पर्यटकको आधा खर्च बिदेसिन्छ
स्वदेशी वायु सेवा कम्पनी बलियो नहुँदा नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्चको आधाभन्दा बढी रकम विदेशमै रहने गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको दुरवस्थाका कारण एक वर्षमा नेपालले कमाउन सक्ने झन्डै ३० अर्ब रुपैयाँ अन्य कम्पनीको हातमा गइरहेको छ ।
नेपाल आउने पर्यटकले गर्ने कुल खर्चमध्ये ६० प्रतिशत रकम हवाई भाडामा खर्च हुन्छ । यस आधारमा सन् २०११ को पहिलो ६ महिनामै करिब १५ अर्ब रुपैयाँ नेपाल घुम्ने पर्यटकबाट विदेशी वायु सेवा कम्पनीले कमाएको देखिन्छ ।
पहिलो ६ महिनामा करिब ७५ हजार भारतीय पयर्टक हवाईमार्गबाट नेपाल आएका छन् । दुइ देशबीचको दोहारो भाडादर औसत २० हजार रुपैयाँ मान्दा झन्डै १ अर्ब ५० करोड रुपैयाँ हवाई भाडामा खर्च भएको छ ।
यस अवधिमा तेस्रो मुलुक -लङ हल) बाट नेपाल आउने पर्यटकले हवाई भाडामा औसत १ लाख १० हजारसम्म खर्च गर्ने आधारमा वायु सेवा कम्पनीको आम्दानी झन्डै १६ अर्ब रुपैयाँको हाराहारीमा हुने देखिन्छ । यसैगरी चीनबाट यस अवधिमा १६ हजार पर्यटक आएका छन् । यो वर्षको पहिलो ६ महिना -जनवरीदेखि जुन) मा २ लाख ४५ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएको तथ्यांक छ । यात्रु संख्या र औसत भाडादरका आधारमा बाह्य विमान कम्पनीले ६ महिनामा करिब १५ अर्ब रुपैयाँ कमाएको अनुमान विज्ञहरूको छ ।
अन्तर्राष्ट्रिय उडानमा निगमको हिस्सा ८ प्रतिशत मात्रै हुँदा अधिकांश रकम बाहिरिने गरेको विज्ञहरू बताउँछन् । 'निगम बलियो भएर आधा मात्रै सिट लिन सके पनि वर्षको १५ अर्ब कमाइ हुने देखिन्छ,' एक व्यवसायीले भने । २७ वटा विदेशी विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
'सरकारले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि कडा भूमिका निर्वाह गर्न सकेको छैन,' पर्यटन वर्ष २०११ राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले भने, 'कतिपय काम निजी क्षेत्रले मात्र गर्न सक्दैन ।'
यहाँ आउने पर्यटकले घुम्नका लागि छुट्टयाएको रकममध्ये आधाभन्दा बढी हवाई टिकटमा खर्चिंदा देशभित्र आम्दानी पर्यटक आगमनको अनुपातमा बढ्न सकेको छैन । 'सस्तोमा उडाउने निगम मात्र हो,' ठमेल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष तेजेन्द्रमान श्रेष्ठले भने, 'निगमँंग जहाज छैन ।'
दस लाख पर्यटकको लक्ष्यमा आगमन अनुसार राजस्व वृद्धि नहुनु वायु सेवा निगममा सही व्यवस्थापनको कमी, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको अडिटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम स्थानमा हुनुलगायत समस्या देखिएका छन् ।
यस क्षेत्रलाई अझै विस्तार गर्न 'कन्ज्युमर मार्केट' सम्म स्वदेशी विमान कम्पनीले नै सेवा पुर्याउनुपर्ने विज्ञहरू बताउँछन् । 'पर्यटन वर्षले पाहुना भित्र्याउने मात्र होइन, निगमको पनि सुधार गर्ने लक्ष्य लिएको थियो,' संयोजक शाक्यले भने, '२०१० को सुरुवातमै निगममा जहाज ल्याउने, व्यवस्थापन सुधार गर्ने भनिएको थियो ।' तर कार्यकारी विवादका कारण निगमको जहाज खरिद प्रक्रिया रद्द भयो । चार साता अघि मन्त्रिपरिषद्ले नयाँ कार्यकारी अध्यक्ष चयन गरे पनि निगमको सञ्चालक समिति बन्न सकेको छैन ।
नेपालले पर्यटनमा आधारित अर्थतन्त्र बनाउन बाह्य विमान कम्पनी नभई निगमलाई नै बलियो बनाउनुपर्ने नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्सका पूर्वअध्यक्ष रामकाजी कोनेले बताए । 'बाह्य कम्पनीले आफूलाई फाइदा हुने स्थानबाट मात्र उडान गर्छन्,' उनले भने, 'तर आफ्नै विमान कम्पनी सक्षम भए मुलुकलाई फाइदा हुने सेक्टरमा उडान गरी सम्भावित पाहुनालाई भित्र्याउन सकिन्छ ।'
निगमले हाल दुई बोइङबाट मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । त्यसमा पनि एउटा बिगि्ररहने हुँदा नियमति उडान गर्न सक्दैन । सस्तो भाडामा नियमित उडान पर्यटन विकासको अर्को प्रमुख माध्यम बन्ने कोनेले बताए । 'यसका लागि स्वदेशी विमान कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि सक्षम बनाइनुपर्छ,' उनले भने ।
:शिला पाण्डे कान्तिपुर







0 comments:
Post a Comment