र पर्यटन क्षेत्रबाट हुने आम्दानी बढ्नुले महामहोत्सवलाई सफल मान्न सकिन्छ ।' नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बराल पनि जोशीकै लयमा लय मिलाउँदै भन्छन्, '२०११ को लहरले यो वर्ष नेपालमा आउने पर्यटक संख्या ऐतिहासिक उच्च बिन्दुमा पुग्दै छ ।'
पर्यटक संख्या बढ्नुमा विद्हरू शान्ति स्थापना हुनुलाई एउटा अर्को कारक मान्छन् । नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठलाई यस्तै लाग्छ । 'पर्यटक बढ्नुको मुख्य कारण शान्ति स्थापित हुनु हो,' उनी भन्छन्, '२०११ मा पर्यटन क्षेत्रबाहेकका निकायलाई अभियानमा सहभागी गराउन सक्नु पनि सफलताको आधार हो ।' निर्देशक बराल पनि बढ्दो पर्यटक संख्याले शान्तिसँगै गन्तव्यसँगको सहज पहुँच पर्यटन विस्तारको पूर्वसर्त हो भन्ने पुष्टि गरेको ठान्छन् ।
उपलब्धि १
राष्ट्रिय ध्वाजावाहकको हविगत दारुण भए पनि भ्रमण वर्ष घोषणापछि एकै वर्षमा १० नयाँ अन्तर्राष्ट्रिय विमान कम्पनी आए । सन् २००९ मा भ्रमण वर्षको घोषणासँगै नयाँ थपिने र पहिलेदेखि उडान गरेका कम्पनीले उडान संख्या बढाए । सरकारले पनि बढीभन्दा बढी पर्यटक ल्याउने उद्देश्यले २०१० मा भारतसँग हवाइसेवा सम्झौता संशोधन गर्दै दुवै पक्षले साताको ३३ हजार सिट क्षमता उडान गर्न पाउने व्यवस्था गर्यो । त्यस्तै नेपाल/चीनबीचको सम्झौताअनुसार साताको १४ उडान गर्न पाउने व्यवस्था छ । २००९ को मध्यदेखि र २०१० अन्तिमसम्म आइपुग्दा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या २७ पुगेको थियो । यो वर्ष अक्टुबरदेखि भारतीय विमान कम्पनी इन्डिगोले सेवा सुरु गरेको छ । हाल २८ विदेशी विमान कम्पनीले वाषिर्क साढे २२ लाख सिट सुविधा दिइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल -नाटा) का अध्यक्ष अर्जुन शर्मा त्यसले गर्दा आगमन संख्या बढेको बताउँछन् ।
'अकुपेन्सी राम्रो हुने भएकाले अन्तर्राष्ट्रिय विमान कम्पनी नेपाल उडानका लागि आकषिर्त छन्,' प्रेसिडेन्ट टुर्स एन्ड ट्राभलका सञ्चालक भोला थापा भन्छन्, 'रोजगार लक्षित भए पनि पर्यटकका लागि पनि हवाइसेवा थपिँदा सहज हुन्छ ।' त्रिभुवन विमानस्थलको तथ्यांकअनुसार सन् २०११ को नौ महिनामा अन्तर्राष्ट्रिय हवाइ आवागमन १७ दशमलब ७९ प्रतिशत र यात्रु चाप १२ दशमलब ४७ प्रतिशतले बढेको छ ।
उपलब्धि २
पर्यटन वर्षलाई लक्षित गर्दै होटल क्षेत्रमा अर्बौं रुपैयाँ लगानी हुनु यसको अर्को महत्त्वपूर्ण उपलब्धि हो । पर्यटन उद्योग महाशाखाका अनुसार द इम्प्िलमेन्टिङ एक्सपर्ट ग्रुपले सिनामंगलस्थित एयरपोर्ट होटल र पुल्चोकस्थित रेडरोज अपार्टमेन्ट होटलका लागि १ अर्ब रुपैयाँ लगानी गर्यो । त्यस्तै नेपालगन्जमा झन्डै ४० करोडको लगानीमा सिद्धार्थ भ्यु होटल सञ्चालनमा आएको थियो । लुम्बिनीमा पनि जापानी लगानीकर्ता कासाई ग्रुपले ४६ कोठे तीनतारे होटलका लागि ५० करोड खर्च गरेको छ ।
धनगढीको होटल डिभोटी र महेन्द्रनगरको ओपेरा होटल पनि पर्यटन वर्षमा आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको थियो । यी दुई होटलको कुल लगानी १ अर्ब रुपैयाँ छ । तारे होटलले पर्यटन वर्षमा आउने पाहुनालाई विशेष आतिथ्य महसुस गराउन कोठाको संरचना बदल्ने, नयाँ फर्निचर जडान गर्नेलगायतका काम गरेका थिए । यसबापत होटलहरूले कोठा शुल्क २५ प्रतिशतसम्म बढाएको होटल संघ नेपाल -हान) का प्रमुख कार्यकारी माधवओम श्रेष्ठ बताउँछन् ।
