This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday, April 30, 2012

४ यात्री, १५५५ किलोमिटर, ९९ दिन

सुदीप श्रेष्ठ/श्याम भट्ट, काठमाडौं, वैशाख १६ - १,५५५ किलोमिटर यात्रा गरेर ९९ दिनपछि फर्केका यी चारजनालाई हामीले बुधबार कुपण्डोलको समिट होटलमा एकैचोटि भेट्यौं। कपाल, दाह्रीजुँगा झ्याप्प पालेका। सौरभ भन्दै थिए, 'वनबासबाट फर्केका ऋषिजस्ता देखिँदैछौं, है?'
'ऋषिहरूलाई र्झैँ प्रवचन दिन पनि भ्याइनभ्याइ रैछ।'
'त्यै त, भोलि फेरि टेलिभिजन इन्टरभ्यु छ,' उनले सुनाए, 'त्यही भएर दाह्रीजुँगा नकाटी बसेको।'
चार यात्रीमध्ये आपामात्र 'सफाचट' छन्। बिहान छिटो उठ्ने र हरेक दिन 'सेभ' गर्ने बानी उनले यी ९९ दिनमा पनि कुनै दिन भुलेनन्।
यो यात्रावृत्तान्त खासमा उनीहरूबाटै लेखाउने सोच थियो। तर, भ्याएनन्। त्यसैले, जतिसक्दो उनीहरूकै शब्दमा लेख्न चाह्यौं। चारै जनाले पालैपालो अनुभव बाँड्दै गए। हामी स्वस्थानी सुनेजस्तो एकाग्र भयौं।
सुरुवात स्वाभाविक रूपले दावाबाटै भयो।
 
आपा शेर्पा, ५२
आपा धेरै हिँड्छन्, थोरै बोल्छन्। एक्काइसपल्ट सगरमाथा चढेका उनलाई त्यसको अनुभव सोध्ने हो भने मुस्किलले एक्काइस शब्द भन्लान्। 'राम्रो रैछ, रमाइलो रैछ'- उनको जवाफ यस्तै-यस्तै।
दावा स्टेभेन शेर्पा, २८
आपासँगै सगरमाथा चढिसकेका दावा होटल व्यवसायी हुन्। हेर्दा खैरेजस्ता देखिन्छन्, बोल्दा पनि शेर्पाजस्ता पटक्कै सुनिँदैनन्। उनको धाराप्रवाह सुनेर सहकर्मी किरण भण्डारीले ठाडै भनिदिए- 'तपाईं त बाहुनलाई पनि मात खुवाउनुहुँदो रहेछ।' उनले 'माइन्ड' गरेनन्।

समीरजंग थापा, ३१
समीरको परिचय गराउँदै दावाले भनेका थिए- 'मेरो ११ वर्षदेखिको साथी हो, नेपालको टप ल्यान्डस्केप फोटोग्राफर।' त्यसपछि 'पोलिटिकल्ली करेक्ट' हुन खोजे- 'तपाईंहरूको पनि आफ्नै साथी होला, तर मेरो नजरमा समीरजस्तो ल्यान्डस्केप फोटोग्राफर नेपालमै छैन।'
सौरभ ढकाल, ३२
सौरभ पेसाले हामीजस्तै पत्रकार। कान्तिपुर टेलिभिजनमा वातावरण रिपोर्टिङ गर्छन्। यो यात्रापछि सेलेब्रिटी भइसके। आपासँगै बसेर हामीलाई 'कोट' (अन्तर्वार्ता) दिइरहेका थिए। हामी डायरीमा उनको 'कोट' टिपिरहेका थियौं।
 

यात्राको पृष्ठभूमि
सन् २००९ मा आपाले 'स्टप क्लाइमेट चेन्ज, लेट द हिमालय लिभ' भन्ने सन्देश बोकेर सगरमाथा आरोहण गरेका थिए। डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'कोप-१५' भएको त्यही वर्ष हो। सम्मेलनको एक महिनाअघि आपा र दावाले युरोपका १० सहर भ्रमण गरे। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे विभिन्न व्यक्तिसँग कुराकानी भयो। धेरैले आपासँग सोधे- 'हामी कसरी सहयोग गर्न सक्छौं?
उनीहरूले जवाफ दिन सकेनन्।
हिमाल पग्लँदैछ भन्ने त थाहा थियो, तर समुदायमा परेको प्रभावको ज्ञान थिएन। यसको निम्ति एकचोटि नेपाल राम्ररी घुम्नुपर्छ भन्ने उनीहरूलाई लाग्यो। ब्रसेल्सबाट पेरिस जाने रेलयात्रा क्रममा यसबारे छलफल गरे। समुदायको कुरा बुझ्न 'ग्रेट हिमालयन ट्रेल' हिँड्ने योजना बनेको त्यतिखेरै हो।
यात्राको उद्देश्य दुइटा थियो। एउटा, जलवायु परिवर्तनले पारेका असर बुझ्ने र अरूलाई बुझाउने। अर्को, कीर्तिमानी आरोही आपा हिँड्ने बाटोलाई संसारले पछ्याउने हुँदा ग्रेट हिमालयन ट्रेलमा पर्ने गन्तव्यहरूको पर्यटन प्रवर्द्धन गर्ने।
टिम कसरी बन्यो?
आपा र दावा त निश्चित भइहाले, साथमा यात्राको लिखित र फोटो 'डकुमेन्टेसन' गर्न सक्ने सदस्य पनि चाहियो। फोटोको निम्ति दावाले पुरानो साथी समीरलाई सम्झे। ट्रेकिङमा टख बसेको र यती ट्राभल्सको निम्ति फोटो डकुमेन्टेसन गरेको अनुभव थियो समीरसँग। उता सौरभ पत्रकारिता माध्यमबाट ग्रेट हिमालयन ट्रेल प्रवर्द्धनमा लागिरहेकै थिए। उनी पनि समूहमा जोडिए।
आरम्भ
माघ १, २०६८
आइतबार।
टोली दिउँसोको जहाजमा काठमाडौंबाट झापा (भद्रपुर) उड्यो। त्यहाँबाट गाडीमा इलामको फिक्कल। त्यो दिन उनीहरू फिक्कलमै बास बसे। यात्रा प्रायोजकमध्ये एक 'नर्थ फेस'का प्रबन्ध निर्देशक दीप लामाले फिक्कलको आफ्नै घरमा टोलीलाई पाहुना राखे।
लामाका छिमेकी रहेछन्, कवि-गायक गणेश रसिक। उनले पहिलो दिनै आपाको टोलीलाई आफ्नै बगानको चियाले स्वागत गरे। चिया खेतीमा आएको परिवर्तनको अनुभव सुनाए। जलवायु परिवर्तनले खेतीपातीमा पारेको असर बुझ्ने काम यहीँबाट सुरु भयो।
रसिकको भनाइमा चियाको पात टिप्ने सिजन एक महिना घटेको छ। दुई साता ढिलो सुरु हुन्छ, दुई साता पहिल्यै सकिन्छ। यसले बगानमा काम गर्नेहरूको रोजगारमा प्रत्यक्ष असर पारेको छ। एउटा बगानमा औसत तीन सयजना काम गर्छन्। पहिले तीन महिना काम पाउँथे, अहिले एक महिना घटेको छ।
'गणेशजीको नाम पनि रसिक, कुरा पनि निकै रसिक गर्नुहुँदोरहेछ,' दावाले भने।
फिक्कलमै एफएमकर्मीहरू छोप्न आइहाले। त्यसपछि पनि जहाँ-जहाँ पुगे, मिडियाले प्राथमिकतासाथ ठाउँ दियो। एफएम क्रान्ति देखेर उनीहरू चित् खाएका छन्। कति ठाउँमा त टोली पुग्नुअघि नै स्थानीय एफएममा समाचार बजिसकेको हुन्थ्यो। त्यही सुनेर गाउँलेहरू 'आपा आए, आपा आए' भन्दै घेर्न आइपुग्थे। आपाले बोकेको नेपालको राष्ट्रिय झन्डाले धेरैको ध्यान खिच्यो। केटाकेटीहरूको त झनै बढी। उनीहरू 'नेपालको झन्डा' भन्दै आपाको पछि दगुर्थे।
दोस्रो दिन उनीहरू ताप्लेजुङको सुकेटार बास बस्न पुगे। एभरेस्ट भ्यु होटलमा। भोलिपल्ट त्यहीँबाट पूर्व लाग्ने योजना थियो। ताप्लेजुङका स्थानीयले सम्मान कार्यक्रम राखेपछि नगई धर पाएनन्। कतिसम्म प्रेम देखाए भने, सबैलाई खादा ओढाएर पूरा ताप्लेजुङ बजार घुमाइदिए। यात्रा सुरु गर्न पाएको छैन, सफल भएर फर्केजत्तिकै भयो।
बिहान ८ बजे हिँड्ने सुर कसेका उनीहरू दिउँसोसम्म बजारतिरै अल्मलिइरहे। १२ बजेतिर बल्ल सुकेटारबाट जुत्ताको तुना कसे। भद्रपुर-सुकेटार मार्गमा एक किलोमिटर पनि हिँडेका थिएनन्। पैदल यात्रा बल्ल सुरु हुँदै थियो। यहाँबाट सोझो पूर्व लागेर नेपालको सीमा छोएपछि पश्चिम हानिने कार्यक्रम बनाएका थिए।
तेस्रो दिन सुकेटारबाट १४.२ किलोमिटर हिँडेर सिम्बु भन्ने ठाउँमा बास बसे। डिएफआइडीले त्यहाँ पर्यटन विकास कार्यक्रमअन्तर्गत 'होमस्टे' विकास गरेको रहेछ।
सिम्बुमा तराईबाट सिरक बनाउन आएको टोलीसँग भेट भयो। तराईमूलका उनीहरू पुस्तौंदेखि यही काम गरिरहेका थिए। उनीहरू आपाको टोलीजस्तै क्याम्पमै आएका थिए। गाउँभरिको सिरक बनाउने काम ठेक्का लिन्थे। एउटा गाउँ सकेपछि क्याम्पै अर्को गाउँ सार्थे।
'यसमा घनिष्ठ जातीय र क्षेत्रीय सम्बन्ध हामीले पायौं,' सौरभले भने, 'तराईको मान्छेले सिरक नबनाएसम्म माथिका मान्छेलाई न्यानो हुँदैन, जब कि तराईमा सिरकै ओढ्नुपर्दैन।'
परम्परागत सामाजिक सम्बन्धको एउटा पक्ष जीवित थियो भने अर्कातिर गाउँगाउँमा ब्रान्डेड सामानको प्रवेशले केही परम्परागत सम्बन्ध भत्कँदै गएका थिए। पहिले हिमाली भेगकाले आलु र फापर जाडोमा तुम्बा खान कोदोसँग साट्थे। त्यही कोदो धानसँग साट्ने चलन थियो। 'अचेल तराईबाट सोझै मख्खन चामल हिमालसम्म पुगेको छ,' दावाले भने। शिर (हिमाल), भीर (पहाड) र तीर (तराई) को सम्बन्ध खोतल्नु पनि भ्रमणको उद्देश्य थियो।
चौथो दिन सिम्बुबाट १६ किमीभन्दा बढी हिँडेर फाङ्फे पुगे। कुन दिन कहाँ बास बस्ने भनेर मोटामोटी योजना बनाएका थिए, घर वा होटल निधो थिएन। गन्तव्य पनि रुट तय गर्ने हिसाबले खेस्रा गरिएको थियो। कहिले बढी थाकेर अगाडि नै बास बस्थे, कहिले ज्यान फुर्तिलो भएको दिन अझ पर लम्किन्थे। बसाइ र खवाइमा कुनै छनोट थिएन। जहाँ, जस्तो भेटियो, त्यस्तैमा बसे। खानामा पाएसम्म 'लोकल'। रक्सी पनि। सुकेटारमा तोङ्बा चाखे। अरू ठाउँमा छ्याङ र घरेलु रक्सी जे पाइन्छ, त्यही खाए। रम, ह्विस्की, भोड्का कहिल्यै मागेनन्। मासु खाँदा सरसफाइमा ध्यान दिन्थे। कहीँकहीँ जनावर काट्ने ठाउँमा वर्षौंदेखि नपखालेको कालो, रगत नै रगत जमेको देखेपछि घीन माने।
उनीहरूले धेरै उचाइमा हिँड्नुभन्दा बस्ती ताकेका थिए। उचाइमा हिँड्न मौसमले सम्भव थिएन। बस्तीबस्ती जाँदा स्थानीयसँग कुराकानी गर्ने मौका पाइन्थ्यो। सोझै 'जलवायु परिवर्तनले के असर पारेको छ' सोध्यो भने स्थानीयले बुझ्दैनन् भनेर सामान्य ढंगमा कुराकानी थाल्थे- स्कुलको विषय? सरसफाइ? संस्कार? कुन समुदाय बढी छ? बाहुन, क्षेत्री, राई, लिम्बु?
पछि त यति पोख्त हुँदै गए, राईमा पनि कुन राई, थापामा बगाले कि गोदारे भनेसम्म सोध्न थाले। आफ्नै गाउँठाउँको कुरा झिकेपछि स्थानीय पनि रमाउँथे। अनि सोध्थे, 'तिमीहरूचाहिँ किन आएका हौ?'
बल्ल उनीहरू यात्राको उद्देश्य खुलाउँथे। मौसम र त्यसको असरसम्बन्धी जिज्ञासा त्यसपछि राखिन्थ्यो- पानी कति पर्छ? पहिले कति पर्थ्यो? गाउँलेहरूले जवाफ दिए, 'पहिले पाँच दिनसम्म झमझम पानी पर्थ्यो, अहिले तीन दिन परे पनि धेरै परेजस्तो लाग्छ।'

