Wednesday, February 29, 2012

बेइजिङमा लुम्बिनी प्रवर्द्धन कार्यालय सुरु

पूर्ण बस्नेत,सांघाई, फागुन १८ -लुम्बिनी भ्रमण वर्ष सफल बनाउन चिनिया बौद्धमार्गीले बेइजिङमा स्थापना गरेको प्रवर्द्धन कार्यालय संस्कृती मन्त्री गोपाली किरातीले उद्घाटन गरेका छन्। बेइजिङ नजिकैको युन्जु गुम्बाले चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा सहयोग पुर्‍याउन कार्यालय स्थापना गरी प्रचार प्रसार सुरु गरेको छ।


मन्त्री किरातीले बुधबार बिहान मध्य बेइजिङको सन्लिटुनस्थित भवनको २१ औँ तलामा 'भिजिट लुम्बिनी इयर २०१२ प्रमोसन अफिस बेइजिङ' को उद्घाटन गरेका हुन्। लुम्बिनी डेभलपमेन्ट ट्रष्टका अध्यक्ष तथा लुम्बिनी भ्रमण वर्ष २०१२ का संयोजक समेत रहेका मन्त्री किरातीयुन्जु गुम्बा सञ्चालक समितिको निमन्त्रणामा कार्यालय उद्घाटनाका लागि मंगलबार बेइजिङ आएका थिए।

चिनिया प्रधानमन्त्री कार्यालयका संस्कृति मामिला सम्बन्धी अधिकारी लगायत बौद्धमार्गी नेताहरूसहभागी भएको उद्घाटन समारोहमा मन्त्री किरातीले लुम्बिनी गएर भ्रमण वर्ष सफल तुल्याउन चिनिया बौद्धमार्गीलाई आग्रह गरे। समारोहमा बेइजिङस्थित राजदूत महेश मास्के र गुम्बा सञ्चालक समितिका अध्यक्ष युजुओ सेङले चिनिया बौद्धमार्गीलाई लुम्बिनीमा आकर्षित गर्न पहल गर्ने बताएका थिए।

मन्त्री किरातीसँगै बेइजिङ आएका लुम्बिनी डेभलपमेन्ट ट्रष्टका उपाध्यक्ष तथा लुम्बिनी भ्रमण वर्ष २०१२ का सहसंयोजक कर्म स्याङबो शेर्पाका अनुसार विदेशीकै पहलमा भ्रमण वर्ष प्रवर्द्धन गर्न स्थापना भएको यो पहिलो कार्यालय हो। चीनमा करिब चालिस करोड बौद्धमार्गी छन्। यसअघी दक्षिण कोरियामा रहेका नेपालीको संस्था नेपाल बुद्धिष्ट फेमेलीले कार्यालय स्थापना गरी लुम्बिनी भ्रमण वर्षको प्रवर्द्धन शुरु गरेको थियो।

मन्त्री किरातीको सम्मानमा बुधबार आयोजित रात्रीभोजमा चीनका संस्कृती उपमन्त्रीले भ्रमण वर्ष सफल बनाउन चीनले पहल गर्ने बताइन। 'चीन-नेपाल मैत्री र लुम्बिनी भ्रमण वर्ष २०१२ सफल तुल्याउन चीन सरकारले सबै आवश्यक पहल गर्नेछ', उपमन्त्रीलाई उद्धृत गर्दै शेर्पाले भने।

गुम्बाले कार्यालय सञ्चालनका लागि एक जना कर्मचारी समेत दिएको उल्लेख गर्दै शेर्पाले लुम्बिनी भ्रमण वर्ष प्रवर्द्धन व्यवस्थित गर्न छिट्टै बेइजिङ कमिटि गठन हुने बताए। 'लुम्बिनी भ्रमण वर्ष प्रवर्द्धन गर्न स्थानीयले दिएको यो पहिलो कार्यालय हो, प्रचार प्रसारको काम शुरु भैसकेको छ, छिट्टै गठन हुने कमिटिले दूताबाससँग समन्वय गरी प्रवर्द्धन व्यापक बनाउने छ', शेर्पाले भने।

बेइजिङबाट ७० किलोमिटर दक्षिण पश्चिमको फानसान जिल्लामा चौधौँ शताब्दीमा ढुङ्गा र काठमा कुँदिएका २५ हजार बढी बुद्ध शिलालेख भेटिएपछि चिनिया बौद्धमार्गीले युन्जु गुम्बा स्थापना गरेका थिए। चिनिया बौद्धमार्गीका अनुसार अहिलेसम्म चीन र दक्षिण कोरियामा मात्र बुद्धका 'उडन स्त्रि्कप्ट' फेला परेकाले यो ठाउँको ऐतिहासिक महत्व छ। विश्व प्रसिद्ध बौद्ध गुम्बाहरूमध्ये एक युन्जु अहिले चीनको पर्यटन केन्द्र बनेको छ। राजदूत मास्केका अनुसार नेपाली र चिनिया इन्जिनियरको डिजाइनमा यहाँ अर्को ठूलो बौद्ध स्तुपा निर्माण गर्ने तयारी भइरहेको छ।

मंगलबार दूताबासले आयोजना गरेको रात्रीभोजमा चिनिया बौद्धमार्गी र बेइजिङस्थित नेपाली प्रतिनिधिहरू सहभागी भएका थिए। मन्त्री किरातीको टोली बिहीबार काठमाडौँ फर्कँदैछ।

Source : Nagarik News

0 comments:

Post a Comment