Wednesday, January 4, 2012

बिबी एयरवेजलाई अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौ, पुस २० - अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव पेस गरेको बिबी एयरवेजलाई सरकारले अनुमति दिएको छ । कम्पनीलाई मंगलबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट ७ गन्तव्यमा उडानका लागि क वर्गको स्वीकृति दिएको हो ।

मन्त्रालयले अन्तर्राष्ट्रिय उडानका लागि गरेको आह्वानपछि कम्पनीले गत सेप्टेम्बर २५ (असोज ८ गते) आवेदन दिएको थियो । कम्पनीमा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष भवन भट्टको इन्भेस्टमेन्ट कम्पनी टिबिआई समूहको लगानी छ ।

अनुमति अनुसार कम्पनीले नयाँदिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुर उडान गर्न पाउने भएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्यको अध्यक्षतामा गठित ७ सदस्यीय मूल्यांकन समितिको सिफारिसका आधारमा अनुमति दिइएको हो । कम्पनीले ३ वटा बोइङ ७६७-३०० जहाजबाट अनुमति पाएको गन्तव्यमा उडान गर्ने मन्त्रालयलाई जानकारी दिएको पनि आचार्यले बताए । 'जापानी कम्पनीबाट जहाज ल्याउने तयारी भइरहेको जानकारी पाएका छौं,' उनले भने ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ र ५० लाख रुपैयाँ सुरक्षित ऋणपत्र आवश्यक हुन्छ । यसबाहेक अनुमति लिँदा बुझाइने टिओआरका लागि पनि कम्पनीले सरकारलाई ५० हजार रुपैयाँ तिर्नुपर्छ ।

मूल्यांकन समितिका अध्यक्ष आचार्यका अनुसार आवेदन आह्वान गरेकामा यसको मात्र प्रस्ताव आएको र अधिकांश मापदण्ड पूरा भएकाले अनुमति दिइएको हो । 'अन्तर्राष्ट्रिय उडानमा ठूलो हिस्सा विदेशी विमान कम्पनीले लगिरहेको हुँदा नेपालीकै लगानीमा नयाँ आउनु मुलुकको लागि राम्रो कुरा हो,' उनले भने ।

कम्पनीले अनुमति पाएको मितिदेखि १ वर्षभित्र नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) लिनुपर्छ । त्यसपछि गन्तव्य मुलुकबाट समेत उडान तालिका स्वीकृत गराई एओसी लिएको एक वर्षभित्र उडान सुरु गर्नुपर्छ । यो समयभित्र कम्पनी उडान नगरेमा सरकारसँग गरेको कबुलियत बमोजिम अनुमति खारेज र धरौटी जफत हुने आचार्यले बताए ।



प्रकाशित मिति: २०६८ पुस २०
kantipur

0 comments:

Post a Comment