आपाको जन्मदिन
छैठौं दिन याम्फुदिनमा आपाको जन्मदिन पर्‍यो। उनले कसैलाई भनेका थिएनन्। आपा सधैं बिहान चाँडै उठ्ने, दाह्रीजुँगा काट्ने र ८ बजेतिर घरमा फोन गर्ने गर्थे। करिब ७० प्रतिशत ठाउँमा मोबाइल नेटवर्क टिप्थ्यो। त्यस दिन आपाले परिवारसँग कुरा गरिरहँदा उनको जन्मदिन हो भन्ने थाहा भयो।
'त्यो दिन आपाको जन्मदिन भन्नलायकै थियो,' दावाले हाँस्दै भने, 'मज्जाको हिँडाइमा परेका थियौं।'
त्यस दिन उनीहरू याम्फुदिनबाट साढे १३ किमी हिँडेर लेसेखर्क भन्ने ठाउँ पुगे। तीन हजार तीन सय मिटर उचाइ। एउटा मात्र पसल थियो त्यहाँ। मान्छेहरू जम्मै चिसोले तल झरेका। पसलका साहुजीले खुबै मद्दत गरे। बास दिए। काठको फल्याकको कापबाट सिरेटो चलेर रातभरि निदाउन चाहिँ सकिएन। बाहिर डेढ फुटजति हिउँ जमेको थियो।
त्यही ठाउँमा आपाको जन्मदिन मनाइयो। बिस्कुट धुलो पारे। त्यसमा कफी मिसाएर लेदो बनाए। जमेपछि केक तयार भयो।
यो यात्राको एउटा संयोग कस्तो भने, चारमध्ये तीनजनाको जन्मदिन पर्‍यो। दावाको जन्मदिन ११ मार्चमा थियो। हिँडेको ५७ औं दिनमा। उनीहरू कास्कीको पासगाउँ पुगेका थिए। समीरको ८१ औं दिनमा जुम्लाको काईगाउँमा मनाइयो। उनलाई त हेक्का पनि थिएन। त्यसै दिन समीरकी आमाले दावाकी 'गर्लफ्रेन्ड' लाई फोन गरेर बताएकी रहिछन्। दावाकी गर्लफ्रेन्डले फोन गरेर खबर दिइन्। उनीहरूले गोप्य रूपमा सल्लाह गरेर जन्मदिन मनाउने निर्णय गरे। एकैचोटि केक निकालेर 'ह्यापी बर्थ डे टु यु' भन्दा समीर चिच्याई-चिच्याई 'ह्यापी बर्थ डे टु यु' भनिरहेका थिए। उनलाई आफ्नै जन्मदिन हो भन्ने थाहा थिएन। सोधेका थिए, 'जन्मदिन चाहिँ कसको हो?'
तीनजना सहयात्रीको जन्मदिन परेपछि सौरभले प्रस्ताव राखे, 'मेरो पनि आधा वर्षको जन्मदिन मनाउनुपर्‍यो।'
सबैले हाँसो फैलाए ।

पूर्वी सीमा
लेसेखर्कपछि उनीहरूको गन्तव्य बन्यो, चेराम। त्यहाँ पहिले गाउँ थिएन, गोठ मात्रै थियो। पर्यटक आउन थालेपछि होटलहरू बनेका छन्। २० किलोमिटर पर सिक्किमको गाउँ पर्छ। उनीहरू पूर्वमा खाङ्ला पाससम्म पुगे। ठ्याक्कै बोर्डरचाहिँ पुग्न सकेनन्। हिउँ धेरै परेको थियो। दुई किलोमिटरजति वरैबाट फर्केर चेराममै बास बस्न आइपुगे।
चेरामबाट चार हजार मिटर उचाइको सेलेले पास नाघेर घुन्सा आए। घुन्सामा केही वर्षअघि जहाज दुर्घटनामा निधन भएका संरक्षणकर्मीहरूलाई समर्पित गर्दै उनीहरूले ग्रेट हिमालयन ट्रेलको औपचारिक यात्रा सुरु गरे।

