१५ पुस, काठमाण्डौ । तिब्बत स्वशासित क्षेत्रको सरकारका उपसचिव लियाङ्ग जियाङ-पिङको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच पर्यटन प्रवर्द्धनलगायतका विभिन्न विषयहरुमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल-चीन (तिब्बत) संयुक्त पर्यटन समन्वय समितिको पाँचौं बैठकका लागि २४ डिसेम्बरमा नेपाल आएको चीनको तिब्बत स्वशासित क्षेत्रको ८ सदस्यीय प्रतिनिधिमण्डलसागको भएको छलफलपछि बसेको औपचारिक बैठकमा सो हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा आगामी लुम्बिनी भ्रमण वर्ष, २०१२ लाई सफल पार्न पर्यटन वर्ष २०११ मा गरेजस्तै प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गरी सहयोग गर्ने, काठमाण्डौ-ल्हासा बस सेवा यथाशीघ्र पुनः आरम्भ गर्ने, ल्हासा-काठमाडौँ हवाई उडान थप गर्ने तथा पर्वतारोहणसम्बन्धी क्रियाकलापमा सहयोग पुर्याइ सीमा क्षेत्रमार्फत हुने पर्यटनमा सहयोग पुर्याउनेलगायतका विविध विषय छन् ।
बैठकमा सोसम्बन्धी अर्को बैठक सन् २०१२ को सेप्टेम्बरमा तिब्बतको ल्हासामा आयोजना गरिने सहमति भएको पनि नेपाली प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घिमिरेले गर्नुभएको थियो भने अन्य सदस्यहरुमा चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नवनियुक्त महावाणिज्यदूत हरिप्रसाद बस्याल, भन्सार विभागका महानिर्देशक रणबहादुर श्रेष्ठ, अध्यागमन विभागका महानिर्देशक सुधीरकुमार शाह, श्रम तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव अनिल गुरुङलगायत रहनुभएको थियो ।
बैठकमा नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बराल, नेपाल हवाई उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धर, पर्यटन परिषद्का सदस्य आङ्छिरिङ शेर्पा, टानका महासचिव मोहन लम्साललगायत परराष्ट्र मन्त्रालय एवं अन्य सम्बद्ध निकायका प्रतिनिधिहरु हुनुहुन्थ्यो । रासस







0 comments:
Post a Comment