काठमाडौ, माघ ११ - सरकारले अमेरिका र अस्ट्रेलियाद्वारा यहाँ हवाई पहुँचका लागि चासो देखाएपछि दुवैसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने भएको छ ।
नयाँ सम्झौताका साथै बेलायतसँगको सम्झौता पुनः संशोधन गर्ने तयारी पनि भइरहेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । 'दुवै मुलुकले तीन महिनाअघि हवाई सेवा सम्झौताका लागि प्रस्ताव पठाएका थिए,' उनले भने, 'अस्ट्रेलियाले त सम्झौताको खाका समेत पठाइसकेको छ ।' उनका अनुसार उड्डयन क्षेत्रका अन्य पक्षहरूसँग छलफलपछि अमेरिकासँग सम्झौताको मिति तय गरिने छ ।
अमेरिकाले यहाँ शान्ति र राजनीतिक स्थिरता सुदृढ हँुदै गएकाले हवाई सेवा सम्झौताका लागि चासो देखाएको पनि मन्त्रालयको भनाइ छ । झन्डै एक महिनाअघि मात्र अमेरिकाले नेपालमा राजनीतिक अवस्था सुधार भएको र भ्रमणका लागि उपयुक्त गन्तव्य रहेको भन्दै पुरानो ट्राभल एडभाइजरी परिवर्तन गरेको थियो ।
त्यस्तै अमेरिकाले माओवादी द्वन्द्वसँगै आठ वर्षअघि बन्द भएको 'पिस क्रप्स' स्वयंसेवक कार्यक्रम पुनःस्थपाना गर्ने निर्णयले पनि हवाई सम्झौताका लागि महत्त्वपूर्ण भूमिका खेलेको हो । यस कार्यक्रम अन्तर्गत २०६९ सुरुतिर २० जनाको टोली नेपाल आउने छ । 'सम्झौतापछि दुई देशका विमान कम्पनीले सेवा सुचारु गरेपछि त्यहाँबाट आउने पर्यटकको संख्या उल्लेख्य बढ्ने छ,' आचार्यले भने ।
सन् २०११ भरि यहाँ घुम्न आउने अमेरिकीको संख्या ३७ हजार ८ सयभन्दा बढी छ । त्यस्तै अस्ट्रेलियालीको संख्या १६ हजार १ सय छ । अमेरिका र अस्ट्रेलिया दुवै मुलुकमा नेपालबाट पढ्न र कामका लागि जाने नेपालीहरू पनि धेरै भएकाले विमान कम्पनीले सजिलै बजार पाउन सक्छन् । हाल नेपालले ३६ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ ।
'तीन वर्षयता हवाई यात्रु र उडान संख्या आश्चर्यपूर्ण वृद्धि भएको छ,' नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले भने, 'अमेरिका र अस्ट्रेलियाले नेपालसँग जोडिनु हाम्रो लागि उत्साहजनक विषय हो ।' त्यस्तै बेलायतले परिमार्जन पछिको सम्झौता 'थर्ड पार्टी कोड सेयर' मा गर्न सरकारलाई प्रस्ताव गरेको छ । खुला आकाश नीतिअन्र्तगत यस्तो सम्झौता धेरै मुलुकका सक्षम विमान कम्पनीहरूले मात्र गर्ने मन्त्रालयका सहसचिव आचार्यले बताए ।
'थर्ड पार्टी कोड सेयर' सम्झौता अन्तर्गत बेलायतको विमान कम्पनीले अर्को कुनै मुलुकसम्म यात्रु पुर्याउँछ । त्यसपछि त्यस मुलुकको कुनै विमान कम्पनीले उद्गम मुलुककै विमान कम्पनीको कोड टिकटमा यात्रुलाई नेपाल ल्याउने छ । यसबापत बेलायती विमान कम्पनीले अर्को विमान कम्पनीसँग आम्दानी बाँड्छ ।
बेलायतसँग पुरानो सम्झौता सन् १९९४ तिर भएको थियो । त्यसपछि १९९८ सम्म नेपाल वायुसेवा निगमले काठमाडौं-लन्डन उडान गथ्र्यो । नेपालमा हाल निगम र बुद्ध एयरसहित २८ अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी सञ्चालित छन् ।
कान्तिपुर
प्रकाशित मिति: २०६८ माघ ११







0 comments:
Post a Comment