Friday, August 19, 2011

विश्व पर्यटन दिवस 'संस्कृति जोड्न' मनाइने

काठमाडौ, भाद्र १ - आगामी असोज १० मा मनाइने विश्व पर्यटन दिवस यसपालि विभिन्न संस्कृतिलाई जोड्नका लागि मनाइने भएको छ ।

अघिल्लो वर्ष दिगो पर्यटनलाई वातावरण संरक्षण र जलवायु परिवर्तनसँग जोडिएको थियो । विश्वभरिको पर्यटन क्षेत्रको छाता संगठन विश्व पर्यटन संगठनले बुधबार यसपालिका लागि नारा 'टुरिजम लिकिंङ कल्चर' सार्वजनिक गरेको हो ।

पर्यटनले विश्व एकतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसपालि यस्तो नारालाई अगाडि बढाइएको संगठनले जनाएको छ । संगठनको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पर्यटनले आर्थिक-सामाजिक अवसर प्रदान गर्ने, धनी गरिबबीचको अन्तर कम गर्न पनि उत्तिकै सघाउने भएकाले यो क्षेत्र एकताको प्रतीक भएको बताएका छन् । 'यसले विश्वभरिका समुदायलाई जोडेर शान्ति कायम गराउँछ,' मुनलाई उद्धृत गर्दै सूचनामा भनिएको छ ।

मुनले यस क्षेत्रको दिगो विकासका लागि यी विषयलाई ध्यानमा राखी सम्बद्ध सबै संघसंस्थाले मिलेर पर्यटनका लागि विश्व आचारसंहिता लागू गर्न पनि अनुरोध गरेका छन् । पर्यटन दिवसको भूमिकाबारे जानकारी गराउन आर्थिक वृद्धिको संयन्त्र निर्माण, रोजगारी र गरिबी निवारणका लागि विश्वभर मनाइन्छ । दिवस मनाउनका लागि संगठनले पर्यटन फोटो प्रतियोगिता सुरु गरेको छ । यसमा कुनै पनि मुलुकमा फोटोग्राफरले भाग लिन पाउने छन् । विश्व पर्यटन दिवसको रमाइलोलाई क्यामेरामा कैद गरी संगठनको वेबसाइटमार्फत पठाउन सक्ने छन् ।

यहाँ पनि पर्यटन मन्त्रालय, टुरिजम बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन लगायत संघसंस्थाले संयुक्त रूपमा दिवसका लागि कार्यक्रम गर्ने तयारी थालेका छन् । 'सबैको कार्यक्रमलाई समायोजन गरी पर्यटकलाई बढी मनोरञ्जन दिन सक्ने खालको वातावरण बनाइने छ,' बोर्डका प्रवक्ता आदित्य बरालले भने, 'दिवसभन्दा १०/१२ दिन अगाडि कहाँ कस्तो कार्यक्रम हुँदै छ भनेर क्यालेन्डर नै सार्वजनिक गर्ने छौं ।'

दिवसका अवसरमा गरिने कार्यक्रम विशेषगरी सोलुखुम्बुको नाम्चे, चितवन, पोखरा र काठमाडौंमा हुन्छन् तर स्थानीयस्तरबाट पहल भए त्यस्ता कार्यक्रमलाई बोर्डले सघाउने बरालले बताए ।

सन् २०१० मा विश्वभरिका अन्तर्राष्ट्रिय पर्यटकको संख्या ९४ करोड छ । यो अघिल्लो वर्षभन्दा ७ प्रतिशत बढी हो । यी पाहुनाको माध्यमबाट पर्यटन क्षेत्रले वर्षभरिमा ९ खर्ब १९ अर्ब अमेरिकी डलर आम्दानी गरेको तथ्यांक छ ।

संगठनले यसपालि यो संख्या ५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ । नेपालले पनि पर्यटन क्षेत्रबाट २७ अर्ब आर्जन गरेको २०६७/६८ को आर्थिक सर्वेक्षणमा छ ।

हालसम्मको यहाँ घुम्न आउने पर्यटकको संख्या पनि २४ दशमलव ३ प्रतिशतले बढेको छ । मुलुकले यसपालि हवाई मार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

'यस्तो अवस्थामा विश्व पर्यटन दिवसमा पनि विशेष खालका कार्यक्रम गरिनुपर्छ,' पर्यटन व्यवसायी रामकाजी कोनेले भने 'तत्काल वृद्धिदर उच्च नभए पनि भिजन २०२० को लक्ष्यलाई केन्दि्रत गरी योजना बनाए नेपालको आर्थिकस्तर निकै माथि पुग्न सक्छ ।'

source : kantipur
प्रकाशित मिति: २०६८ भाद्र १ ( 18th Aug,2011)

0 comments:

Post a Comment