दुइटा गाउँ, एउटै बासिन्दा
'उच्च हिमाली क्षेत्रका समुदाय अझै पनि अर्धघुमन्ते जीवनशैली बाँचिरहेका रहेछन्,' दावाले आफ्नो अनुभव सुनाए।
उनले घुन्सालगायत अरू केही ठाउँको उदाहरण दिए। चिसो बढ्दै गएपछि गाउँलेहरू सल्लाह गरेर एक वा दुई महिनालाई गाउँ छाडेर एकैचोटि तल झर्छन्। गाउँ पूरै खाली हुन्छ। चिसो अवधिभर बस्न तल अर्को गाउँ पनि बसालेका छन्। गर्मी बढ्दै गएपछि फेरि मास्तिर लाग्छन्। दुइटा गाउँ, एउटै बासिन्दा।
पूर्वमा मात्र होइन, पश्चिम डोल्पामा पनि उनीहरूले यस्तै देखे। यही जीवनशैलीका कारण कति ठाउँ त कस्तो थियो भने, नक्सामा छ, साँच्चिकै छैन। जस्तो, ढोरपाटनको ठाकुर। नक्सामा खोलाछेउ ठूलो गाउँ देखाइएको थियो। त्यहाँ गोठबाहेक केही थिएन। त्यो होइन होला भनेर उनीहरू हिँडेको हिँड्यै गरे। जंगलभित्र पुगेपछि थाहा भो, ठाकुर भन्ने ठाउँ त्यही रहेछ। त्यहाँका सबै बासिन्दा अस्थायी रूपमा तल झरेका रहेछन्।
'यो अलिकति अनौठो लाग्यो हामीलाई, गाँवै उठेर हिँड्ने यस्तो जीवनशैलीको खासै चर्चा भएको छैन,' दावाले भने, 'अरू देशमा यति व्यवस्थित ढंगले बसाइँसराइ गरेको देखिँदैन।'
यसरी सिंगै गाउँ नयाँ ठाउँमा बसोबास गर्न जाँदा पनि सामाजिक सद्भाव खल्बलिएको उनीहरूले महसुस गरेनन्। 'यो भोटे हो, यो तलको मान्छे हो भन्ने भेदै छैन। यिनीहरूले नुन ल्याउँछन्, यिनीहरूले चामल दिन्छन् भन्ने सोच अहिले पनि छ,' दावाले थपे, 'काठमाडौं यो सम्बन्ध टुक्र्याउन खोज्छ, जब कि स्थानीय स्तरमा उनीहरू मिलेरै बसेका छन्।'
यात्राभरिमा जातीयता र क्षेत्रीयताका विवाद काठमाडौंमा मात्र महसुस भएको उनीहरूले सुनाए। 'सदरमुकाममा केही व्यक्ति जातीय संगठनमा लागेका छन्, तर त्यो कार्यक्रम अवधिभर सीमित छ। कार्यक्रम सकिएपछि फेरि समुदायभित्र घुलमिल भइहाल्छ,' सौरभले भने, 'गाउँतिर यस्तो भेद छिरेकै छैन।'
पूर्वबाट पश्चिम
घुन्साबाट आपा टोली ग्याब्ला, लेलेप, मित्लुङ, दोभान, गुफा पोखरी हुँदै पश्चिमै पश्चिम लाग्यो। सबभन्दा लामो समय ताप्लेजुङमा बिताए। त्यहाँ पूरै सर्किट गरेका थिए। घुन्साबाट तल झर्दा भुइँचालोको असरले ३१ ठाउँमा पहिरो गएको उनीहरूले देखे।
२५ औं दिन फेबु्रअरी ८ मा पैयाँबाट लुक्लाको यात्रा सबभन्दा गाह्रो भयो। बाटोमा उनीहरू ठूलो आँधीबेहरीको घेरामा परे। आपाको झोलाको खोलै उडाइदियो। 'अहिलेसम्म त्यस्तो आँधी देखेकै थिइनँ,' कम बोल्ने आपाले भने, 'सयौं रुख ढलेका थिए, दर्जनौं रुख त बाटोमा हाम्रै अगाडि ढले। कुइरेहरू आत्तिँदै तल झरिरहेका थिए। मालसामान लान नसकेर बजारै बन्द भयो।'
दोलखासम्म आइपुग्दा पनि आँधीबेहरीको असर देखिन्थ्यो। घरको छाना उडाएको। धेरैको दैनिक जीवनयापनै प्रभावित भएको। बाटा भत्किएका। उनीहरू तासिलाप्सा पास हुँदै दोलखा छिरेका थिए। यात्राको सबभन्दा उचाइ ५८०० मिटरको भाग त्यही तासिलाप्सा हो। तासिलाप्साकै छेउमा ६ हजार मिटर अग्लो हिमाल छ। उनीहरूले चढ्ने सोच बनाएका थिए। खराब मौसमले सकेनन्।
सिन्धुपाल्चोकको बाह्रबीसेमा उनीहरूले चार दिन बिताए। प्रशस्त आराम मिल्यो। त्यहाँबाट मोटर चढेर तातोपानी पनि गए। ४१ औं दिन फेरि बाह्रबीसे आएर जहाँ यात्रा रोकिएको थियो, त्यहीँबाट फेरि सुरु गरे। त्यसपछि जलवीरे, गोब्रे, पोखरी भन्ज्याङ हुँदै ग्याल्थुम पुगे। ग्याल्थुङमा गिनिज बुक अफ वर्ल्ड रेकडर््सका प्रमुख कार्यकारी आपालाई ट्रेलमै भेटेर प्रमाणपत्र दिन आएका थिए। यात्राकै क्रममा उनले आपालाई भेट्ने खबर पुर्‍याएपछि ग्याल्थुमलाई मुकाम बनाइएको थियो।
'पूर्वी भागमा ट्रेलभरिकै सबभन्दा पिछडिएको ठाउँ सिन्धुपाल्चोक लाग्यो,' दावाले सुनाए।
बाह्रबीसे आसपास सबभन्दा अचम्म त के लाग्यो भने, साना केटीहरू सबै स्कुल जाने, केटाहरू चाहिँ पसलबाहिर क्यारम खेलेर बसिरहने। एक हातले तास समातेर अर्को हातले क्यारम खेलेका पनि भेटिए। जो पनि स्कुल ड्रेसमा देखिन्थे, केटीहरू नै हुन्थे। केटाहरूमा फिल्मको प्रभाव अलि बढी नै थियो। ठाडो स्वभाव थियो। बोलीचाली पनि रुखो। सानोसानो कुरामा निहुँ खोजेझैं गर्ने। एकचोटि टोलीका सदस्यहरू खाना खाइरहेका थिए। पहेँलो दाल थियो। दुईजना स्थानीय युवा आएर आपसमा कुरा गरे, 'ए तेल्ले के खाएको, पहेँलो दाल हो? पहेँलो दाल हो कि होइन, सोध सोध।'
'यो युवा अवस्थामा देखिने सामान्य व्यवहार हुनसक्छ,' दावाले भने, 'हाम्रो गाउँमा यो नयाँ मान्छे को आयो? यो जो भए पनि गाउँको त म पनि कोही हुँ नि भन्ने उनीहरूले जताउन खोजेका हुनसक्छन्।'
ग्याल्थुमबाट उनीहरू नुवाकोट छिरे। समुद्रटारमा बसाइ भयो। त्यसपछि बेत्रावतीमा दुई दिन बिताए। त्यहाँ खुब स्वादिलो माछा पाइन्छ भन्ने सुनेका थिए। खान भने पाएनन्। होटलवालाले टोलीका सबैलाई पुग्नेगरी माछा बन्दोबस्त गर्नै सकेनन्।
बेत्रावतीबाट उनीहरू मेघाङ, चौतारा हुँदै आरुघाट छिरे। बाह्रबीसेदेखि गोरखाको आरुघाटसम्मको भाग पर्यटन हिसाबले त्यति राम्रो नभएको उनीहरू बताउँछन्। 'हिमाली सौन्दर्यमा रुचि राख्नेहरूका लागि यो ठाउँ त्यति राम्रो छैन,' दावाले भने, 'सकारात्मक पक्ष के भने, यहाँ धेरै ठाउँमा ट्र्याक खुलेको छ। त्यहाँ गाडी चल्छ कि चल्दैन थाहा छैन, तर माउन्टेन बाइकिङका लागि एकदमै राम्रो ठाउँ हो।'
दावा र समीरले पछि छुट्टै माउन्टेन बाइकिङमा जाने र माछाको स्वाद चाख्ने योजना बनाएका छन्। काठमाडौंबाट नजिक भएकाले यो क्षेत्रलाई माउन्टेन बाइकिङ वा मोटर बाइकिङ गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने सम्भावना दावाले देखेका छन्।
आरुघाटबाट उनीहरू गोरखा दरबारको ठ्याक्कै मुनि बास बसे, क्याम्पिङ गरेर। भोलिपल्ट आधा घन्टा हिँडेर गोरखा बजार झरे। बजारमा दुई रात बिताए। त्यहाँबाट आँपपिपल आए र पौंदी, बेसीसहर हुँदै घलेगाउँ पुगे। घलेगाउँ 'होमस्टे' का लागि चर्चित ठाउँ हो। त्यहाँ उनीहरू प्रेम घलेको घरमा बास बस्न पुगे। प्रेम त्यही व्यक्ति हुन्, जसले यो ठाउँमा होमस्टे सुरुवात गरेका थिए। 'सुरुमा त हामीलाई थाहा थिएन, प्रेमजीकी श्रीमती हुनुहुँदो रहेछ, उहाँसँग कुरा गर्दै जाँदा थाहा भयो,' सौरभले भने। प्रेम भने बेसीसहर गएकाले भेटिएनन्।
घलेगाउँबाट पासगाउँ पुगेपछि दावाको जन्मदिन बनाएर उनीहरू याङ्जाकोट हुँदै कास्कीको सिक्लेस छिरे। सिक्लेसबाट घलेखर्क पुग्दा अर्को रमाइलो दृश्य देखियो। त्यहाँको अचम्म के भने, ठाउँको नामचाहिँ घलेखर्क, तर बस्नेहरू सबै तामाङ। जब कि वरपर अरू ठाउँमा सबै घले-गुरुङहरूकै बस्ती थियो।
भोलिपल्ट लवाङ भन्ने ठाउँमा मुसलधारे पानीले बेस्कन चुट्यो। माथि उक्लनै सकेनन्। त्यसको फाइदा भनेको, भोलिपल्ट बिहान मौसम सफा भएपछि हातले टपक्क टिपुँझैं लाग्ने माछापुच्छ्रे छर्लंग हेर्न पाए।
पश्चिमको यो क्षेत्रमा नयाँ पुस्ताले परम्परागत पेसा छाड्दै गएको अनुभव भयो। बाबुबाजेले लज चलाएका थिए, तर छोराछोरी त्यो पेसामा छैनन्। लजका साहुनी बुढी भइसकी, त्यसलाई उसकी छोरी वा बुहारीले प्रतिस्थापन गरेका छैनन्।
शिर, भीर र तीरको अर्को फरक यहाँ पुगेपछि उनीहरूले चाल पाए। शिरमा बस्ने शेर्पाहरूलाई जति उचाइ कम हुँदै गयो, उति हिँड्न गाह्रो। आपा र अरू शेर्पाहरूलाई त्यस्तै भयो हिँड्न गाह्रो। दुई हजार मिटर नाघ्नेबित्तिकै उनीहरूको गति स्वतः बढिहाल्थ्यो। जब कि भीर र तीरका सौरभ र समीर कम उचाइका ठाउँतिर बढी लम्किन्थे।
कर्णाली तीरमा एउटा यस्तो ठाउँ भेटे, जहाँ एउटै मान्छेका पाँचवटी श्रीमती चिप्लिएर लडेका रहेछन्। एकातिर भीर, तल्तिर खोला। क्याराभान फिल्ममा खच्चडहरूलाई हिँड्न अप्ठ्यारा बाटो देखाइएको थियो, त्यहाँ मान्छेलाई हिँड्न सकस।
लैंगिक विभेदको समस्या पश्चिममा अलि बढी नै महसुस गरे उनीहरूले। सरसफाइको समस्या पनि उस्तै। कति ठाउँमा त बच्चाहरूको मुखभरि झिँगै झिँगा। आमालाई कुनै समस्या थिएन। एउटा पसलको टेबल झिँगाले ढाकेर कालै देखिन्थ्यो। उनीहरूले जिस्क्याए, 'साहुजीले त झिँगाको खेती गर्नुभएको छ कि क्या हो?' साहुजीलाई मतबल थिएन।
राराको छेउमा २ सय घर क्षेत्रीहरूको गाउँ थियो- ज्यारे। त्यहाँ उनीहरू घरको छतमा टेन्ट गाडेर बसे। किनकि, तल भुइँभरि फोहोर थुप्रिएकाले बस्ने ठाउँ थिएन। खेतमा गहुँ रोपिएको थियो। मान्छेहरू एउटा घरबाट अर्कोमा जानुपरे छानैछाना हिँड्थे। लिस्नो बनाएका थिए उनीहरूले, यताउति गर्न। भुइँमा भने खच्चड, सुँगुर पालिएको थियो। फोहोर फालिएको थियो।
त्यो पूरै गाउँमा दुइटा मात्रै शौचालय थियो। एउटा कुनै संस्थाले बनाएको, अर्को पर्यटकलाई दुःख नहोस् भनेर गाउँलेहरूले आफैं बनाएका। 'पर्यटकलाई शौचालय चाहिन्छ भन्ने ज्ञान भएका गाउँलेहरूमा आफैं पनि शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेत छैन,' दावाले भने, 'यो कुरा उनीहरूलाई सिकाउन जरुरी छ।'
म्याग्दीबाट पश्चिम लागेपछि अर्कै खालको समाज देखे। अलि पिछडिएको। तर, जब डोल्पा छिरे, त्यहाँको समाज बेग्लै थियो। बाग्लुङ, रुकुमभन्दा पनि त्यो भाग बढी सम्पन्न भएको उनीहरूले महसुस गरे। यार्साको कारण होला भन्ने उनीहरूलाई लागेको छ।
'पश्चिम भन्नेबित्तिकै गरिब, भोकमरी लाग्ने ठाउँको छवि आउँछ। त्यो पूर्ण यथार्थ होइन रहेछ,' उनीहरूले भने, 'केही ठाउँमा यस्ता समस्या छन्, तर सबै पश्चिममा यही समस्या छ भनेर बुझ्नु गलत हो।'
अन्त्य
वैशाख १०, २०६९
आइतबार।
दार्चुलामा महाकाली नदीको पुल यात्राको अन्तिम बिन्दु हो। केही भारतपट्टि पर्ने धार्चुला पनि हेर्न गए। यी चारजना भने गएनन्। नेपालबाट थालेको यात्रा नेपालमै सक्काउने भनेर उनीहरू त्यहाँबाट कच्ची बाटोमा ढाड भाँच्चिनेगरी बस चढेर धनगढी आए।
अनि धनगढीबाट जहाज चढेर काठमाडौं।
यात्रा त सकियो। अब अनुभव बाँड्न बाँकी छ। बुधबार समिट होटलमा हामीसँग दुई घन्टा गफिनुअघि पनि उनीहरु चारैजना पत्रकार सम्मेलनमा व्यस्त थिए। बोल्न लजाउने आपाले लिखित भाषण पनि गरे।
'तपाईंहरू त यत्रो टोलीमा हिँड्नुभयो, के एक्लैदुक्लै हिँड्न सम्भव छ?'
हाम्रो प्रश्नमा दावाले भने, 'किन नहुनु, आत्मबल चाहिँ हुनुपर्छ।' जति हिँड्दै गयो, बल उति बढ्ने उनको अनुभव रह्यो। सौरभले भने पूरा ट्रेललाई दुई/तीन भागमा बाँडेर यात्रा गर्न सुझाए।
अनि खर्च?
'त्यस्तै दिनको औसत १५ सय राख्नुस् न।'
छुट्टिनेबेला हामीले भन्यौं- 'अब एकचोटि तपाईंहरूले दाह्रीजुँगा काटेपछि फेरि भेटौं है, नभए झ्वाट्ट देखे चिन्न मुस्किल पर्छ।'
Source: NagarikNews

