Monday, January 16, 2012

चुनौतीपूर्ण लुम्बिनी भ्रमण वर्ष

तयारीमा ध्यानै नदिई नयाँ कार्यक्रम थाल्न हतार गर्ने सरकारी कार्यशैली लुम्बिनी भ्रमण वर्ष, २०१२ को घोषणामा पनि देखा परेको छ। नेपाल भ्रमण वर्ष, २०११ मूलतः भौतिक तयारीकै र प्रचार प्रसारका अभावमा आंशिकमात्र सफल भयो। नेपालको स्वाभाविक आकर्षकबाट आएका यात्रुको संख्या गनेर भ्रमण वर्ष सफल भएको ठान्नु हास्यास्पद आत्मरतिमात्रै हो। यसैगरी लुम्बिनी भ्रमण वर्ष पनि घोषणा गरिएकै भरमा सफल हुनसत्तै्कन। तर, सरकारले भने घोषणासँगै आवश्यक न्यूनतम भौतिक पूर्वाधार र स्थानीय परिवेश निर्माणमा ध्यान दिएको देखिएको छैन।

लुम्बिनी भ्रमण वर्ष, २०१२ को राष्ट्रपति रामवरण यादवले शनिबार विधिवत् उद्घाटन गरेका छन्। चीनका प्रधानमन्त्री वेन जियाबाओको आकस्मिक नेपाल भ्रमणको दिन परेकाले सञ्चार माध्यममा कार्यक्रम ओझेलमा पर्‍यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको ध्यान काठमाडौंमै केन्द्रित भयो। त्यस्तै, राष्ट्रपति उपस्थित हुने औपचारिक कार्यक्रमअनुरूपको विशिष्ट व्यक्तिहरूको उपस्थिति पनि हुनसकेन। यसले निश्चय पनि लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसारको एउटा राम्रो अवसर गुम्यो।
गौतम बुद्धको जन्मस्थल अर्थात् बौद्ध धामका रूपमा प्रचारप्रसार गर्न सकेमात्र लुम्बिनीमा पर्यटक आउने हुन्। यसैले प्रचारप्रसार पनि मूलतः बौद्ध धर्मावलम्बी बसोवास गर्ने चीनलगायत दक्षिण तथा दक्षिणपूर्वी एसियामा केन्द्रित गरिनुपर्छ। साथै, नेपालीहरूलाई नै पनि लुम्बिनी भ्रमणका लागि प्रेरित गरिनुपर्छ। तीर्थका रूपमा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू बुद्ध जयन्तीजस्ता विशेष अवसरमा बढी आउनसक्छन्। एकै पटक धेरै पर्यटक आए भने तिनलाई स्थानीय आवास तथा अन्य सुविधा अपर्याप्त हुन्छ। पर्यटकले त्यस्तो असुविधा भोग्नु पर्‍यो भने लुम्बिनीको मात्र हैन सिंगै नेपालको छवि बिग्रनेछ र समस्त पर्यटन क्षेत्रकै लागि प्रत्युत्पादक हुनेछ। यसैले लुम्बिनी भ्रमण वर्ष सफल बनाउन आयोजकहरू गम्भीर हुनु आवश्यक छ। सन् २०१२ मै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन पनि लुम्बिनी भ्रमणमा आउने सम्भावना रहेको छ। उनको भ्रमणबाट लुम्बिनी क्षेत्रको दीर्घकालीन विकासका लागि पनि योगदान पुग्नसक्छ भने त्यसलाई राम्ररी व्यवस्थापन र प्रचारप्रसार गर्न सके यही भ्रमण वर्षमा पर्यटक आकर्षण गर्न पनि सहयोग पुग्नेछ।
लुम्बिनीमा ठुलो संख्यामा पर्यटक आए भने अहिलेका अवस्थामा आवासलगायत थुपै्र प्रकारका असुविधा भोग्नुपर्ने देखिन्छ। आवासको असुविधा हटाउन तत्काल नयाँ होटेल बनाउन सकिँदैन तर यातायात सहज बनाउने हो भने चितवन, पाल्पा र पोखरासम्मका र कतिपय अवस्थामा काठमाडौंकै होटलहरूमा पनि लुम्बिनी यात्रीहरूलाई राख्न सकिनेछ। पाल्पा जान सुविधाजनक सडक यातायातका साथै हेलिकोप्टर सेवाको व्यवस्था गर्नसके