Thursday, June 14, 2012

निगमले जहाज चार्टरमा दिने

सुशील भट्टराई, काठमाडौं, असार १- जहाज अभाव झेलिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक विदेशी कम्पनीका लागि आफ्ना जहाज 'चार्टर' मा उडाउने भएको छ। यसका लागि थप प्रक्रिया अगाडि बढाउन उसले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको छ। जहाज चार्टर गर्दा आम्दानी बढी हुने भएपछि निगम व्यवस्थापन यो प्रक्रियामा अगाडि बढेको हो।
निगम व्यवस्थापनका अनुसार ताइवानको जहाज चार्टर गर्ने एक निजी कम्पनी सिनो अमेरिकनले जहाज चार्टरमा उपलब्ध गराइदिन प्रस्ताव गरेपछि प्रक्रिया अगाडि बढाइएको हो।

'ताइवानी कम्पनीले चार्टर प्रस्ताव गरेपछि हामी सकारात्मक भयौं र प्रक्रिया अगाडि बढाएका हौं,' निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले बिहीबार नागरिकसँग भने, 'ताइवानको सम्बद्ध निकायसँग यसबारे पहल गरिदिन पर्यटन मन्त्रालयलाई पत्र पठाएका छौं तर, जवाफ आउन बाँकी छ।'
केसीका अनुसार सिनो अमेरिकनले सातामा एउटा चार्टर उडान गर्न प्रस्ताव गरेको हो। उसले प्रतिघन्टा उडानवापत् १३ हजार २ सय ६० अमेरिकी डलर (११ लाख ९३ हजार ४ सय रुपैयाँ) भाडा दिने प्रस्ताव गरेको छ। काठमाडौंबाट ताइवान दुईतर्फी उडान अवधि ११ घन्टा हो।

'एउटा उडानबाट हामीलाई १ करोड ३१ लाख रुपैयाँ आम्दानी हुन्छ। महिनामा चार उडान गर्दा ५ करोडभन्दा बढी छुट्टै आम्दानी हुन्छ,' उनले भने, 'सिनो अमेरिकनले पहिलो चरणमा तीन महिनाका लागि सम्झौता गर्न प्रस्ताव गरेको छ।'

ताइवानको सिनो अमेरिकनमात्र नभई जापानलगायत अन्य देशबाट चार्टरको माग आइरहे पनि जहाज अभावका कारण समस्या परिरहेको केसीले बताए। 'पर्याप्त जहाज नहुँदा नियमित उडान त कटौती गर्न वाध्य छौं,' उनले भने, 'त्यसमाथि चार्टरको माग बढिरहँदा हामीलाई थप दबाब परेको छ।'
जहाज भएसम्म जसले चार्टर मागे पनि दिने उनले बताए। विदेशी कम्पनीमात्र होइन, निगमले स्वदेशबाटै आइरहेका माग पनि पूरा गर्न सकेको छैन। नेपाली सेना, जनपद र सशस्त्र प्रहरीबाट विभिन्न देशमा जाने शान्ति सेना बोक्न गरिएको बारम्बारको आग्रह पनि निगमले पूरा गर्न सकेको छैन।

निगमले पहिलो पटक जहाज चार्टरमा उडाउन लागेको भने होइन। विगतमा पनि निगमले जापानी सहर नागोया, ओसाकादेखि युनिफिल शान्ति मिसन, लेबनान, ब्रुनाईसम्म जहाज चार्टर गरेको केसीले जानकारी दिए।

निगमले हाल १ सय ९० सिट क्षमताका दुई बोइङ बोइङ ७५७ जहाजबाट पाँच अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ। साढे दुई दशकअघि निगमले अर्का दुई बोइङ ७२७ बाट पनि चार्टर उडान गरेको थियो।

'पर्याप्त जहाज भए प्रशस्त आम्दानी गर्न सकिन्थ्यो, तर विडम्बना त्यसो हुन सकेको छैन,' प्रवक्ता केसीले भने, 'कुवेत र साउदी अरब उडान गर्न पनि माग आएको आयै छ।' खाडीका नयाँ गन्तव्यमा राम्रो व्यापारको सम्भावना रहे पनि जहाज अभावकै कारण त्यतैका वायुसेवाले आम्दानी गरिरहेका उनले बताए।
उनका अनुसार विगतमा युरोपेली जहाज निर्माता कम्पनी एयरबससँगको जहाज खरिद सम्झौता कार्यान्वयनमा आएको भए निगमसँग हाल कम्तीमा नयाँ तीन जहाज उडिरहेका हुन्थे भने चौथो जहाज आउने तयारीमा हुन्थ्यो।

'त्यसपछि अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ६ जहाज हुन्थ्यो। यति जहाजले वार्षिक १५ अर्ब रुपैयाँबराबरको कारोबार गर्थ्यो,' केसीले भने, 'यो परिमाण भनेको मुलुकको हवाई उद्योगको कुल कारोबारको २० प्रतिशत हो। तर, विडम्बना अहिले हाम्रो बजार हिस्सा जम्मा चार प्रतिशतमात्र छ।'
निगमले हाल दुई ठूला जहाजबाट अहिले सातामा १५ उडान गरिरहेको छ। क्वालालम्पुर सातामा ६ तथा हङकङ, बैंकक र दुबई-दोहाका लागि तीन-तीन उडान भइरहेको छ। नयाँदिल्ली गन्तव्य भने ६ महिनादेखि रद्द गरेको छ। त्यहाँ दैनिक एक उडान गर्थ्यो।
source : Nagariknews

0 comments:

Post a Comment