विमानस्थल ग्राउन्ड ह्यान्डलिङमा अर्को कम्पनी थपिने

सुशील भट्टराई, काठमाडौं, वैशाख १९ -नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको 'ग्राउन्ड ह्यान्डलिङ' गर्न अर्को नयाँ कम्पनी ल्याउने भएको छ। हाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ। 

निगमको काम गुणस्तरीय नभएको, यात्रुका सामान (ब्यागेज) चोरी भएको जस्ता आरोपमा प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ गर्न निगमको प्रतिस्पर्धी कम्पनी ल्याउन लागेको हो। 
'निगमको काम खोस्न लागेको होइन,' प्राधिकरणका नायब महानिर्देशक तथा विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले सोमबार नागरिकसँग भने, 'निगमले पनि पाउँछ र प्रतिस्पर्धा कम्पनी थप्न लागेका हौं।'
नयाँ कम्पनी थपिएपछि ग्राउन्ड ह्यान्डलिङ शुल्क सस्तो हुने र गुणस्तरीय सेवा पाइने प्राधिकरणले दाबी गरेको छ। नयाँ कम्पनी थप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने छ। प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय हो।
'ग्राउन्ड ह्यान्डलिङमा निगमको एकाधिकार भएकाले अन्य देशका विमानस्थलका दाँजोमा यहाँ शुल्क महँगो छ, यही कारण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आउन हिच्किचाइरहेका छन्,' सुमनले भने, 'त्यही भएर सस्तो र गुणस्तरीय सेवा दिन नयाँ कम्पनी थप्ने तयारी भएको हो।'
प्राधिकरण सञ्चालक समितिले सैद्धान्तिक सहमति दिनासाथ नयाँ कम्पनी थप्ने प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए। नौ दिनअघि बसेको सञ्चालक समितिको बैठकमा यसबारे छलफल भए पनि निष्कर्ष निक्लिएको थिएन।
समितिले यसबारे निर्णय गरेपछि टेन्डर डकुमेन्ट तयार हुने र ४५ दिनको सार्वजनिक सूचना जारी गर्ने उनले बताए। यसका लागि करिब एक वर्ष लाग्ने प्राधिकरणको अनुमान छ। ग्राउन्ड ह्यान्डलिङ गर्ने कम्पनीले ५० करोड रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
'निगमको ग्राउन्ड ह्यान्डलिङको गुणस्तर राम्रो छैन, यात्रुका सामान चोरी हुन्छ तर दोषजति विमानस्थलमाथि आउँछ,' सुमनले भने, 'नयाँ कम्पनी ल्याउन सके यस्ता गतिविधि रोकिन्छन्।'
प्राधिकरणले सन् २००८ मा पाँच वर्षे सम्झौता गरी ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमलाई दिएको थियो। सम्झौताअनुसार यो कामबाट वार्षिक हुने आम्दानीको १० प्रतिशत हिस्सा निगमले प्राधिकरणलाई दिनुपर्छ। 'तर, हामीले दुई वर्षदेखि मात्र पैसा पाउन थालेका छौं,' उनले भने। त्यसअघि निगमले नै सबै आम्दानी लिन्थ्यो। 
त्रिभवुन विमानस्थलमा थाई एयरवेज र एयर इन्डियाले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्छन्। त्यसबाहेक यहाँ आउने २६ अन्तर्राष्ट्रिय वायुसेवाको ग्राउन्ड ह्यान्डलिङ निगमले गर्दै आएको छ। निगमले यो कामबाट वार्षिक डेढ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ।
हवाई नीति तथा प्राधिकरण ऐनमा ग्राउन्ड ह्यान्डलिङका लागि कम्तीमा दुई कम्पनी हुनुपर्ने र राष्ट्रिय ध्वजावाहक हुनैपर्छ भन्ने उल्लेख नरहेको सुमनले बताए। उनका अनुसार कतारको दोहामा त्यहाँको राष्ट्रिय ध्वजावाहक कतार एयरवेज, थाइल्यान्डमा थाई एयरवेज र भारतमा एयर इन्डियाले ग्राउन्ड ह्यान्डलिङ नगर्ने उनले जानकारी दिए। नयाँ कम्पनी आए थाई र एयर इन्डियाले पनि यहाँको ग्राउन्ड ह्यान्डलिङ छाड्नुपर्ने उनको भनाइ छ।
यता निगमले भने प्राधिकरणको तयारीप्रति आपत्ति जनाएको छ। एउटा सामान्य घटनालाई 'इस्यु' बनाएर प्राधिकरणले यस्तो तयारी गरेको आरोप निगम अधिकारीहरूले लगाएका छन्। ६ दिनअघि गल्फ एयरको एक यात्रुको ब्यागेज कतार एयरवेजबाट गएको विषयमा कतारले 'निगम ग्राउन्ड ह्यान्डलिङका लागि अयोग्य रहेको' भन्दै प्राधिकरण, निगम र विमानस्थलका उच्च अधिकारीलाई इमेल गरेपछि यो विवाद सुरु भएको थियो।
'कर्मचारी झुक्किएर यस्तो घटना भएको हो,' निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले भने, 'यो सामान्य विषय हो।'
प्राधिकरणसँग सम्झौता गरेदेखि नै ग्राउन्ड ह्यान्डलिङ आम्दानीको १० प्रतिशत हिस्सा वर्षैपिच्छे बुझाइरहेको उनले बताए। शुल्क महँगो नभएको दाबी उनले गरे। ग्राउन्ड ह्यान्डलिङका सामान आयात गर्दा भन्सार तिर्नुपर्ने, इन्धन र सामान महँगो हुँदाहुँदै पनि शुल्क सस्तो लिइएको उनको भनाइ छ।
'विमानस्थलमा २८ अन्तर्राष्ट्रिय कम्पनीका जहाज आउँछन्, कुनैले दिनमै चार उडान गर्छन् अनि सबैको उडान तालिका पनि केही समय फरक छ,' केसीले भने, 'विमानस्थल चौबीसै घन्टा चलाएर उडान-अवतरण समानुपातिक ढंगमा बाँडे समस्या समाधान हुन्छ, होइन भने निगमको ग्राउन्ड ह्यान्डलिङ गुणस्तरीय छैन भन्ने 'गीत' मात्र गाएर हिँड्नुको अर्थ छैन।'
उनका अनुसार विमानस्थलमा अध्यागमन, सुरक्षा जाँच र यात्रु बस्ने क्षेत्रमा भिड बढी हुने, ब्यागेज बस्ने कन्भेयर बेल्ट बिग्रेका, शौचालयमा पानी नहुने, एक्सरे मेसिन र चेक इन काउन्टर अपर्याप्त लगायत समस्या छन्। 'यस्तै कारण निगमले चाहेर पनि ग्राउन्ड ह्यान्डलिङमा सन्तोषजनक सेवा दिन नसकेको हो,' उनले भने, ' हाम्रै सामान राख्न ठाउँ अभाव छ, अर्को कम्पनी ल्याए उसको सामान कहाँ राख्ने?'

