Tuesday, October 11, 2011

एसिया–प्रशान्तमा पर्यटक आगमन ७ प्रतिशतले बढ्यो

एजेन्सी
मनिला, २४ असोज
एसिया प्रशान्त क्षेत्रमा २०११ को जुलाईसम्ममा पर्यटक आगमनको अनुपात ७ प्रतिशतले बढेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले जनाएको छ ।
पाटाको रणनीतिक बौद्धिक केन्द्रले विश्वव्यापी आर्थिक सुधारको चरण सुरु भएलगत्तै वृद्धिदर बढी स्थिर भएको बताएको छ । विश्वव्यापी आर्थिक सुधारले २०१० को सुरुमा सुरु भई यो वर्षको जूनमा बढी गति लिएको छ ।
२०११ को सुरु ७ महिना अवधिमा एसिया–प्रशान्त क्षेत्रमा आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा ५ प्रतिशतले वृद्धि भएको छ । एसियामा पनि दक्षिण एसियाले यो वृद्धिको नेतृत्व गरेको छ । यो क्षेत्रमा आउने पर्यटकको संख्यामा १४ प्रतिशतले वृद्धि भएको छ भने यसपछि क्रमशः दक्षिणपूर्वी एसियामा १२, उत्तरपूर्वी एसियामा ४ र प्रशान्त क्षेत्रमा १ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ ।
२०१० को समान अवधिको तुलनामा जुलाईमा दक्षिण एसियामा आउने पर्यटकको संख्यामा १४ प्रतिशतले वृद्धि भई झन्डै ९० हजार पर्यटक थपिएका छन् । यो क्षेत्रमा श्रीलंकाको वृद्धि ३२ प्रतिशत सहित सर्वाधिक रहेको छ । यसैगरी दोस्रो नम्बरमा २७ प्रतिशतसहित मालदिभ्स र २० प्रतिशतसहित नेपाल तेस्रो स्थानमा रहेका छन् ।
जुलाईमा दक्षिणपूर्वी एसियामा ११ प्रतिशत अन्तर्राष्ट्रिय पर्यटक फर्किएपछि सकारात्मक अवस्थाले निरन्तरता पाएको छ । थाइल्यान्डमा आउने विदेशी पर्यटकको संख्यामा पनि १९ प्रतिशतले वृद्धि भएको छ । यो क्षेत्रका प्रायः सबै क्षेत्रमा दोहोरो अंकले पर्यटक आगमनमा वृद्धि भएको छ ।
उत्तरपूर्वी एसियामा भने यो वर्षको फेबु्रअरीदेखि मन्द वृद्धि भएपछि जुलाईमा ६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ । चीनमा केवल दुई प्रतिशतको मात्रै वृद्धि भएको छ । यद्यपि अन्य स्वशासित राज्यहरू हङकङ र मकाउमा भने मुख्यभूमिको दाँजोमा अत्यधिक बढी अर्थात् क्रमशः २२ र १८ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि अत्यन्त ठूलो अनुपातको आगमनले २०१० को जुलाईको दाँजोमा यो वर्षको जुलाईमा २ लाख ६० हजार अतिरिक्त पर्यटक थपिएका छन् ।
जुलाईमा जापानबाट बाहिर जाने पर्यटकको संख्यामा ५ प्रतिशतले वृद्धि भएको छ । मार्चको सुनामीपछि यो पहिलो वृद्धि हो । जापानबाट बाहिरिने पर्यटकको संख्यामा देखिएको यो आकर्षक वृद्धिमा चाइनिज ताइपेईमा भएको ९ प्रतिशत र दक्षिण कोरियामा भएको १७ प्रतिशत वृद्धिको प्रमुख योगदान रहेको छ । यद्यपि जुलाईमा जापानमा आउने पर्यटकको संख्यामा भने ३६ प्रतिशतले कमी आएको छ ।
प्रशान्तीय क्षेत्र
२०११ को जुलाईमा यो क्षेत्रमा आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा भने ३ प्रतिशतले कमी आएको छ । प्रायःजसो प्रशान्तीय गन्तव्यमा जुलाईमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा गिरावट देखिएको छ । यद्यपि न्यू क्यालेडोनिया, कुक आइस्ल्यान्ड, पलाउ, भानुआतु र पपुवा न्युगिनीमा भने क्रमशः २४, १३, ११, ११ र ५ प्रतिशतले वृद्धि भएको छ ।
रणनीतिक बौद्धिक केन्द्रका निर्देशक जोन कोलडोस्कीले आर्थिक अनिश्चितताको समयमा पनि एसिया–प्रशान्त क्षेत्रले लगातार मजबुत भूमिका निर्वाह गरी अन्तर्राष्ट्रिय भ्रमण र पर्यटनमा शक्तिकेन्द्रको भूमिका निर्वाह गरेको बताए । यद्यपि बजार मिश्रित स्रोतमा भने परिवर्तन देखिएको छ ।
उदीयमान देशहरूको परम्परागत प्रमुख बजारले आफ्नो आधार गुमाएका छन् । यो क्षेत्रमा यो वर्ष रूसबाट आउने पर्यटकको संख्यमा ५० प्रतिशतले वृद्धि भएको छ । संख्याका आधारमा रूसीहरू हाल फ्रान्स र जर्मनीजत्तिकै महत्वपूर्ण सावित हुन थालेका छन् ।
कोलडोस्कीले अन्तर एसियाको वृद्धि मजबुत रहेको बताए । एसियाभित्रैबाट एसिया–प्रशान्त क्षेत्रमा आउने पर्यटकको संख्या ७० लाख पुगेको छ ।

Source: Karobar
१२ अक्टुबर २०११

0 comments:

Post a Comment