पर्यटकको बसाइ अझ स्मरणीय हुनुका साथै पर्यटन व्यवसायीहरूका लागि पनि लाभदायी हुनेछ। पोखरा, भैरहवा र चितवनका विमानस्थलहरूको सुविधा र स्तर पनि बढाउन सके थप सुविधा जुट्नेछ। भैरहवा विमानस्थलको स्तरोन्नति कार्य अलमलिएको छ। विमानस्थल विस्तारका लागि लिइएको जमिनको मुआब्जाजस्ता विषयमा स्थानीय जनताले असन्तुष्टि प्रकट गरेका छन्। भ्रमण वर्षजस्ता कार्यक्रम सफल बनाउन विमान सेवाहरूको विशेष भूमिका हुन्छ। राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स प्रभावकारी सेवा दिन सक्षम भएको भए नेपाल भ्रमण वर्ष सफल हुने सम्भावना धेरै हुन्थ्यो। भारतबाहेक अरू मुलुकबाट आउने अधिकांश पर्यटक हवाइ मार्गबाटै आउने हुन्। तिनलाई काठमाडौंबाट लुम्बिनी पुर्‍याउन हवाइ र स्थल दुवै मार्गको सेवाको संख्या, सुविधा र स्तर बढाउनु आवश्यक छ। यसका लागि सरकारले मूलतः उत्प्रेरकको र भौतिक सुविधा बढाउने दायित्व पूरा गर्नुपर्छ। निजी क्षेत्रसँग सहकार्य गर्न नसके भौतिक पक्ष तयार भए पनि पर्यटकले त्यसको लाभ पाउने छैनन्। यसैले लुम्बिनी भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने देखिन्छ। साथै, अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य र सञ्चार सुविधा उपलब्ध गराउन पनि भौतिक पूर्वाधारलगायतका काम गर्नुपर्ने देखिन्छ। यसमा पनि निजी क्षेत्रले सहयोग गर्नसक्छ।
लुम्बिनी भ्रमण वर्षलाई बुद्धको जन्मस्थलसम्बन्धी अनावश्यक विवाद अन्त्य गर्ने अवसरका रूपमा पनि नेपालले सदुपयोग गर्नु आवश्यक छ। विशेषगरी, श्रीलंका, थाइल्यान्ड, जापानजस्ता बुद्ध धर्मको विशेष प्रभाव भएका मुलुकमा बुद्धको जन्मस्थल सम्बन्धमा व्यापक भ्रम रहेका भेटिन्छ। त्यसको निराकरणका लागि विशेष प्रकारका प्रचार सामग्री निर्माण हुनु उपयुक्त हुनेछ। साथै, सिद्धार्थको जीवनका महत्वपूर्ण घटनाहरू जन्म, ज्ञान प्राप्ति र निर्वाणसँग जाडिएका तीर्थस्थलहरूको भ्रमण नेपाल हुँदै गराउन सके लुम्बिनी भ्रमण थप आकर्षक र उद्देश्यमूलक हुनेछ। लुम्बिनी क्षेत्रको विकासका लागि जिम्मेवार आधिकारिक निकाय लुम्बिनी विकास कोष हो। यसलाई पन्छाउने वा ओझेलमा पार्ने प्रयत्न गरियो भने त्यसले विवाद थप्नेछ। यसरी विवाद बढाएर लुम्बिनी भ्रमणका लागि पर्यटकलाई आकर्षण गर्न पक्कै सकिनेछैन। शान्तिदूत बुद्धप्रति श्रद्धा व्यक्त गर्न आउनेहरूले विवाद रुचाउने छैनन्। यसप्रति पनि सरकार सजग हुनु आवश्यक छ। लुम्बिनी विकासलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजियो भने प्रत्युत्पादक हुनेछ भन्ने यथार्थ पनि सरकारी पक्षले आत्मसात गर्नुपर्छ। घोषणा जत्तिकै सजिलो कार्यक्रम कार्यान्वयन गर्नु हुँदैन तर लुम्बिनी भ्रमणका सम्बन्धमा भने सरकारका सम्बन्धित पदाधिकारीले अग्रसरता, सुझबुझ र इमानदारी देखाउन सके भने सफल हुन कठिन पनि हुनेछैन।

Source: Nagarik News.
MONDAY, 16 JANUARY 2012

0 comments:

Post a Comment