काठमाडौं, असार ६ - लामो समयपछि बसेको नेपाल पर्यटन बोर्डको कार्य समिति बैठकले कार्यकारी प्रमुखको नभएको कारण जनाउँदै निर्देशक तहका कर्मचारीलाई आर्थिक प्रशासन सम्बन्धी असीमित अधिकार प्रत्यायोजन गरेको छ ।
११ सदस्यीय समितिका ७ जना उपस्थिति बैठकले यस्तो निर्णय गरेको हो । तर बैठकमा उपस्थित भएका पर्यटन व्यवसायीको कोटाबाट स्वतन्त्र रूपमा नियुक्त दुई सदस्यले निर्णयप्रति आपत्ति जनाएका छन् । बोर्डका सदस्य रेवत थापा र ध्रुवनारायण श्रेष्ठले नोट अफ डिसेन्ट जारी गर्दै यस्तो निर्णयले थप आर्थिक अनियमितता बढ्ने जिकिर गरे ।
बैठकले निर्देशक तहका कर्मचारीले एक पटकमा ३ लाखसम्मको खर्च गर्न पाउने अख्तियारी दिएको हो । साथै सार्वजनिक खरिद ऐन अनुसार १० लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपरे कार्यकारी प्रमुखको हस्ताक्षर आवश्यक नपर्ने समेत निर्णय गरेको छ । बोर्डको व्यवस्थापन समितिले भुक्तानी गर्न सक्ने छ ।
राजनीतिक र अदालती कारणले समितिमा केही सदस्य रिक्त रहेको बोर्डको पुसपछि हालै मात्र बैठक बसेको हो । ११ सदस्यीय समितिमा ८ जना रहे पनि आफू अनुकूल निर्णय गराउन नसक्ने संकेत पाएपछि विगतमा बैठक नबोलाइएको केही सदस्यको आरोप छ ।
'एक पटकमा ३ लाख रुपैयाँ भनेको धेरै ठूलो रकम हो, दिनदिनै ३ लाख खर्च गरे महिनामा झन्डै १ करोड खर्च हुन्छ,' श्रेष्ठले भने, 'यस्तो असीमित अधिकारले बोर्डलाई अपारदर्शी बनाउने भएकाले मेरो आपत्ति छ ।'
यसअघि प्रचण्डमान श्रेष्ठ कार्यकारी प्रमुख हुँदा यसैगरी अख्तियार प्रत्यायोजन गरेका थिए । खर्चको जवाफदेहीतामा प्रश्नचिह्न उठेपछि उनले त्यो अख्तियारी फिर्ता लिएका थिए । श्रेष्ठको पदावधि गत कात्तिक १५ मा सकिएपछि बोर्ड कार्यकारी प्रमुखविहीन छ । प्रमुखको नियुक्तिमा सकारले चासो देखाएको छैन । बोर्डको सञ्चालक समिति सदस्य चयन गर्ने विषयमा अदालतमा रहेको मुद्दाको फैसला नहुँदा समेत प्रमुख कार्यकारीको चयन प्रक्रिया अन्योलमा परेको हो ।
बोर्डको आर्थिक नियमावलीमा प्रमुख कार्यकारीको अनुपस्थितिमा महाशाखा प्रमुखको सामूहिक निर्णयका आधारमा खर्च गर्ने व्यवस्था छ । नियमावलीमा सामूहिक भन्नाले सबै महाशाखा प्रमुखको निर्णयलाई मान्ने कि बहुमतलाई भन्ने स्पष्ट व्यवस्था छैन । यसले गर्दा बोर्डका केही महाशाखा प्रमुखले आपत्ति जनाए पनि अधिकृतस्तरका कर्मचारीले निर्णय गरेर खर्च गर्दै आएको स्रोतले बतायो । यसरी अपरादर्शी तरिकाले खर्च हुन थालेपछि बोर्डको प्रशासनले बैंक खाता रोक्का गरेको थियो । समितिको हालै बसेको बैठकले भने बैंक खाता खोल्ने निर्णय समेत गरेको छ ।
'कर्मचारीले गरेका काम कारबाही अपारदर्शी र अनियमित छन्,' थापाले भने, 'त्यसैले तिनको पनि छानबिन हुनुपर्यो र अनियमितता गर्न मिल्ने अधिकार दिनु भएन ।' दुवै सदस्यले बोर्डमा विगतमा भएका आर्थिक कारोबारको विशेष लेखापरीक्षण हुनुपर्ने माग समेत गरेका छन् ।
