Wednesday, June 20, 2012

पर्यटकीय शुल्क ५ गुणा बढ्यो


काठमाडौं, असार ६ - सरकारले निकुञ्ज र आरक्ष प्रवेश तथा सिकार लाइसेन्स लगायतको दस्तुर बढाएको छ । २०५३ पछि सरकारले सोमबार राजपत्रमा प्रकाशित गरी निकुञ्ज, आरक्ष प्रवेश, सिकार लाइसेन्स, जंगल ड्राइभ, हेलिकप्टर अवतरणदेखि र्‍याफ्टिङ लगायत सेवाको दस्तुर बढाएको हो ।
जंगल सफारीका लागि सबैभन्दा बढी पर्यटक भित्रिने चितवन निकुञ्जको प्रवेश शुल्क स्वदेशीका लागि २० रुपैयाँबाट वृद्धि गरी १ सय, सार्क मुलुकका नागरिकका लागि २ सयबाट ७ सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै अन्य देशका नागरिकका लागि ५ सयबाट १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले डेढ दशकदेखि शुल्क एउटै रहेकाले समय अनुकूल बढाउनुपर्ने देखिएको बताए । 'विद्यमान शुल्क धेरै पुरानो थियो,' उनले भने, 'त्यसैले समाय अनुकूल अद्यावधिक गरिएको हो ।'
बर्दिया निकुञ्जसहित पर्सा, कोसीटप्पु र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भने नेपालीका हकमा २० रुपैयाँबाट ५०, सार्क मुलुकका लागि ५० बाट ५ सय र अन्य विदेशीका हकमा ५ सयबाट १ हजार रुपैयाँ बनाइएको छ । पर्यटकले निकुञ्ज कार्यालयमा शुल्क बुझाउनुपर्ने हुन्छ ।
हिमाली निकुञ्जहरू सगरमाथा, लाङटाङ, रारा, से-फोक्सुन्डो, मकालु वरुण र खप्तडमा भने सार्क मुलुकका नागरिकका लागि १ सयबाट १ हजार ५ सय र अन्य विदेशीका हकमा १ हजारबाट ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । हिमाली निकुञ्जमा स्वदेशीलाई निःशुल्क प्रवेशको व्यवस्था छ ।
चितवन निकुञ्जमा एक दिन जंगल ड्राइभ गर्दा कारको २ हजार, जिपको ४ हजार र भ्यानको ५ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । त्यस्तै चितवन निकुञ्ज सहित सबै आरक्षमा एक पटक हेलिकप्टर अवतरण गर्दाको दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ । कोसीटप्पु, पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र कार, जिप र भ्यानबाट जंगल ड्राइभ गर्दा क्रमशः १, २ र ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
बर्दिया निकुञ्जमा कार, जिप र भ्यानबाट व्यावसायिक जंगल ड्राइभ गर्दा क्रमशः १, २ र २ ५०० रुपैयाँ दस्तुर निकुञ्जलाई बुझाउनुपर्ने छ ।
सरकारले सिकार लाइसेन्सको समेत दस्तुर बढाएको छ । जिल्ला सिकार लाइसेन्सको स्वदेशीका लागि ५ हजार, सामान्य सिकार लाइसेन्सको स्वदेशीका लागि ६ हजार र विदेशीका लागि ५० हजार, पन्छी सिकार लाइसेन्सका लागि स्वदेशीका लागि २ हजार र विदेशीका लागि १० हजार रुपैयाँ दस्तुर कायम गरिएको छ ।
पेसेवर सिकारी लाइसेन्सका लागि -५ वर्ष) स्वदेशीका लागि एक लाख र विदेशीका लागि ५ लाख रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । त्यस्तै, निकुञ्ज/आरक्षभित्र हात्ती सफारी गर्दा स्वदेशीका लागि २ सयबाट ५००, सार्कका लागि ४०० बाट एक हजार पाँच सय र अन्य विदेशीका लागि दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
वन्यजन्तु सिकारको दस्तुरसमेत बढाइएको छ । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा बर्सेनि पर्यटक नाउर र झारलको सिकार गर्न आउँछन् ।
Kantipur

0 comments:

Post a Comment