उपलब्धि ३
राष्ट्र बैंकका अनुसार यस वर्ष विदेशी पर्यटकबाट उठ्ने आम्दानीमा झन्डै ३० प्रतिशतले वृद्धि भएको छ । आउने पर्यटकको संख्या बढ्नु, डलर बलियो हुनु, होटलहरूको कोठाको शुल्क बढ्नुले पर्यटन क्षेत्रको आम्दानीलाई उच्च बनाएको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउँछन् । आर्थिक सर्वेक्षण २०६७/६८ का अनुसार अघिल्लो वर्ष पर्यटन क्षेत्रबाट सरकारले २७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । यसपालि आएका भारतीय पर्यटकका कारण नेपालले भारतसँगको व्यापार सन्तुलनमा पनि राहत पाउन सक्ने पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकाल बताउँछन् । 'भारतीय मुद्रा कम हुँदा नेपालले डलर दिएर सामान लिनुपर्ने अवस्था छ,' उनी भन्छन्, 'जति बढी भारतीय पाहुना यहाँ घुम्न आउँछन्, उनीहरूले नेपालका लागि भारतीय रुपैयाँको सञ्चितीलाई बढाउँछन् । सरकारका लागि यो उपलब्धि हो ।'
उपलब्धि ४
पर्यटन व्यवसायीहरू यस वर्ष ग्रामीण पर्यटन विकास गरेको दाबी गर्छन् । खासगरी भ्रमण वर्षमा 'होमस्टे' धेरै गाउँहरूमा सुरु भएको र त्यसमा आकर्षण बढेको बताउँछन् । 'पर्यटनलाई पनि आम्दानीको स्रोतका रूपमा लिन सकिन्छ भन्ने चेतना ग्रामीण क्षेत्रसम्म पुर्याउन पनि सफल भयौँ,' पूर्वकार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, 'दर्जनौं गाउँमा होमस्टे सुरु भएको छ । तीमध्ये केही निकै व्यावसायिकसमेत भइसकेका छन् ।' पर्यटन बोर्डअनुसार सिरुबारी, घान्द्रुक, बन्दीपुर, तामाङ हेरिटेज, सिलुङ, बरपाक, दोलखालगायत क्षेत्रमा होमस्टे विकास भइसकेको छ । तर यी सबै ठाउँको मुख्य पाहुना आन्तरिक पर्यटक नै हुन् । 'अन्तर्राष्ट्रिय पर्यटक पुर्याउन यस्ता स्थानको आक्रामक प्रवर्द्धन जरुरी छ,' उनी थप्छन् ।
उपलब्धि ५
भ्रमण वर्षले हस्तकलाको व्यवसायमा सकारात्मक प्रभाव पार्यो ।'पर्यटक वृद्धिका कारण हस्तकलाको बजार अहिले निकै राम्रो भएको छ,' हस्तकला महासंघका पूर्वअध्यक्ष पुष्करमान शाक्य भन्छन्, 'बहुआयामिक प्रभाव पर्ने यो उद्योगले रोजगारीको अवसरसमेत बढाएको छ ।' विश्व पर्यटन संगठनका अनुसार नेपालमा आउने प्रत्येक पर्यटकले सरदर १२ जनालाई रोजगारी दिन्छन् ।
उपलब्धि ६
बाह्य मुलुकमा नेपालबारे 'ट्राभल एड्भाइजरी' सकारात्मक बनाउनुले २०११ को महत्त्वलाई पुष्टि गरेको बोर्डका निर्देशक बराल बताउँछन् । भन्छन्, 'नेपाल प्रवर्द्धनका लागि बेलायत र अमेरिकामा राजदूतावासले गरेको मेट्रो बस प्रचार अभियानले राम्रो प्रतिफल दिएको छ ।' यसले गर्दा यो वर्ष नेपाल आउने पर्यटकमा बेलायतीको संख्या साढे ७ प्रतिशतले बढेको छ ।
एकातिर सरकारका पर्यटन व्यवसायसँग सम्बन्धित संयन्त्रहरू भ्रमण वर्ष सफल रहेको दावा गरिरहेका छन् भने अर्कातिर विज्ञहरू भ्रमण वर्ष भने पनि त्यस्तो उल्लेखनीय उपलब्धि केही नभएको तर्क गर्छन् । लक्ष्यअनुसार १० लाख पर्यटक ल्याउन नसक्नुमा राजनीतिक अस्थिरता, हतारमा पर्यटन वर्षको घोषणा र नेपाल वायुसेवा निगमको अस्तव्यस्ततालाई प्रमुख कारण मानेका छन् ।
केके कमजोरी भए त भ्रमण वर्षमा ?
