Sunday, March 4, 2012

२५ वर्ष पुराना पाइलट निगम छाड्दै

सुशील भट्टराई, काठमाडौं, फागुन २१ - काम गर्ने वातावरण नभएको भन्दै नेपाल वायुसेवा निगमका २५ वर्षभन्दा पुराना पाँच वरिष्ठ पाइलट (क्याप्टेन) ले जागिर छाड्ने भएका छन्। सबैजना भारतको निजी वायुसेवा कम्पनी ब्लु डार्ट एसिभएसनका जहाज उडाउन जान लागेका हुन्।

वरिष्ठ क्याप्टेनहरू एमटी लामा, शिशिरकुमार शर्मा, पुष्पराज शाक्य, शुभराज श्रेष्ठ र युवराजकुमार भट्टराईले जागिर छाडेर जान लागेका हुन्।
यसअघि लामाले कर्पोरेट र शर्माले अपरेसन डाइरेक्टर भएर पनि काम गरिसकेका छन्। पाँचै क्याप्टेनले दुई साताभित्र राजीनामा बुझाउने तयारी गरेको बताएका छन्।

'पैसाकै कारणले मात्र छोड्न लागेका होइनौं,' क्याप्टेन शर्माले नागरिकसँग भने, 'पछिल्लो केही अवधिदेखि निगम व्यवस्थापनको काम गर्ने वातावरण चित्त नबुझेर छोड्न लागेका हौं। नत्र, हामीलाई पनि 'मदर एयरलाइन्स' छाड्ने मन थिएन, तर काम गर्ने उत्साह नै मरेर गयो, बाध्य भएर जाँदै छौं।'

जहाजभित्र मुसा काण्ड, हङकङ विमानस्थलमा जहाजभित्र फोहोर भेटिएपछि उताको निकायको कारबाही प्रक्रियाजस्ता निगममा घटेका पछिल्ला घटनाक्रममा क्याप्टेनहरूले सञ्चारमाध्यममा जानकारी दिएको भन्दै व्यवस्थापनले स्पष्टीकरण लिएपछि पनि उनीहरू थप चिढिएका थिए।

गत भदौमा जहाजभित्र मुसा पसेको विषयमा सञ्चारमाध्यमलाई जानकारी दिएको भनेर क्याप्टेन भट्टराईलाई स्पष्टीकरण सोधेपछि व्यवस्थापनले प्रशिक्षक पाइलटबाट हटाएको थियो।

त्यसै गरी गत असोजमा जहाजभित्र पर्याप्त सुरक्षा उपाय नअपनाएको भन्दै हङकङको स्वास्थ्य विभागले गम्भीर चासो दिएर कारबाही गर्नेसम्मको चेतावनी दिएको कुरा सार्वजनिक गरेको भन्दै शर्मालाई स्पष्टीकरण सोधिएको थियो। उक्त जहाज शर्मा आफैंले उडाएर हङकङ लगेका थिए। 'सत्य, तथ्य कुरा बोल्दा कारबाही गर्छन्, त्यही भएर काम गर्ने जाँगरै चलेन,' उनले भने।

क्याप्टेन भट्टराईले निगमको 'भविष्य र योजना' दुवै नभएका कारण निगम छोड्न लागेको बताए। 'जहाज किन्ने कुरा हुन्छ तर उडाउने पाइलट र ग्राउन्ड इन्जिनियरबारे कहिल्यै कुरा हुँदैन,' निगम पाइलटहरूको छाता संगठन नेपाल एयरलाइन्स पाइलट्स एसोसिएसन (नापा) का अध्यक्षसमेत रहेका उनले भने, 'यो विडम्बना हो। जहाज आउनुअघि पाइलट र इन्जिनियरको पर्याप्त व्यवस्था हुनुपर्छ।'

निगम छाड्न लागेका क्याप्टेनमध्ये भट्टराईबाहेक सबैको सेवा-सुविधाबारे ब्लु डार्टसँग सहमति भइसकेको छ। क्याप्टेन शर्माका अनुसार ब्लु डार्टले ३३ प्रतिशत कर कटाएर ५ लाख ५० हजार भारु (८ लाख ८० हजार नेपाली रुपैयाँ) दिनेछ। कार्गो उडान मात्र गर्ने यो कम्पनीका जहाजबाट सातामा दुइटा मात्र उडान गर्नुपर्छ। सबै उडान राति हुन्छ। पाँचतारे होटलमा खानेबस्ने सुविधा कम्पनीले बेहोर्छ।

