Tuesday, April 10, 2012

जिडिपीमा पर्यटनको हिस्सा

नेपाल २७ स्थानले उक्लिने

काठमाडौ, चैत्र २७ - 
विश्व ट्राभल एन्ड टुरिजम काउन्सिलले पर्यटन व्यवसायबाट प्राप्त योगदानका आधारमा यो वर्ष -सन् २०१२) नेपाल २७ अंकले माथि उक्लिने प्रक्षेपण गरेको छ । 

काउन्सिलले हालै गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०११ मा ९० औं स्थानमा रहेको नेपाल यो वर्षको अन्तिमतिर ६३ औं स्थानमा उक्लिने छ । नेपालको कुल ग्राहस्र्थ उत्पादन -जिडिपी) मा ८ दशमलव ८ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रमा यसपालि ४ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान समेत प्रतिवेदनमा गरिएको छ । 

प्रतिवेदन अनुसार सन् २०११ मा जिडिपीमा ट्राभल एन्ड टुरिजम क्षेत्रबाट १ खर्ब १९ अर्ब १० करोड रुपैयाँको योगदान पुगेको थियो । त्यसबेला ७ लाख ३५ हजार ९ सय भन्दा बढी पर्यटक आएका थिए । यो योगदान पुर्‍याउनेमा पर्यटन व्यवसाय अन्तर्गत होटल, ट्राभल एजेन्सी, विमान कम्पनी, रेस्टुरेन्ट लगायत समावेश छन् । त्यस्तै पर्यटकलाई सीधै मनोरञ्जन दिलाउने अन्य उद्योगलाई पनि यसभित्र राखिएको छ ।  

सन् २०१० मा पर्यटन क्षेत्रको १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँको योगदान थियो । उक्त वर्ष  ६ लाख २ हजार ८ सय ६७ पर्यटक आएका थिए । 

ट्राभल एन्ड टुरिजमले जिडिपीमा पुर्‍याउने योगदानमा भएको बढोत्तरीका आधारमा चीन अगाडि छ । २०११ मा चीनको जिडिपीमा यस क्षेत्रको योगदान ९ दशमलव २ प्रतिशत र भारतको ६ दशमलव ४ प्रतिशत थियो । 

प्रतिवेदन सार्वजनिक गर्दै पर्यटन क्षेत्र विश्वकै ठूलो उद्योगका रूपमा स्थापित हुँदै गएकाले यसले अर्थतन्त्रमा पार्ने प्रभाव बढ्दो रहेको काउन्सिलका अध्यक्ष तथा प्रमुख कार्यकारी डेविड काउसिलले बताए । सन् २०११ मा विश्वव्यापी -ग्लोबल) जिडिपीमा ट्राभल एन्ड टुरिजमले ९ प्रतिशत योगदान पुर्‍याएको थियो । यो क्षेत्रमार्फत २५ करोड ५० लाखभन्दा बढीले रोजगारी पाएका छन् । 

नेपालमा पनि पर्यटन क्षेत्रले प्रत्यक्ष ४ लाख १२ हजार ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ । यो रोजगारी संख्याको ३ दशमलव ३ प्रतिशत हो । प्रतिवेदनमा २०१२ मा ३ 

दशमलव ७ प्रतिशतले वृद्धि हुने जनाइएको छ । 

प्रतिवेदन अनुसार नेपाल आउने पर्यटकमध्ये पदयात्रा, दृश्यावलोकन तथा अन्य मनोरञ्जनमा बढी खर्च गर्ने गरेका छन् । जिडिपीमा पर्यटनले पुर्‍याएको योगदानमा ८० दशमलव ६ प्रतिशत मनोरञ्जनका लागि आउनेबाट प्राप्त हुने गर्छ । त्यस्तै व्यावसायिक सेमिनार तथा कार्यक्रमका लागि घुम्न आउनेले गर्ने खर्चको हिस्सा १९ दशमलव ४ प्रतिशत छ । 

नेपाल अब ठूला र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमका लागि सुहाउँदो गन्तव्यका रूपमा प्रवर्द्धन हुँदै गएकाले २०१२ को अन्त्यसम्ममा व्यावसायिक कार्यक्रमबाट हुने आम्दानी ६ दशमलव ८ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०६८ चैत्र २८ 
कान्तिपुर

0 comments:

Post a Comment