कमजोरी १
पर्यटन वर्षमा सरकारले मुख्य गरी भारतीय र चिनियाँ पर्यटक बढाउने लक्ष्य लिएको थियो जसमध्ये दुई लाख ६२ हजार भारतीय र १ लाख चिनियाँ पर्यटक ल्याउने योजना
थियो । 'समयमै यी दुई गन्तव्यमा प्रवर्द्धनको काम हुन नसक्दा लक्ष्यअनुसार पाहुना नआएका हुन्,' पर्यटन वर्ष सचिवालय, अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिका संयोजक रञ्जित आचार्य भन्छन्, 'जति आए नियमित मेला र प्रर्दशनीमा गरिएको प्रचारका कारण आए । तिनमा नियमित नेपाल आउनेहरू पनि पर्छन् ।'
कमजोरी २
सन् २०१० मै गरिनुपर्ने प्रवर्द्धनको कार्यक्रम २०११ मा पनि हुन सकेन । युरोपेलीलगायत 'कन्ज्युमर मार्केट' का लागि गत नोभेम्बरबाट मात्र बीबीसीमा नेपाल प्रवर्द्धनका विज्ञापन प्रसारित/प्रकाशित भइरहेका छन् । 'सीएनएनको कार्यक्रम छिट्टै सुरु हुँदै छ,' आचार्य थप्छन् ।
कमजोरी ३
पर्यटकको बसाइ अवधि १६ दिन पुर्याउने र उनीहरूले गर्ने दैनिक खर्चलाई ४३ अमेरिकी डलरबाट दोब्बर बनाउने २०११ को अर्को उद्देश्य पनि पूरा हुन सकेन । बसाइ लम्ब्याउनलाई कुनै नयाँ गतिविधि मूलधारमा ल्याउन नसक्दा यो लक्ष्य पूरा नभएको नाटाका अध्यक्ष शर्मा बताउँछन् । 'प्राकृतिक रूपमा भएका कुरा मात्र बिक्री भइरहेको छ,' उनले भने, 'नयाँ आयाम थप्न नसक्नु हाम्रै कमजोरी हो ।' पर्यटकले यहाँ आएर गर्ने दैनिक खर्च औसत ५० अमेरिकी डलर मात्र रहेको व्यवसायी बताउँछन् । आर्थिक सर्वेक्षणअनुसार हाल घुम्न आउने पर्यटकहरू औसत १२.६७ दिन नेपाल बस्छन् ।
कमजोरी ४
पर्यटन वर्षकै कारण पहिचान भएका गन्तव्यसम्म व्यवसायीले पर्यटक पुर्याउन सकेनन् जब कि सरकारले २०११ मा आउने कुल पर्यटकमध्ये ४० प्रतिशतलाई नयाँ गन्तव्य र गतिविधि दिने लक्ष्य पनि लिएको थियो । यस्ता गन्तव्यमा दर्जनौं महोत्सवहरू पनि सञ्चालन भए । महोत्सवलाई व्यवसायीकरण गर्न नसक्दा प्रवर्द्धन हुन नसकेको बोर्डका निर्देशक बराल बताउँछन् ।
कमजोरी ५
नयाँ गन्तव्य पहिचान गर्ने र त्यसको प्रवर्द्धनको पूरै जिम्मेवारी लिनुपर्ने पर्यटन बोर्डभित्रको राजनीतिक चलखेल र कर्मचारीको अराजकताको असर गन्तव्य प्रवर्द्धनमा परेको छ । निजी पर्यटन व्यवसायीले कर्मचारीले बोर्डको जागिरलाई विदेश घुम्ने अवसरका रूपमा मात्र लिएको निजी पर्यटन व्यवसायीको आरोप छ । 'नयाँ गन्तव्य जान्छु भनेर माग आए मात्र हामीले प्याकेज बनाउने हो,' एक भ्रमण प्याकेज सञ्चालकले भने, 'बोर्डले कुनै गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नसक्दा हामीले मात्र जोखिम उठाउने कुरा हुँदैन ।'
