त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि नयाँ प्रविधि प्रयोगमा आउने भएको छ। यो प्रविधि आगामी मंसिर २९ बाट प्रयोगमा आउँदैछ। 'रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स विथ अथोराइजेसन रिक्वायर्ड' (आरएनपी-एआर) नामको यो प्रविधि पूर्णरूपमा स्याटेलाइटबाट सञ्चालन हुन्छ।
करोडौं मूल्य पर्ने यो प्रविधि भने विमानस्थलले निःशुल्क पाएको हो।
'नयाँ प्रविधिले जहाज अवतरण गर्न थप सहज हुन्छ भने सुरक्षा बढ्नेछ,' नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक दिनेशप्रसाद श्रेष्ठले मंगलबार नागरिकसँग भने, 'मौसम खराब भएका बेलामा पनि जहाज अवतरण गर्न मिल्छ र अवतरण समय पनि कम लाग्छ।'
उनका अनुसार प्राधिकरण, युरोपेली जहाज निर्माता कम्पनी एयरबसअन्तर्गतको क्युओभाडिस र कतार एयरवेजको सहकार्यमा उक्त प्रविधि प्रयोगमा ल्याउन लागिएको हो। यो प्रविधिअनुसार काम गर्न विमानस्थलका ७० भन्दा बढी एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई आगामी नोभेम्बरमा निःशुल्क तालिममा पठाइनेछ।
यो प्रविधि प्रयोग गर्न जहाजहरूमा यसलाई सहयोग गर्ने उपकरण जडान गरिएको हुनुपर्ने श्रेष्ठले बताए। जहाजले अवतरण रुट पनि छनोट गर्न पाउने उनले बताए। 'मौसम खराब भएर भिजिबिलिटी कम हुँदा पनि जहाज अवतरण गर्न सकिन्छ,' उनले भने।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को निर्देशनपछि विमानस्थलमा यो प्रविधि प्रयोग गर्न लागिएको श्रेष्ठले जानकारी दिए। 'राति आउन नचाहने जहाजले अब आरामसाथ काठमाडौंमा अवतरण गर्न सक्छन्,' उनले भने, 'यो प्रविधि प्रयोगमा आउनु त्रिभुवन विमानस्थलका लागि ठूलो फड्को हो।'
भौगोलिक अवस्थितिका कारण त्रिभुवन विमानस्थल संसारकै अप्ठ्यारा विमानस्थलमध्ये एकमा पर्छ। यो प्रविधिले काठमाडौं आउने जहाजको सञ्चालन लागत पनि कटौती गर्ने उनले बताए।
विमानस्थलमा रहेका 'भेरी हाइ फ्रिक्वेन्सी ओम्नी डिरेक्सन रेडियो रेन्जेज' (भिओआर) र 'डिस्ट्यान्स मिजरिङ इक्विपमेन्ट' (डिएमई) यन्त्रलाई पनि उपयोग गरिरहने उनले बताए। भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमईले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ।
Source Nagarik news







0 comments:
Post a Comment