Monday, June 4, 2012

मलेसियाका दुई ठूला वायुसेवा नेपाल आउने


२३ जेठ, काठमाण्डौं । मलेसियाका दुई ठूला वायुसेवा कम्पनीले काठमाण्डौंका लागि नयाँ उडान भर्ने भएका छन् । स्वदेशी निजी क्षेत्रकै एउटा कम्पनीले भने मलेसिया उडाउने तयारी गरिरहेको छ ।
मलेसियाको राष्ट्रिय ध्वजाबाहक मलेसिया एयरलायन्स र त्यहाँको निजी क्षेत्रको एयर एसिया एक्सले क्वालालम्पुरबाट काठमाण्डौं उडान गर्न लागेका हुन् । एयर एसिया सस्तो तर, लामो दुरीमा उडान गर्ने बजेट एयरलायन्स हो । नेपालबाट भने बिबि एयरवेजले क्वालालम्पुरसम्म उडान भर्ने तयारी गरिरहेको छ ।
‘मलेसिया एयरलायन्सले आगामी भदौ १६ गतेदेखि काठमाण्डौंमा उडान भर्नेछ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले जानकारी दिनुभएको खबर आजको नागरिक दैनिकले छापेको छ । एयर एसियाले भने असार १९ गतेबाट उडान भर्ने तालिका मागेको छ ।
एयर एसियाले ३ सयभन्दा बढी यात्रु क्षमताका एयरबस ए ३३० – ३०० जहाजबाट उडान गर्ने योजना बनाएको छ । मलेसिया एयरलायन्सले १ सय १५ जहाजबाट विश्वका ६० गन्तव्यमा उडान गरिरहेको छ भने थप ५१ जहाज खरिद अर्डर पनि गरेको बताईएको छ । त्यस्तै एयर एसिया ११ जहाजबाट १३ गन्तव्यमा उडिरहेको छ, उसले पनि २९ वटा जहाज अडर गरेको छ ।

0 comments:

Post a Comment