प्राधिकरण-निगम कर्मचारी आन्दोलित
यसैबीच प्राधिकरण कर्मचारीको आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्राधिकरण ऐनअनुसार आवश्यक पूर्वाधार तयार गरी आफ्नै संस्थालाई ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न अपिल गरेको छ। यसो नगरे संगठनले विरोधका कार्यक्रम घोषणा गर्ने जनाएको छ।
यता निगम कर्मचारीसम्बद्ध संघ, युनियन र संगठनले पनि निगमको अस्तित्व जोगाइरहेको ग्राउन्ड ह्यान्डलिङमा अर्को कम्पनी ल्याइए डटेर सामना गर्ने जनाएका छन्।
Source: Nagariknews

Tuesday, April 24, 2012

गाउँ साँच्चै बदलिएछ

-आपा शेर्पा

श्याम भट्ट, काठमाडौं, वैशाख १३ - एक्काइस पटक सर्वोच्च शिखर चुम्दा आपा शेर्पालाई नेपाल भनेकै सगरमाथा, नाम्चे, लुक्ला र काठमाडौंको सेरोफेरो हो जस्तो लागेको थियो। संसारकै लामो पदयात्रा मार्ग 'द ग्रेट हिमालयन ट्रेल' अन्तर्गत हिमाली र पहाडी बाटो हुँदै १ हजार ५ सय ५५ किलोमिटर नापेपछि भने कीर्तिमानी आरोही आपाको सोच बदलिएको छ । 
'देश त हिमालमा रहेछ, पहाड र तराईमा रहेछ, जनता चेतनशील रहेछन्, विकासको बाटोमा अघि बढिरहेका रहेछन्,' मेचीदेखि महाकालीसम्म फैलिएको उक्त पदयात्रा पूरा गरेपछि मंगलबार नागरिकसँग कुरा गर्दै आपाले भने।
तीन महिनाअघि यात्रा थालेका आपा र सहयात्री दावाले बाटोभरि कुनै पनि बस्तीमा अन्जान हुनुपरेको, अँध्यारोमा रात काट्नुपरेको अनुभव गरेनन्। उनीहरूले देखे, देशले धिमै गतिमा भए पनि कोल्टे फेर्दै रहेछ। हिमाल, पहाड र तराईका हरेक क्षेत्रमा विकासका कुनै न कुनै राष्ट्रिय स्तरका योजना सञ्चालनमा रहेछन्। कहीँ पानीबाट बिजुली बत्ती निकालिँदैछ। कहीँ बाटो बन्दैछ। कहीँ कुलो खनिँदैछ। गाउँगाउँमा स्कुलहरू खुलेका छन्, जहाँ काँधमा झोला भिरेका साना नानीहरू स्कुले ड्रेसमा सजिएर ग्वारग्वार्ती दौडिरहेका भेटिन्छन्। कति स्कुल त कलेज र प्लस टुमा रूपान्तरण भइसके। एसएलसी दिएपछि अगाडि पढ्न काठमाडौं नै धाउनुपर्ने बाध्यता विस्तारै मेटिँदैछ।
'हामी सहरमा अँँध्यारोमा बस्न बाध्य छौं, सोच्छौं गाउँ झन् कति अन्धकार होला, तर स्थिति उल्टो रहेछ,' शेर्पाद्वय एकै स्वरमा भन्छन्, 'सहर अँध्यारा भए पनि गाउँ उज्याला छन्, प्रत्येक गाउँमा बिजुली छ, नभए सोलार र बायोऊर्जा छ। सञ्चार सुविधा नभएको गाउँ त देख्दै देखेनौं, कतिसम्म भने काठमाडौंमा बसेर अतिविकट भन्ठानेका गाउँबाट पनि हामीले फेसबुक र टि्वटरमा 'स्ट्याटस अपडेट' गर्‍यौं। एफएममा भएको प्रगतिले देशको हालचालबाट कहिल्यै अनभिज्ञ रहेनौं।'
दोलखामा सम्पूर्ण नेपाली लगानीमा माथिल्लो तामाकोशी जलविद्युत परियोजना निर्माण भइरहेको देख्दा गर्वले छाती फुलेको उनीहरू बताउँछन्। 'आफ्नो भनेको आफ्नै हुन्छ, दोलखाबासीहरू त्यो परियोजनाबारे हामीलाई यस्तरी सुनाउँदै थिए, मानौं आफ्नै घर घुमाउँदैछन्,' दावाले भने।
'देशका अरू ठाउँमा पनि यस्तै आयोजना कहीँ आधा बनिसकेका छन्, कहीँ बन्ने तर्खरमा छन्,' आपाले भने, 'सबैले ती परियोजनालाई आफ्नै ठानेको मैले पाएँ।'
काठमाडौंले 'मोफसल' भनी अर्कै दर्जामा राखेर हेर्ने जिल्लाहरूमा सुशासन र पारदर्शिताको चेतना पनि काठमाडौंमा भन्दा एक इन्च कम नभएको उनीहरूले अनुभव गरे। त्यही चेतनाको फल हो, धेरै गाउँमा स्थानीय विकास कार्यक्रममा गाउँलेहरू दत्तचित्त भएर सरिक रहेको आपाले बताए। 'तमोरदेखि चमेलिया हुँदै महाकालीसम्म भइरहेको विकास देख्दा केही वर्षपछि नेपाल र नेपालीको अवस्था परिवर्तन हुने निश्चित छ,' आपाले भने।
'नेपाल साँच्चिकै निर्माण भइरहेको छ, हामी कसैले चिन्ता नलिए हुन्छ, हाम्रो भविष्य सुनौलो छ,' शेर्पाद्वय भन्छन्।
आपाले यात्रा अवधिभर नेपालको राष्ट्रिय झन्डा बोकेर हिँडेका थिए। बाटोमा साना नानीहरू उनले बोकेको झन्डा देखेर रमाउँथे। 'नेपालको झन्डा, नेपालको झन्डा' भनेर कराउँदै धेरै परसम्म पछ्याउँदै आउँथे।
'केटाकेटीको झन्डाप्रेम देखेर म धेरै खुसी भएँ,' उनले भने, 'यो यात्रामा मैले देश बु‰ने, देश चिन्ने मौका पाएँ, मलाई आफ्नो देशप्रति अझ बढी माया र गर्व लागेको छ।' देशकै लागि पटकपटक सगरमाथा चढेको बताउने आपा यो यात्रा पनि देशकै लागि समर्पित रहेको बताउँछन्। 
मंगलबार त्यही झन्डा आपाले राष्ट्रपति रामवरण यादवलाई बुझाएर यात्रा सकिएको घोषणा गरेका छन्। यही झन्डा राष्ट्रपतिको हातबाट बुझेर आपाले यात्रा सुरु गरेका थिए।
आपाको समूहले बुधबार यात्रा क्रममा संगालेका सडक, सञ्चार र ऊर्जासँग सम्बन्धित आसलाग्दा अनुभव सञ्चारकर्मीहरूसँग साट्दै छन्। विद्युत विकास विभागका अनुसार आगामी पाँच वर्षभित्र ८ सय मेगावाट विद्युत उत्पादन हुनेगरी विभिन्न आयोजना निर्माणाधीन छन्। नेपालले सन् २०१५ सम्म सबैलाई साक्षर बनाउने सहश्राब्दी विकास लक्ष्य पछ्याउन खोज्दैछ। यही क्रममा शिक्षा क्षेत्र चालु वर्ष ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सडक विभागको योजना महाशाखा प्रमुख प्रभात झाका अनुसार चालु वर्ष देशका ६ सय १० किलोमिटर सडकको नयाँ ट्र्याक खोल्ने, ३ सय ९६ किमी कालोपत्रे गर्ने र ३ सय ३५ किमी ग्राभेल गर्ने काम भइरहेका छन्।
Aakpa Sherpa

'यो यात्राभरि थुप्रै मान्छे भेट्यौं, थुप्रै कुराहरू सुन्यौं, सबैले सम्भावनाको आस देखाएका छन्, सबैमा विश्वास भरिएको छ, म त्यही सम्भावना र विश्वासको सन्देश बाँड्न चाहन्छौं,' आपाले भने, 'यति सुन्दर देश हुँदाहुँदै काठमाडौंमा नेताहरू किन झगडा गरेर बसेका होलान् है?'

WEDNESDAY, 25 APRIL 2012 नागरिक

निगमलाई जहाज किन्न बाटो खुल्यो


काठमाडौ, वैशाख १३ -  
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका अधिकारी विरुद्धको आर्थिक अनियमितता सम्बन्धी मुद्दामा भ्रष्टाचार नभएको ठहर गरेपछि जहाज खरिद प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ । साढे २ वर्ष अघिको जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका ६ अधिकारीविरुद्ध सर्वोच्चमा मुद्दा हालेपछि खरिद प्रक्रिया अवरुद्ध थियो । 
२०६६ कात्तिकमा एयरबस कम्पनीबाट जहाज किन्न निगमले बैना दिएपछि कमिसनको आशंकामा अख्तियारले छानबिन थालेको थियो । आयोगले हालेको मुद्दामा विशेष अदालतले समेत जहाज खरिदका लागि पठाएको बैना रकम फिर्ता आएपछि भ्रष्टाचार नभएको भन्दै सबैलाई सफाइ दिएको थियो । उक्त मुद्दामा विशेष अदालतले सफाइ दिएपछि आयोग सर्वोच्च गएको थियो । सर्वोच्चले विशेषकै फैसलालाई मंगलबार सदर गरेको छ । 
NAC Building , New-Road, Kathamndu
विशेष अदालतको निर्णयपछि अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज ल्याउने तयारी गरिए पनि अख्तियार सचिव भगवती काफ्लेले सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले प्रक्रिया सुरु गर्न नमिल्ने बताउँदै आएका थिए । उनले सार्वजनिक लेखा समितिमा समेत उक्त धारणा राखेका थिए ।  
'सर्वोच्चको निर्णयपछि हामी सबैले न्याय पायौं,' निगम नायब महाप्रबन्धक राजु केसीले भने, 'अब नयाँ जहाज ल्याउने प्रक्रिया थाल्न पनि बाटो खुल्यो ।' केसी लगायत पूर्व कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, नायब महाप्रबन्धक गणेश ठाकुर, महानिर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, निर्देशकमयुर श्रेष्ठ, उपनिर्देशक केशवराज शर्मा यो मुद्दामा मुछिएका थिए । 
निगमको जहाज खरिद गर्न सञ्चालक समितिको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै एयरबसलाई बैना पठाएको रकम ५ करोड ७३ लाख ७५ हजार रुपैयाँलाई आयोगले भ्रष्टाचार ठहर गरेको थियो । स्वीकृति बेगर रकम पठाउनुलाई प्रमुख कसुर ठहर गर्दै निगमका अधिकारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५ को (झ) अनुसार सजाय गर्न अख्तियारले अदालतसँग माग गरेको थियो । साथै सरकारी स्वामित्वको संस्था भएकाले दफा १७ र २४ अनुसार थप सजायको पनि माग गरिएको थियो ।  
जहाज किन्नका लागि पुरानै पक्रिया ब्युँताउने वा नयाँ प्रक्रिया थाल्ने बारे निगम सञ्चालक समितिले निर्णय गर्ने अधिकारीहरू बताउँछन् । 'सर्वोच्चको फैसला पछि निगम सञ्चालक समितिद्वारा नयाँ जहाज कुन प्रक्रिया (पुरानो या नयाँ) बाट ल्याउने त्यसको निर्णय गर्न सजिलो हुन्छ,' केसीले भने । 
यसअघि निगम सञ्चालक समितिले २०६६ कात्तिक १७ गते जहाज किन्न सैद्धान्तिक सहमति दिएको थियो । त्यसपछि समितिले एयरबससँग सानो आकारको जहाज ४ करोड १२ लाख ८९ हजार डलर र ठूलो आकारको ९ करोड २८ लाख ४५ हजार डलरमा नबढाई किन्न समेत अनुमति दिएको थियो । समितिले उत्पादकसँग वार्ता गर्न र सरकारलाई जमानतका लागि ताकेता गर्न अख्तियारी दिए पनि वित्तीय प्रबन्ध नभई बैना रकम पठाउनुको पछाडि कमिसनको खेल भएको आशंका त्यतिबेला गरिएको थियो । 
सर्वोच्चको निर्णयले निगमको साथसाथै मुद्दामा मुछिएका ६ जनाको सामाजिक मर्यादालाई समेत जोगाएको नायब महाप्रबन्धक ठाकुरले बताए । 'अख्तियारको मुद्दाका कारण समाजमा भ्रष्टाचारी भनेर गरिने टीकाटिप्पणी बन्द हुने भएको छ,' उनले भने ।