बोर्डभित्र पर्यटन क्षेत्र विकासका लागि काम गर्न विभिन्न विभाग बनाइएको छ । 'तर एकअर्कामा समन्वय नै छैन,' बोर्डकै एक कर्मचारी भन्छन्, 'यस्तोमा हाजिर हुने र्फकने काम मात्र भइरहेको छ ।' राजनीतिक चलखेलका कारण बोर्डको सञ्चालक समितिदेखि प्रमुख कार्यकारी छनोटको काममा ढिलाइ भइरहेको छ । 'प्रशासनले चाहेर नहुने रैछ,' पर्यटन मन्त्रालयका उच्च अधिकारीले भने, 'बोर्डमा आउन चाहनेमध्ये ५ जना एउटै पार्टीका छन् । उनीहरूका कारण सरकारमा रहेको पार्टीभित्रै कसको मान्छे राख्ने भनेर कलह सिर्जना भएको छ ।'
कमजोरी ६
गत वर्षको पुस ३० गते टँुडिखेलमा भएको यो 'महामहोत्सव' को औपचारिक उद्घाटनमा सबै राजनीतिक दलका नेता उभिएर पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिका विषयमा मतान्तर गरिरहेका दलहरूका शीर्ष नेताले एकै ठाउँ उभिएर पर्यटन विकासका लागि देखाएको ऐक्यबद्धता उदाहरणीय थियो । त्यसपछिको करिब ६ महिना मुलुकमा पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने गरी कुनै बन्द/हडताल भएनन् । तर २०११ को दोस्रो ६ महिनाको अवधिमा मुलुकका विभिन्न स्थानमा ५० को संख्यामा बन्द/हडताल भएका छन् । सबै बन्द र चक्काजामका घटनामा बढीमा ५ प्रतिशत मात्र दुर्घटना, हत्यालगायतका मुद्दामा कारबाही माग गर्दै सर्वसाधारण सम्मिलित छन् । पच्चानब्बे प्रतिशत घटना दलहरूले आफ्ना निहित स्वार्थपूर्तिका लागि जनतालाई नै दुःख दिने गरी आह्वान गरेको प्रहरी अधिकारीहरूले बताएका छन् । नाटाका पूर्वअध्यक्ष रामकाजी कोने भन्छन्, 'दलहरूले गरेको प्रतिबद्धता दिगो हुन नसक्नुले पर्यटन वर्ष प्रभावित भयो ।'
तालुमा आलु
उपलब्धि र कमजोरी आआफ्नै ढंगले दाबी गरिरहँदा पर्यटन विज्ञहरू आम्दानी र पर्यटक संख्या वृद्धिलाई स्वाभाविक मान्छन् । साढे दुई दशकदेखि यस क्षेत्रमा कार्यरत टेकचन्द्र पोखरेल २०११ को वृद्धिदर नेपालीको 'तालुमा आलु फलेको' बताउँछन् । उनी नेेपाल वायुसेवा निगममा जहाज नहुँदा र पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास नगरी हतारमा घोषणा गरिएको पर्यटन वर्ष सफल हुनुको श्रेय पर्यटकलाई दिएका छन् । 'उनीहरू यहाँ घुम्न आइदिए,' भन्छन्, 'यसर्थमा हामी भाग्यमानी हौं ।' उनी पर्यटक आगमन वृद्धि एकै वर्षमा नहुने बताउँदै भन्छन्, 'यसपालि पाहुना ल्याउन खर्च भएको छ, त्यसको प्रतिफल आगामी २/३ वर्षमा मात्र देखिनेछ ।'