भट्टराईका अनुसार निगममा बोइङ जहाज उडाउने क्याप्टेनले भने मासिक १ लाख ३० हजार रुपैयाँजति मात्र पाइरहेका छन्। भारतमा ६५ वर्ष उमेरसम्म उडाउन पाइन्छ भने निगममा ६० वर्षको सीमा छ। यहीँका निजी कम्पनीमा भने ६५ वर्ष नै नियम छ।

'ब्लु डार्टका जहाज उडाउँदा तनाव हुँदैन,' शर्माले भने, 'भारतीय नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिने प्रक्रिया सुरु हुँदै छ। सबै प्रक्रिया पूरा भएपछि आउने चैत १९ देखि जेठ १८ भित्र गइसक्छौं।' क्याप्टेन भट्टराईले पनि आवश्यक कागजपत्र सबै भारत पठाइसकेका छन्।

निगम व्यवस्थापन अहिले पनि आठवटा जहाज चीनबाट अनुदान र सहुलियत ऋणमा ल्याउने भनिरहेको छ, तर ती जहाज उडाउने पाइलट नभएको भट्टराई बताउँछन्। 'पाइलट आकर्षित गर्ने विषय निगममा जहिले पनि गौण हुने गरेको छ,' उनले भने।

हाल निगमसँग अन्तर्राष्ट्रिय जहाज उडाउन ३३ र आन्तरिक जहाजका लागि करिब १८ पाइलट छन्। तीमध्ये आरके शेरचन, इच्छाराज गुरुङ, विजय लामा, सुभाष रिजाल, एलबी थकालीलगायत पाइलटले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै जहाज उडाउँछन्। निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न दुईवटा बोइङ ७५७ र आन्तरिकका लागि साना चारवटा टि्वनअटर छन्।

पाइलट अभावकै कारण निगमले दुइटा टि्वनअटर जहाज निजी वायुसेवा कम्पनी तारा एयरलाई भाडामा उडाउन दिइरहेको छ। 'आन्तरिक उडान गर्ने पाइलट निजी कम्पनीबाटै तान्ने हो, तर उनीहरूको भन्दा राम्रो सेवा सुविधा नभई कसरी निगममा आउँछन्?,' उनले भने, 'पाइलटको सेवा सुविधा बढाउन बारम्बार आग्रह गर्दा पनि व्यवस्थापनले वास्ता गरेन।'

अहिले ब्लु डार्टमा जान लागेका पाँचजना निगम छाड्ने पहिला क्याप्टेन भने होइनन्। हाल ब्लु डार्टमै पाँच नेपाली क्याप्टेन इन्द्रप्रसाद सिटौला, प्रमोदराज पाण्डे, कुन्दन गिरी, मनजुजु श्रेष्ठ र विशाल देवानले जहाज उडाइरहेका छन्। ती सबै निगम छाडेर गएका थिए।

यता निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले पाँच क्याप्टेनले निगम छाड्नेबारे कुनै आधिकारिक जानकारी नआएको बताए। 'दक्ष र अनुभवी पाइलटले छाडेर जानु निगमका लागि राम्रो पक्कै होइन,' उनले भने, 'पाइलटहरूको सेवा-सुविधा बढाउने योजना छ।'

विश्वप्रसिद्ध कार्गो तथा कुरियर कम्पनी डिएचएल एक्सप्रेसको भगिनी कम्पनी ब्लु डार्टसँग हाल बोइङ ७३७ तीनवटा र ७५७ चारवटा छन्। सन् १९९६ बाट उडान सुरु गरेको यसले भारतका आन्ध्र प्रदेश, नयाँदिल्ली, गुजरात, कर्णाटक, केरला, महाराष्ट्र, तमिलनाडु र पश्चिम बंगालमा उडान गर्छ। यसको हब चेन्नाई अन्तर्राष्ट्रिय विमानस्थल हो।

SUNDAY, 04 MARCH 2012 नागरिक

0 comments:

Post a Comment