प्रकाशित मिति: २०६९ वैशाख १३
Kantipur daily

Thursday, April 19, 2012

बुद्धएयरको ह्यांगर उद्घाटन


काठमाडौं, ६ वैशाख 
  निजी वायुसेवा कम्पनी बुद्धएयरले निर्माण गरेको अन्तर्राष्ट्रियस्तरको विमान ह्यांगरको औपचारिक उद्घाटन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको सो ह्यांगर बुधबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले उद्घाटन गरेका हुन् । ह्यांगरमा बोइङ तथा एयरबस विमान समेतले सेवा लिन सक्ने क्षमता रहेको बुद्धएयरले जनाएको छ । 
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को आर्थिक सहयोगमा कम्पनिले ह्यांगगर निर्माण गरेको हो । २५ लाख अमेरिकी डलर अर्थात् करिब २० करोड ५० लाख रुपैया“को लागतमा निर्माण गरिएको ह्यांगरमा बोइङ ७३७ तथा एयरबस ३२० जहाजले मेन्टिनेन्स सेवा लिन सक्ने क्षमता छ । अन्तर्राष्ट्रियस्तरको अग्नि नियन्त्रण प्रणाली, वर्कशप, टेक्निकल स्टोर, बेस मेन्टिनेन्सजस्ता सुविधा रहेको यस्तो ह्यांगर दक्षिण एसियाली मुलुकमै पनि कम रहेको कम्पनीको दाबी छ । ३७ हजार वर्गफिटमा फैलिएको ह्यांगगरमा सुरक्षित उडान सञ्चालनका लागि अन्तर्राष्ट्रिय स्तरका करिब ७५ करोड रुपैया“ बराबरका पार्टपुर्जा भण्डारण गरिएको कम्पनीले जनाएको छ ।  
ह्यांगरमा बुद्धएयरका जहाजबाहेक अन्य कम्पनीका विमान कम्पनीले समेत सेवा लिने भएका छन् । भुटानको डुक एयर र बंगलादेशको युनाइटेड एयरवेजले मर्मतका लागि सम्झौता गर्न चासो देखाएको कम्पनीले जनाएको छ । त्रिभुवन विमानस्थलबाट बुद्धएयरले ८ वटा जहाजमार्फत दैनिक ८० उडान सञ्चालन गर्ने गरेको छ । 
बुद्धएयरले ह्यांगर निर्माणका लागि आईएफसीस“ग सन् २००८ मै सम्झौता गरेको भए पनि नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध नगराएका कारण निर्माण कार्य ढिलो हुन पुगेको थियो । दुइ वर्षअघि तत्कालीन पर्यटनमन्त्री शरतसिंह भण्डारीले जग्गा उपलब्ध गराउने निर्णयपश्चात् २०१० मा निर्माण सुरु गरिएको थियो । 
ह्यांगरका लागि उपलब्ध जग्गाको प्रतिमहिना प्रतिस्क्वायर फिट १ सय ६५ रुपैयाँ त्रिभुवन विमानस्थललाई भाडा तिर्ने सम्झौता भएको छ । जुन वार्षिक करिब ६५ लाख रुपैया“ हुन आउँछ । विमानस्थलमा यसअघि यती एयरलाइन्स, नेपाल वायुसेवा निगम र श्री एयरको ह्यांगर सञ्चालनमा भए पनि सीमित सेवा मात्र उपलब्ध छ । 
ह्यांगर उद्घाटन गर्दै मन्त्री विष्टले हवाई सेवामा निजी क्षेत्र अगाडि आउनु सकारात्मक भएको बताउँदै आवश्यक वातावरणका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाएका छन् । सोही कार्यक्रममा बोल्दै मन्त्री विष्टले साना जहाज ल्याएर दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्न बुद्धएयरलाई आग्रह गरे । 
ह्यांगर उद्घाटनका क्रममा कम्पनीले ५०० सिरिजको अर्को एउटा एटीआर ७२ जहाज थप्ने प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार जहाज निर्माता कम्पनी एटीआरका सीईओ फिलिपो ब्याग्नोटोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । करिब ६५ करोड रुपैया“ पर्ने सो जहाजबाट बजारको मागअनुसार सुगम गन्तव्यहरूमा उडान गर्ने कम्पनीले जानकारी दिएको छ । दुर्गम गन्तव्यमा उडान गर्न सन् २०१४ सम्ममा ३ वटा ट्विनअटर जहाज ल्याउने गृहकार्य सुरु भएको उनले बताए । 

Source Karobaar daily
2012-04-19

Sunday, April 15, 2012

पर्यटक वृद्धिको बढ्दो आशा

  पर्यटनलाई सेवामूलक उद्योगका रूपमा लिइएको छ । त्यसैले पर्यटन उद्योगको सफलता यसले प्रदान गर्ने सेवाको गुणस्तरमा निर्भर गर्छ भन्ने यथार्थलाई पर्यटन क्षेत्रसँग सम्बद्ध उद्योगी–व्यवसायीहरूले मनन गर्दै आएको पाइन्छ । वास्तवमै पर्यटन प्रवद्र्धनद्वारा कुनै पनि मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महŒवपूर्ण टेवा पु¥याउन सकिने यथार्थलाई विश्वको कुनै पनि अर्थ व्यवस्थाले स्वीकार गरेको छ ।
सन् २०११ मा अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशतले वृद्धि भई विश्वको पर्यटक आगमन संख्या ९८ करोड पुगेको छ । यसरी पर्यटक आगमनमा भएको वृद्धिसँगसँगै विश्वको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ । सन् २०११ मा विश्वको जीडीपीमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत र कुल निर्यातमा पर्यटन क्षेत्रको योगदान ६ प्रतिशत रहनुका साथै प्रत्येक १२ जनामध्ये एक जनालाई पर्यटन क्षेत्रले रोजगारी प्रदान गरेको विश्व पर्यटन संगठनका महासचिव तालेव रिफाइले उल्लेख गरेका छन् ।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान उल्लेखनीय रहिआएको यथार्थलाई सरकारी आधिकारिक तथ्यांकहरूले पुष्टि गर्दै आएका छन् । आर्थिक वर्ष २०६६÷६७ मा कुल ६ लाख २ हजार ८ सय ६७ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यसबाट नेपाललाई कुल रु. २८ अर्ब १३ करोड ९० लाखबराबरको परिवत्र्य विदेशी मुद्रा आम्दानी भएको छ । यो रकम कुल वस्तु निर्यातबाट आर्जित विदेशी मुद्राको ४४.५ प्रतिशत हो भने कुल वस्तु निर्यात तथा सेवाबाट आर्जित विदेशी मुद्राको २४.६ प्रतिशत हो । यसैगरी यो रकम कुल आर्जित विदेशी मुद्राको ८.१ प्रतिशत हो भने कुल गार्हस्थ्य उत्पादनको २.४ प्रतिशत हो । यसरी हेर्दा पर्यटन क्षेत्र परिवत्र्य विदेशी मुद्रा आर्जनको एउटा महŒवपूर्ण स्रोतका रूपमा समेत रहेको देखिन्छ ।
अहिले पर्यटन वर्ष २०११ को समापनपछि र लुम्बिनी भ्रमण वर्ष २०१२ मनाइँदै गरेको सन्दर्भमा सरकारी तथा निजी दुवै क्षेत्रबाट पर्यटन प्रवद्र्धनका क्रियाकलापहरूलाई प्राथमिकता दिई सोहीअनुरूप कार्य गर्न सकियो भने पर्यटक आगमनमा वृद्धि भई पर्यटन क्षेत्रको आम्दानीमा पनि वृद्धि हुनेछ । यसरी पर्यटक आगमनमा हुने वृद्धिले नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा थप रोजगारीको अवसर सिर्जना हुने र स्थानीय स्रोत तथा साधनको उपयोग भई थप आर्थिक लाभसमेत प्राप्त हुने हुँदा यसबाट नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । अहिलेको सन्दर्भमा मुलुकको अर्थतन्त्र पूर्णतः वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्समा निर्भर रहेको अवस्थामा त्यस्तो परनिर्भरतालाई न्यून गर्न पनि पर्यटन क्षेत्रले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ ।
थुप्रै आर्थिक सम्भावनाका बाबजुद पर्यटन क्षेत्रमा केही सामाजिक चुनौती पनि विद्यमान रहेका छन् । विशेषगरी ग्रामीण पर्यटनका लागि सूचना केन्द्रहरूको अभाव टड्कारो देखिएको छ भने बसोबासका लागि उत्तिकै समस्या छ । गाउँगाउँमा खुलेका होमस्टेहरूले बसोबासको समस्यालाई केही हदसम्म कम गरे पनि शान्तिसुरक्षा र स्वास्थ्यसेवाको अभावमा यस्ता होमस्टेहरू दिगो रूपमा प्रभावकारी हुन नसक्ने सम्भावना पनि छन् । साथै शिक्षित र सक्षम युवा अवसरको खोजीमा सहर र विदेशपलायन भइसकेकाले युवा जनशक्तिको अभावमा गाउँघरमा सञ्चालनमा आएका एकाध होमस्टे र अन्य पर्यटन गतिविधिहरू विशेषगरी महिला र बूढाबूढीहरूबाटै सञ्चालिन भइरहेका छन् । यसो हुँदा पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तरमाथि प्रश्न पनि उठ्ने गरेको छ । भाषागत समस्या, खाने तथा बस्ने आदिको उचित व्यवस्थाको अभावलगायत घुमघाम गर्ने कार्यमा दक्ष सहयोगी र यथार्थ सूचनाप्रदायकको अभावले गर्दा पर्यटकहरूको गाउँ बसाइको अवधि लम्बिन सकेको छैन । पर्यटन सेवाका लागि आवश्यक दक्ष जनशक्ति राजधानीलगायतका सहरी क्षेत्रमै सीमित रहेको र ग्रामीण क्षेत्रमा त्यस्तो दक्ष जनशक्ति नभएकाले पर्यटकहरूका रुचिअनुसारका मनोरञ्जनात्मक सांस्कृतिक, धार्मिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्न नसक्दा र पर्यटकहरूका लागि आधारभूत सेवा तथा सुविधा प्रदान गर्न नसकिएकाले पर्यटकहरूले चाहेर पनि लामो अवधिसम्म गाउँघरमा बस्न पाइरहेका छैनन् ।
अहिलेको सन्दर्भमा शान्तिसुरक्षा नै पर्यटन प्रवद्र्धनको प्रमुख चुनौतीको रूपमा रहेको छ । बढ्दो जनघनत्वले गर्दा सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको राजधानीलगायतका मुख्य सहरहरूमै सुरक्षाको राम्रो प्रबन्ध हुन नसकिरहेकाले दिनहुँजसो अपहरण, हत्या, हिंसाजस्ता सामाजिक अपराधका घटनाहरू भइरहेको अहिलेको अवस्थामा पर्यटक पुग्ने नेपालका सम्पूर्ण ठाउँहरूमा सुरक्षा प्रबन्ध गर्नु राज्यका निम्ति ठूलै चुनौती बनेको छ । आर्थिक, सामाजिक, भौगोलिक तथा राजनीतिक आदि विविध कारणले गर्दा राज्यले आवश्यक ठानेर पनि पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण ठाउँहरूमा पनि सुदृढ शान्तिसुरक्षाको व्यवस्था हुन सकेको छैन । सुदृढ शान्तिसुरक्षाको अभावमा पर्यटकहरूलाई गाउँगाउँमा पु¥याउनु निकै जोखिमपूर्ण बनेको छ भने चन्दाआतङ्कले पनि पर्यटकहरूलाई उत्तिकै पिरोल्ने गरेको छ । यसैगरी गाउँमा होस् अथवा सहरमा पर्यटकलाई जबरजस्ती सामान भिडाई मोटो रकम असुल्ने कुप्रवृत्तिले पनि पर्यटकहरूमा नेपालप्रति नकारात्मक धारणा विकसित गराउन मद्दत गरिरहेको हुँदा यस्तो कार्यलाई निरुत्साहित गर्नु नितान्त आवश्यक भइसकेको छ ।
अहिलेसम्मको प्रवृत्तिलाई हेर्दा राज्यले पर्यटनलाई जतिसुकै आर्थिक महŒवका साथ ग्रहण गरेको र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत रूपमा जतिसुकै प्राथमिकता दिए तापनि प्रभावकारी कार्यान्वयनको अभावले पर्यटन क्षेत्रको विकास सोचेअनुरूप हुन सकेको छैन । विभिन्न उद्देश्य र लक्ष्यसहित सन् २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरिए तापनि र विशेष तामझामपूर्वक पर्यटन वर्षको सुरुवात गरिए तापनि सरकारी तथा निजी दुवै क्षेत्रबाट पर्यटन प्रवद्र्धन कार्य नियमित र प्रभावकारी ढंगमा सञ्चालन हुन नसक्दा र पर्यटन वर्षको सुरुवातमा देखिएको सक्रियता पछिसम्म कायम नरहँदा पर्यटन वर्षको २०११ को लक्ष्य पूरा हुन नसकेको यथार्थले सरकारी प्रयास र कार्यान्वयन पक्ष अपर्याप्त र कमजोर रहेको प्रस्ट हुन्छ । यद्यपि पर्यटन वर्षभरिमा १० लाख पर्यटक भिœयाउने लक्ष्य रहेकोमा झन्डै पौने ८ लाख पर्यटकले नेपाल भ्रमण गरेको जनाइएको छ । यसअनुसार अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा झन्डै २० प्रतिशतले वृद्धि भएको देखिन्छ । पर्यटकहरूको यो वृद्धिदरले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालमा शान्तिसुरक्षामा सुधार आइसकेको सन्देश पनि दिन्छ । यसलाई सकारात्मक सुधारकै रूपमा लिनुपर्ने हुन्छ र यसले लुम्बिनी भ्रमण वर्ष २०१२ लाई पनि सुखद सङ्केत गरेको मान्नुपर्छ ।