बोर्ड अध्यक्ष एवं पर्यटन सचिव गणेशराज जोशीले भने निमित्तका भरमा बोर्डका कामकारबाही भइरहेकाले केही कानुनी अड्चन आएको दाबी गर्दै अधिकार प्रत्यायोजन गर्नुपरेको बताए । 'निमित्त प्रमुखलाई अधिकार प्रत्यायोजन गरेर बोर्डलाई प्रभावकारी रूपमा सञ्चालन गर्न यस्तो निर्णय गरेका हौं,' उनले भने ।
समितिले निमित्तसँग सर्त राखेर अधिकार प्रत्यायोजन गरेको छ । तर असन्तुष्ट थापा र श्रेष्ठले भने सर्त राखेर अख्तियार प्रत्यायोजन गर्नु गैरकानुनी भएको दाबी गरे । 'अधिकार प्रत्यायोजन ऐन नियम र विनियम अनुसार हुनुपर्यो,' उनले भने, 'ऐनलाई मिचेर निर्णय गर्नु गैरकानुनी हो ।'
प्रशासनिक ढाँचामा आर्थिक जवाफदेहिता बहन गर्न एक जनालाई जिम्मेवारी दिने गरिन्छ । जिम्मेवारी तोकिएको व्यक्तिबाटै सम्पूर्ण आर्थिक कारोबार हुने गर्छ । यसरी तहगत रूपमा जिम्मेवारी दिँदा अनियमितता बढ्ने उनीहरूको जिकिर छ ।
असन्तुष्ट सदस्यले भने पर्यटन वर्षमा त्यस बेलाको कार्यसमितिले गरेका कामकारबाहीको जिम्मेवारी आफूहरूले लिन नसक्ने जानकारी दिए ।
'त्यसबेला धेरै राम्रा/नराम्रा काम भएका छन्,' असन्तुष्ट श्रेष्ठले भने, 'त्यसको सफाइ दिने काम यो समितिको क्षेत्राधिकार भित्र पर्दैन ।'
समिति सदस्य एवं बोर्डका सदस्य सचिव लक्ष्मण अर्यालले भने कार्यकारी प्रमुख नभएकाले 'डेड लक' को अवस्थामा रहेको कार्यलाई गति दिन यस्तो निर्णय गरिएको दाबी गरे ।
'निजी साझेदारीको अवधारणमा सञ्चालित यो संस्थामा कार्यकारी प्रमुख नहुँदा पर्यटन प्रवर्द्धनका धेरै काम अवरुद्ध भएका छन््' उनले भने, 'त्यसैले कार्य सञ्चालनमा बाधा नपुगोस् अख्तियार प्रत्यायोजन गरिएको हो ।' त्यस्तै समितिले बोर्डको आगामी आर्थिक वर्षको बजेटका लागि अध्यागमन विभागका महानिर्देशक सुरेश अधिकारीको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । उपसमिति सदस्यमा कृष्णप्रसाद आचार्य, थापा, श्रेष्ठ र काशीराज भण्डार्ी छन् । उनीहरूले उपसमितिप्रति पनि आपत्ति जनाएका छन् ।
यता, बोर्ड अध्यक्ष एवं पर्यटन सचिव गणेशराज जोशीले भने असन्तुष्ट सदस्यले नोट अफ डिसेन्ट जारी नगरेको जिकिर गरे । 'उहाँहरूले नोट अफ डिसेन्ट जारी गरेको होइन,' उनले भने, 'केही बुँदामा असन्तोष जनाउँदै सुझाव दिनु भएको हो ।'
उनले दुई सदस्यले असन्तुष्टि जनाए पनि बैठकको निर्णय कार्यान्वयन हुने बताए । 'उहाँहरूको सुझाव अर्को बैठकमा सम्बोधन गरिनेछ ।'
हिसिला यमी पर्यटनमन्त्री हुँदादेखि बोर्डमा सुरु भएको राजनीतिक खिचातानीले कर्मचारीलाई समेत समस्या परेको छ ।
'लुम्बिनी भ्रमण वर्ष भनिएको छ,' स्रोतले भन्यो 'यस्तोमा नियमितका मेलाबाहेक विशेष कार्यक्रम ल्याउन पनि सकिएको छैन ।' स्रोतका अनुसार यस्तोमा कर्मचारीमा समेत काम गर्ने जाँगर हराइसकेको छ ।
प्रकाशित मिति: २०६९ असार ६
Kantipur