सन् १९७५ देखि पर्यटन क्षेत्रसँग सम्बन्धित अर्का विज्ञ किशोर पाण्डेले अहिलेको वृद्धिलाई हेरेर धेरै उत्साहित भइहाल्नुपर्ने स्थिति नरहेको दाबी गर्छन् । '५ लाख पर्यटक त १९९९ मै पुगेका थिए,' उनी भन्छन्, 'बीचमा बिगि्रएको अवस्था सुधार भने भएको छ ।' बजार प्रवर्द्धनमा केही काम भए पनि पूर्वाधार निर्माणमा सरकार/व्यवसायी कसैले पनि ध्यान दिन नसकेको उनको भनाइ छ । 'पाहुनालाई नेपाल बोलाउने, आएपछि कहाँ राख्ने,' प्रश्न गर्दै भन्छन्, 'मुख्य पर्यटकीय सिजनमा आएका ४०/५० हजारलाई राख्न धौधौ भएको छ ।'
अबको चुनौती
पाण्डेका अनुसार अबको चुनौती नै पूर्वाधार निर्माण हो । 'कुनै पनि १ सय कोठाको होटल बन्न ३ वर्ष न्यूनतम लाग्छ,' उनले भने, 'त्यसमा पनि जमिन पाउन गाह्रो, बैंक ब्याज बढी छ । सरकारले ब्याज घटाउने वा विभिन्न छुट दिने र आफ्नो जग्गा भाडामा दिई पूर्वाधार निर्माण गर्न प्रोत्साहित गर्नुपर्ने देखिएको छ ।' कतिपय स्थानमा पर्यटकीय सम्भावना भए पनि सडक पहुँच नहुँदा ती ओझेलमा रहेका छन् । 'पर्यटकले कुनै ठाउँ घुम्न जाँदा सहज आवागमन, आवासको सुविधा पाउनुपर्छ, त्यसले मात्र संख्या चाहेअनुरूप वृद्धि हुन सक्छ,' उनी भन्छन् ।
पर्यटन वर्षले निजी व्यवसायीका लागि राम्रो अवसर सिर्जना गरेको पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकाल बताउँछन् । 'पाहुना बढी आउनासाथ उनले गर्ने आम्दानी पनि स्वतः बढ्छ,' भन्छन्, 'लक्षित संख्या पुग्यो/पुगेन भन्दा पनि आएकाले कस्तो फाइदा दिए त्यसका आधारमा पर्यटन वर्ष सफल रह्यो/रहेन भन्नुपर्ने हुन्छ ।' जनयुद्धले धराशयी बनाएको पर्यटन क्षेत्रले अन्यको तुलनामा राम्रो विकास गरिरहेकाले २०११ को औचित्यलाई प्रस्ट्याएको उनको दाबी छ । 'भ्रमण वर्ष १९९८ ले सन् २००० सम्म राम्रो स्थिति बनाइदिएको थियो,' उनले भने, '२०११ ले आगामी ३ वर्षसम्म पर्यटनको वृद्धिलाई कायम राख्न सघाउँछ ।'
यति हुँदाहुँदै सरकारले २०११ लाई घोषणा गरेर 'अनाथ' जस्तै बनाएकामा उनको गुनासो छ । 'यो अभियानमा जति ध्यान दिइनुपथ्र्यो सरकारले दिएन,' उनले भने, '२०११ भरि चार मन्त्री/३ सचिव परिवर्तन भए । समापन हुनेबेला पर्यटन बोर्ड प्रमुख कार्यकारीविहीन छ । यसले सरकारको लापरबाही प्रस्ट थाहा हुन्छ ।' पर्यटन विकासका लागि सबैभन्दा महत्त्व राख्ने राष्ट्रिय ध्वजावाहक नल्याएर सरकारले मुख्र्याइँपूर्ण काम गरेको उनको दाबी छ । अभियान अवधिभर निजी क्ष्ाेत्र र सरकारबीच समन्वय अभाव अर्को समस्या रहेको बताउने ढकालका अनुसार, सरकारले घोषणा गर्न लागेको लुम्बिनी भ्रमण वर्षमा सरकार मौन र निष्त्रिmय बस्नु हुन्न र यस्ता अभियानमा आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ ।
Source: Kantipur
प्रकाशित मिति: २०६८ पुस १६







0 comments:
Post a Comment