2012-04-16 karobaar daily

Tuesday, April 10, 2012

जिडिपीमा पर्यटनको हिस्सा

नेपाल २७ स्थानले उक्लिने

काठमाडौ, चैत्र २७ - 
विश्व ट्राभल एन्ड टुरिजम काउन्सिलले पर्यटन व्यवसायबाट प्राप्त योगदानका आधारमा यो वर्ष -सन् २०१२) नेपाल २७ अंकले माथि उक्लिने प्रक्षेपण गरेको छ । 

काउन्सिलले हालै गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०११ मा ९० औं स्थानमा रहेको नेपाल यो वर्षको अन्तिमतिर ६३ औं स्थानमा उक्लिने छ । नेपालको कुल ग्राहस्र्थ उत्पादन -जिडिपी) मा ८ दशमलव ८ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रमा यसपालि ४ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान समेत प्रतिवेदनमा गरिएको छ । 

प्रतिवेदन अनुसार सन् २०११ मा जिडिपीमा ट्राभल एन्ड टुरिजम क्षेत्रबाट १ खर्ब १९ अर्ब १० करोड रुपैयाँको योगदान पुगेको थियो । त्यसबेला ७ लाख ३५ हजार ९ सय भन्दा बढी पर्यटक आएका थिए । यो योगदान पुर्‍याउनेमा पर्यटन व्यवसाय अन्तर्गत होटल, ट्राभल एजेन्सी, विमान कम्पनी, रेस्टुरेन्ट लगायत समावेश छन् । त्यस्तै पर्यटकलाई सीधै मनोरञ्जन दिलाउने अन्य उद्योगलाई पनि यसभित्र राखिएको छ ।  

सन् २०१० मा पर्यटन क्षेत्रको १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँको योगदान थियो । उक्त वर्ष  ६ लाख २ हजार ८ सय ६७ पर्यटक आएका थिए । 

ट्राभल एन्ड टुरिजमले जिडिपीमा पुर्‍याउने योगदानमा भएको बढोत्तरीका आधारमा चीन अगाडि छ । २०११ मा चीनको जिडिपीमा यस क्षेत्रको योगदान ९ दशमलव २ प्रतिशत र भारतको ६ दशमलव ४ प्रतिशत थियो । 

प्रतिवेदन सार्वजनिक गर्दै पर्यटन क्षेत्र विश्वकै ठूलो उद्योगका रूपमा स्थापित हुँदै गएकाले यसले अर्थतन्त्रमा पार्ने प्रभाव बढ्दो रहेको काउन्सिलका अध्यक्ष तथा प्रमुख कार्यकारी डेविड काउसिलले बताए । सन् २०११ मा विश्वव्यापी -ग्लोबल) जिडिपीमा ट्राभल एन्ड टुरिजमले ९ प्रतिशत योगदान पुर्‍याएको थियो । यो क्षेत्रमार्फत २५ करोड ५० लाखभन्दा बढीले रोजगारी पाएका छन् । 

नेपालमा पनि पर्यटन क्षेत्रले प्रत्यक्ष ४ लाख १२ हजार ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ । यो रोजगारी संख्याको ३ दशमलव ३ प्रतिशत हो । प्रतिवेदनमा २०१२ मा ३ 

दशमलव ७ प्रतिशतले वृद्धि हुने जनाइएको छ । 

प्रतिवेदन अनुसार नेपाल आउने पर्यटकमध्ये पदयात्रा, दृश्यावलोकन तथा अन्य मनोरञ्जनमा बढी खर्च गर्ने गरेका छन् । जिडिपीमा पर्यटनले पुर्‍याएको योगदानमा ८० दशमलव ६ प्रतिशत मनोरञ्जनका लागि आउनेबाट प्राप्त हुने गर्छ । त्यस्तै व्यावसायिक सेमिनार तथा कार्यक्रमका लागि घुम्न आउनेले गर्ने खर्चको हिस्सा १९ दशमलव ४ प्रतिशत छ । 

नेपाल अब ठूला र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमका लागि सुहाउँदो गन्तव्यका रूपमा प्रवर्द्धन हुँदै गएकाले २०१२ को अन्त्यसम्ममा व्यावसायिक कार्यक्रमबाट हुने आम्दानी ६ दशमलव ८ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०६८ चैत्र २८ 
कान्तिपुर

Monday, April 9, 2012

पदयात्रा बुकिङ १५ प्रतिशतले वृद्धि

काठमाडौं, २७ चैत       
पदयात्राका लागि नेपाल आउने पर्यटकको संख्यामा यस वर्ष वृद्धि हुने भएको छ । भर्खरै सुरु भएको पदयात्रा सिजनका लागि बुकिङ उच्च रहेकाले यो वर्ष नेपाल आउने पर्यटककै संख्या बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ ।  चालू सिजनमा ट्रेकिङ एजेन्सीहरूमार्फत पदयात्राका लागि पर्यटकको बुकिङ उच्चदरमा भएपछि व्यवसायीले यस्तो अनुमान गरेका हुन् । पदयात्राका लागि बुकिङ गराउने पर्यटक संख्यामा गत वर्षभन्दा १५ प्रतिशतले वृद्धि भएको  व्यवसायीहरूले बताएका छन् ।   
नेपाल पर्यटन वर्ष–२०११ मा पदयात्रा गर्ने पर्यटकको संख्यामा खासै वृद्धि नभएको व्यवसायीले बताउँदै आएका थिए । नेपालमा ट्रेकिङका लागि सामान्यता दुई सिजनमा मात्र पर्यटक बढी संख्यामा नेपाल आउने गरेका छन् । पदयात्राका लागि नेपालमा पहिलो सिजन चैत, वैशाख, जेठ र दोस्रो सिजन भदौ, असोज, कात्तिक र मंसिरमा बढी पर्यटक भित्रिने गर्छन् । सन् २०१२ को पहिलो सिजनका लागि गत वर्षभन्दा १५ देखि २० प्रतिशतको हाराहारीमा वृद्धि भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापाले बताए । “चालू सिजनका लागि यतिनै वृद्धि भएको छ भन्ने एकिन विवरण नआइसके पनि समग्रमा १५ प्रतिशतभन्दा बढी छ,” थापाले भने ।
चालू वर्षमा पर्यटन वर्षको प्रभावले पनि पदयात्रा गर्ने पर्यटकमा सुधार देखाएको हुन सक्ने उनको भनाइ छ । “नेपाल एक्सपीडिसनका लागि प्रमुख गन्तव्य हो, त्यसका लागि राज्यले ऐन कानुनमा परिवर्तन गर्नु आवश्यक छ,” थापाले भने ।   
चालू वर्षको जनवरी तथा फ्रेब्रुअरीमा नेपालको माथिल्लो क्षेत्रमा पदयात्रा गर्न जानेको संख्यामा पनि उच्च वृद्धि भएको गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । तथ्यांकमा सन् २०११ को जनवरी तथा फेब्रुवरीमा भन्दा चालू वर्षमा ‘रुट परमिट’ लिने पर्यटकको संख्यामा १ सय ३० प्रतिशतले वृद्धि भएको छ ।
सन् २०११ को जनवरीमा २२ पर्यटक त्यस क्षेत्रमा गएकामा सन् २०१२ को जनवरीमा ४० पर्यटकले त्यस क्षेत्रमा जानका लागि रुट परमिट लिएका छन् । त्यस्तैगरी सन् २०११ को फेब्रुअरीमा ५३ पर्यटकले मात्र रुटपरमिट लिएको चालू वर्षमा १ सय ३२ पर्यटकले त्यस क्षेत्रमा जानका लागि रुटपरमिट लिएको विभागले जानकारी दिएको छ ।  चालू वर्षको जनवरी तथा फेब्रुअरीमा नेपालको माथिल्लो क्षेत्रमा जाने पर्यटक संख्याको वृद्धिले यस वर्ष पर्यटक आवागमनमा राम्रो संकेत देखाएको अध्यक्ष थापाले बताए ।  
सन् २०१० मा त्यस क्षेत्रमा जाने पर्यटक १० हजार ३ सय ५७ रहेको मा सन् २०११ मा १० हजार ७ सय ७५ पर्यटक त्यस क्षेत्रमा गएका थिए । पर्यटकहरू तिब्बतसँग सिमाना जोडिएका ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, गोरखा, डोल्पा, मुगु, हुम्ला, बझाङ, दार्चुलाका विभिन्न क्षेत्रहरू पर्छन् । चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ करोड ७७ लाख ६२ हजार ८ सय ५१ रुपैयाँ १६ पैसा सो क्षेत्रबाट रोयल्टी असुल भएको थियो ।    


