Tuesday, December 6, 2011

पर्यटन वर्षमा पनि रारा सुनसान

प्रकाश शाह
मुगु, १९ मंसिर
नेपाल पर्यटन वर्ष २०११ सकिन लागे पनि रारा ताल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न सकेको छैन । १० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ सुरु भएको पर्यटन वर्ष सकिन एक महिनामात्र बाँकी रहे पनि रारामा पर्यटकको चहलपहल बढ्न नसकेको हो ।
स्थानीयवासीहरू पर्यटन वर्षका विषयमा अनभिज्ञतासमेत जनाउँछन् । “हामीलाई पर्यटन वर्षले छोए पनि यस्तै, नछोए पनि यस्तै हो,” रारा मध्यवर्ती क्षेत्रका होटल व्यवसायी बालकृष्ण रोकायाले भने । रोकायाका अनुसार पर्यटन वर्षसम्बन्धी एउटा कार्यक्रम जिल्ला सदरमुकाममा भएको थियो । विगतमा भन्दा पर्यटक बढे पनि पर्यटन वर्षमा सरकारी लक्ष्यअनुसार रारामा पर्यटक पुग्न नसकेको उनी बताउँछन् । रारा पुग्न स्थल तथा हवाई यातायातको सुविधा नहँुदा पर्यटकहरू यहाँ पुग्न नसकेको उनको गुनासो छ ।
स्थानीय मध्यवर्ती सामुदायिक वन अधिकृत दिलप्रसाद घोडासैनीले सडक नपुगेको, हवाई यात्राका लागि ताल्चा विमानस्थल भरपर्दो नभएको र पैदल यात्रा गर्न समस्या भएकाले पर्यटक नआएको बताए ।
“सरकारले रारा क्षेत्रलाई पर्यटन हब बनाउन लाखौं रकम खर्च गरे पनि स्थानीयवासीले लाभ लिन पाएका छैनन्,” उनले भने ।
रारा राष्ट्रिय निकुञ्जमा पर्ने रारा ताल क्षेत्रमा बास बस्न एकमात्र डाँफे गेस्टहाउस सञ्चालनमा छ । डाँफे गेस्टहाउसका अनुसार गएको वर्षभन्दा केही पर्यटक बढे पनि ११ महिनाको अवधिमा पर्यटकको संख्या १ हजार पनि पुग्न सकेको छैन ।
यो गेस्टहाउस ३० जना क्षमताको मात्र रहेको सञ्चालक पूर्णादेवी बमले बताइन् । पर्यटक बसोबासका लागि रारा ताल आसपास ससाना होटल भए पनि व्यवस्थित छैनन् ।
“रारामा पर्यटकको चहलपहल नहुनुको कारण सरकारी उदासीनता र स्थानीयवासी जागरुक नहुनु हो,” नेपाल पर्यटन वर्ष कार्यान्वयन समिति सदस्य तथा भिजिट कर्णाली ट्राभल्सका सञ्चालक राजु कार्कीले भने । उनले रारा ताल नेपालको मात्र नभई दक्षिण एसियाकै पर्यटकीय गन्तव्य भएको भन्दै यसबारे सरकारको नीति स्पष्ट नरहेको तर्क गरे ।
‘क्लिन रारा ग्रिन रारा’ नाराका साथ रारा पर्यटन गन्तव्य प्रवद्र्धनमा लागिपरेका रैका ट्राभल्सका सञ्चालक अमरबहादुर शाही हवाई तथा यातायातको पहुँच भए रारा उत्कृष्ट गन्तव्य बन्ने बताउँछन् । “स्थल यातायात छैन, हवाई यातायात महँगो तथा जोखिमपूर्ण छ,” उनले भने, “त्यसैले पर्यटकलाई रारा पु¥याउन गाह्रो छ ।”
सरकारले रारालाई पश्चिम नेपालको ‘पर्यटन हब’ बनाउने योजना पारित गरे हालसम्म योजना अघि बढ्न सकेको छैन । चालू बजेटमा घोषणा गरिएको ८० लाख रुपैयाँ लगानी गरी रारामा रिसोर्ट निर्माण गर्ने योजना पनि हालसम्म अगाडि बढेको छैन ।
देशकै ठूलो र उच्च स्थानमा रहेको रारा तालको उचाइ २ हजार ९ सय ९० मिटर, लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ ।

Source : Karobaar Daily

0 comments:

Post a Comment