Wednesday, January 18, 2012

सन् २०१२ मा विश्वभर पर्यटक एक अर्ब पुग्ने

पर्यटन वर्षको रूपमा मनाइएको सन् २०११ मा नेपालले विदेशी पर्यटकको संख्यामा २२ प्रतिशतको उपलब्धि पाएको थियो । एसियाली मुलुकका नागरिकको प्रतिव्यक्ति आम्दानी बढ्दै जानुले नेपालमा पनि त्यसको प्रभाव परेको विश्व पर्यटन संगठनले जनाएको छ ।

नेपाल लगायत अन्य एसियाली मुलुकको गरी कुल अन्तर्राष्ट्रिय पर्यटक आगमन २१ करोड ६० लाख छ । दक्षिण एसियाली मुलुकमा मात्र ९ प्रतिशतभन्दा बढी पर्यटकले घुमे । विश्वभरिको अन्तर्राष्ट्रिय पर्यटक संख्या ९८ करोड पुगेको संगठनको गत सोमबार प्रकाशित प्रतिवेदनमा छ । सन् २०१० मा विश्वभरिमा ९३ करोड ९० लाख पर्यटक घुमेका थिए ।

'विभिन्न क्षेत्रमा देखिएको मन्दीका बाबजुद विश्व पर्यटनले २०११ मा नयाँ रेकर्ड कायम गर्‍यो,' प्रतिवेदन सार्वजनिक गर्ने क्रममा संगठनका महासचिव तालेव रिफाईले भनेका छन् । मध्यपूर्वी र उत्तरी अपि|mकामा राजनीतिक उथलपुथल, जापानमा सुनामी लगायत अन्य समस्याहरू

देखिएका थिए ।

कुल आगमनबाट प्राप्त आयले विश्वको कुल ग्रार्हस्थ उत्पादन -जिडिपी) मा प्रत्यक्ष ५ प्रतिशतको योगदान पुर्‍याएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार विकसित मुलुकका लागि यो वृद्धिले रोजगारको अवसर सृजना गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ ।

यो वर्ष अन्तर्राष्ट्रिय पर्यटकबाट प्राप्त आम्दानीको वृद्धिदरका आधारमा चीन, भारत र ब्राजिल अगाडि रहे । चीनले पर्यटकबाट कमाउने रकम अघिल्लो वर्षभन्दा ३८ प्रतिशतले बढेको संगठनले जनाएको छ । २०११ मा चीनमा घुम्नेको संख्या ५ करोड ६० लाख पुगेको छ । त्यस्तै, यसबाट प्राप्त आम्दानी ४६ अर्ब डलर रहेको चीनको ग्लोबल टाइम्सले प्रकाशित गरेको छ । नेपालमा भने यो वर्ष हवाईमार्गबाट आउने पर्यटकको संख्या झन्डै ५ लाख ४५ र ११ महिनासम्म स्थलमार्गबाट आउने १ लाख ७४ हजार ६ सय १२ छन् ।

त्यस्तै, भारत र ब्राजिलको आम्दानी ३२ प्रतिशतले बढ्यो । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले पनि पर्यटकबाट पाउने आम्दानी झन्डै ३० प्रतिशतले बढेको देखाएको छ । युरोपमा अन्तर्राष्ट्रिय पर्यटक आगमन ५० करोड ३० लाख र अमेरिकामा १५ करोड ६० लाख पुग्यो ।

संगठनको विश्व पर्यटन 'ब्यारोमिटर' ले २०१२ मा विश्वभरि ३ देखि ४ प्रतिशतले बढेर पर्यटक आगमन १ अर्ब पुग्ने अनुमान समेत गरेको छ । एसिया तथा प्यासिफिक क्षेत्रको वृद्धि ६ प्रतिशतसम्म पुग्ने अनुमान छ । संगठनले सबै मुलुकलाई पर्यटक आगमनलाई प्रोत्साहित गर्न आधुनिक सूचना प्रविधि प्रयोग गरी भिसा र अन्य प्रक्रियालाई सहज बनाउन पनि आग्रह गरेको छ । 'यस्तो सुविधाले मानिसलाई यात्रा गर्न आर्कषित गर्छ,' संगठनका महासचिव तालेव रिफाईले आफ्नो वेबसाइटमा उल्लेख गरेका छन् ।

कान्तिपुर
प्रकाशित मिति: २०६८ माघ ५

0 comments:

Post a Comment