Source: Karobar Daily
2012-04-10

Tuesday, April 3, 2012

खर्च लाखौं, पर्यटक शून्य

रुकुम, २० चैत
रुकुममा पर्यटन वर्ष २०११ मा आउने पर्यटक संख्या शून्य छ । पर्यटन वर्र्ष सफल पार्न जिविसअन्तर्गतको सबै पक्षको सहमति र सर्वपक्षीय भेलाबाट जिल्ला पर्यटन समन्यय समिति गठन गरिए पनि कुनै निकायसँग पर्यटक आगमनको तथ्यांक छैन ।
यता, पर्यटन वर्षको नाममा लाखौं रकम खर्च भएको छ । जिल्लामा पर्यटन समन्यय समिति गठन, पर्यटकीय सम्पदाहरुको प्रचारप्रचारका लागि ‘नयाँ गन्तव्य’ नामक डकुमेन्ट्री, रुकुममा पहिलो स्यार्पु महोत्सव आयोजना र केही पोस्टर प्रकाशनका काम भएको बताइएको छ । डकुमेन्ट्रीमा ७ लाख, स्यार्पु महोत्सवमा १५ लाख र मौराखारा लेखमा खानेपानी आयोजनाका लागि ५ लाख खर्च भएको छ । तर, प्रगतिबारे यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकाय अन्योलमा छन् । पर्यटन वर्षमा कति खर्च भयो र के प्रगति भयो भन्नेबारे केही थाहा नभएको जिविसका सूचना अधिकृत चिन्तामणि दाहालले बताए ।
“रुकुममै पहिलोपटक आयोजना गरियको स्यार्पु पर्यटन महोत्सवको खर्च विवरणसमेत आयोजकले उपलब्ध गराएको छैन,” उनले भने, “पर्यटनसम्बन्धी गतिविधिका खर्चबारे जिविसलाई जानकारी नै गराइँदैन अनि कसरी पर्यटन वर्षको खर्च तथा उपलब्धिको समीक्षा गर्ने ?” पर्यटन वर्षभरिमा सरकारी तथा गैरसरकारी निकायबाट करिब ५०–६० लाख रुपैयाँ खर्च भएको अनुमानसम्म गरिएको छ ।
जिल्लामा हालसम्म पर्यटन डेस्क पनि स्थापना गरिएको छैन । “पर्यटन डेस्क स्थापना नभएकाले पर्यटक संख्याबारे अन्योल छ,” स्थानीय विकास अधिकारी भरतकुमार शर्माले भने, “आउन त धेरै आए होलान् शून्यै त छैन होला ।” रुकुमको पर्यटन विकासका लागि पर्यटन गुरुयोजनाबारे छलफल भइसकेकोले अब छिट्टै गुरुयोजना बनाएर अघि बढ्ने उनले बताए ।
पर्यटन वर्षको सुरुमा केन्द्रबाट आएको पैसा खर्च गर्नमात्र सानातिना गतिविधि सञ्चालन गरिएको भए पनि पर्यटन सम्पदाको संरक्षण, सम्वद्र्धन तथा पर्यटन आवागमनलाई टेवा पुग्ने कुनै पनि कार्यक्रम नगरिएको सरोकारवाला बताउँछन् । प्रचारप्रसारलाई समेत प्राथामिकतामा नराख्दा आउँदा दिनमा पनि पर्यटक भित्रिने सम्भावना न्यून भएको पर्यटन व्यवसायीको ठम्याइ छ ।
आन्तरिक तथा बाह्य पर्यटक नआउँदा जिल्लाका पर्यटकीय स्थल पनि सुनसान रहेको स्थानीयवासी बताउँछन् । पर्यटकीय सम्भावना बोकेको ५२ पोखरी ५३ टाकुरीको जिल्ला रुकुमबारे प्रचारप्रसार नहुँदा पर्यटक नभित्रिएको उनीहरूको आरोप छ । स्यार्पुताल, कमलताल, साखदह, कमलपोखरी, शीतलपोखरी, सिस्ने हिमाल, उत्तरगंगा, शाहीकुमारी मन्दिर, साततले गुफा, महेन्द्र गुफा आदि रुकुमका आकर्षण हुन् ।

Source Karobar daily मेगराज खड्का
मिति: 2012-04-03

‘हेली सफारी’

‘हेली सफारी’

काठमाडौं, २० चैत
मुलुकका दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गर्दै आएका हेलिकप्टर सेवा प्रदायक कम्पनीहरू पछिल्लो समय ‘हेली सफारी’को नयाँ क्षेत्रमा आकर्षित भएका छन् ।
आन्तरिक पर्यटनलाई मध्यनजर गरी वायुसेवा कम्पनीहरूले ‘हेली सफारी’ प्याकेज प्रदान गर्न थालेका हुन् । हवाई यात्राको आनन्द लिन प्याराग्लाडिङ रोज्ने पर्यटकहरू हाल हेली सफारीमा आकर्षित देखिएका छन् । प्याराग्लाडिङमा उड्नुभन्दा हेलिकप्टर यात्रा सस्तो छ ।
विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका मेला र महोत्सवमा हेली सफारी फेसनजस्तै भइसकेको छ । करिब ५ महिनाअघि सिन्धुपाल्चोक महोत्सवबाट सुरु भएको हेली सफारीको अनुशरण अहिले सबैजसो मेला आयोजकले गर्न थालेका छन् । गत सातादेखि सञ्चालन भएको बागलुङ महोत्सवमा समेत हेलि सफारी प्याकेज उपलब्ध भएपछि स्वदेशी पर्यटक हेलिकप्टर चढ्न उत्साहित देखिएका छन् । प्याराग्लाडिङ गर्न प्रतिपर्यटक न्यूनतम ६ हजार ५ सय रुपैयाँ खर्च गर्नुपर्ने भए तापनि हेली सफारीका लागि प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
निजी वायुसेवा कम्पनी सिम्रिक एयरले बागलुङ महोत्सवको अवसरमा हेली सफारी सञ्चालन गरिरहेको छ । यसअघि पोखरा र चितवन क्षेत्रमा समेत हेली सफारी प्याकेज प्रदान गरेको थियो । प्याकेजबारे जानकारी दिँदै सिम्रिक एयरका महाप्रबन्धक योगराज कँडेल भन्छन्, “विशेषगरी आन्तरिक पर्यटकलाई मध्यनजर गरी हामीले नै पहिलो पटक नयाँ प्रडक्ट घोषणा गरेका हौं, जुन सफतापूर्वक सम्पन्न भइरहेको छ ।” हेलिकप्टर चढ्न ठूलो रकम खर्च गर्नुपर्छ भन्ने सर्वसाधारणको भ्रम हटाउनसमेत प्याकेज सफल भएको उनले बताए ।
बागलुङ महोत्सवमा सोमबारसम्म ९० जनाले हेलिकप्टर सफारी गरिसकेको बागलुङस्थित सिम्रिक एयरका अपरेसन अधिकृत कमल गौतमले जानकारी दिए । उनका अनुसार महोत्सव अवधिभर १५ हजार र ६ हजार ५ सय रुपैयाँका दुईथरी प्याकेज सञ्चालनमा छन् । १५ हजार मूल्यमा बागलुङ सहरबाट एकमात्र सिकार आरक्ष ढोरपाटन पुगेर फर्किन सकिन्छ भने सस्तो प्याकेजमा बाग्लुङ उपत्यका हँुदै कुश्माको पर्वत बजार र बेनी सहर हुँदै फर्किन सकिन्छ । दुवै खाले हेली प्याकेजमा महोत्सवलाई हवाई दृश्यावलोकन गर्न सकिन्छ । महँगो प्याकेज ४५ मिनेटको छ भने सस्तो १५ मिनेट मै सम्पन्न हुने गौतमले बताए ।
यसअघि पोखरा हेली सफारीमा पोखरादेखि अन्नपूर्ण सर्किट तथा आकासबाट फेवा, वेगनास तालहरूको दृश्यावलोकनका लागि ५ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति मूल्य तोकिएको थियो । आन्तरिक तथा बाह्य यात्राका क्रममा हवाई यात्रा गरिने भए तापनि हेली सफारी गर्नु पर्यटकका लागि नौलो अनुभव भएको सिम्रिक एयरले जनाएको छ ।
मुलुकभर महोत्सवको रौनक बढेसँगै नयाँ प्रडक्टका रूपमा हेली सफारी प्याकेज समेत फस्टाउँदै गएको छ । व्यवसायिक दृष्टिले खासै नाफा नरहे पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हेली सफारीलाई देशभर विस्तार गर्ने योजना रहेको एयरले जनाएको छ ।

Source: Karobar Daily