Sunday, January 8, 2012

छिमेकीले धानेको पर्यटन उद्योग

काठमाडौ, पुस २४ - सन् २०११ मा नेपाल घुम्न आएका पर्यटकमध्ये करिब ३५ प्रतिशत छिमेकी भारत र चीनबाट मात्रै आएका छन् । प्रवर्द्धनको अभाव, सशस्त्र द्वन्द्व र तेस्रो मुलुकसम्मको सीधा पहुँच नहुँदा पछिल्लो दशकमा पर्यटन उद्योग छिमेकमा निर्भर हुनुपरेको छ ।

पर्यटन वर्ष २०११ मा पनि आएका कुल पर्यटकमध्ये भारतीयको २६ दशमलव ७ र चिनियाँको ८ दशमलव ३ प्रतिशत हिस्सा छ । चीनबाट हवाई मार्ग भएर २०११ भरि ४५ हजार ५ सय पर्यटक आए । त्यस्तै स्थलमार्ग भएर ३० हजारभन्दा बढी चिनियाँ आएको तथ्यांक छ ।

भारतीयको संख्या १ लाख ४५ हजार ८ सय (हवाई मार्गबाट) नाघेको छ । सन् २०१० मा विभिन्न आठ सीमाक्षेत्रबाट भित्रने भारतीय पर्यटकको संख्या ५ लाख २० हजार नाघेको छ । सन् २००९ मा स्थलमार्ग भएर आउने भारतीय पर्यटकको संख्या २ लाख ९८ हजार रहेको पर्यटन बोर्डले जनाएको छ ।

सन् २००० मा यहाँ भारतपछि सबैभन्दा बढी पर्यटक अमेरिका र जापानबाट आउँथे । त्यति बेलाको तथ्यांकअनुसार अमेरिकी पर्यटकको संख्या ३५ हजार ८ सय र जापानीको संख्या ३३ हजार ८ सयभन्दा बढी छ । त्यस्तै तेस्रोमा बेलायत थियो । बेलायतबाट ३१ हजार ७ सय पाहुना नेपाल आएका थिए । अहिले बेलायत र अमेरिकाबाट आउनेको संख्या केही बढे पनि जापानी पर्यटक ११ हजार ८ सय (३४ प्रतिशत) ले घटेका छन् ।

भारतीय र चिनियाँ बढेकाले मात्र नेपाली पर्यटनले राहतको सास फेर्न पाएको व्यवसायी रामकाजी कोनेले बताए । 'तथ्यांक हेर्दा यी दुई गन्तव्यले नै हामीलाई जीवित राखेका छन्,' उनले भने 'अमेरिका, बेलायतबाट आउनेहरू त्यतिबेला र अहिले उस्तै छन् ।'

स्वदेशी ट्राभल एजेन्सीले विदेशी पाहुनालाई ल्याउन आवश्यक प्रवर्द्धनमा खर्च गर्न नसक्ने र त्यहाँ शाखा नहुँदा बाह्य एजेन्सीकै भर पर्नुपर्ने अवस्था रहेको नेपाल पर्यटन बोर्डका एक अधिकारीले बताए । 'मान्छे ल्याउन गाह्रो छ,' ती अधिकारीले भने, 'काउन्सिलिङपछि विभिन्न कार्यक्रम आयोजना गरी नेपाल जाऊँ भन्न ३/४ पटक छलफल गर्नुपर्ने हुन्छ । यी सबका लागि यहाँका एजेन्सीहरू

सक्षम छैनन् ।'

यससँगै सरकारले लुम्बिनी वर्ष २०१२ घोषणा गरे पनि तेस्रो मुलुकका पर्यटक तान्ने रणनीति भने तयार छैन ।

सरकारले २०१२ का लागि एउटै योजनालाई प्राथमिकतामा राखेको छ । त्यो हो, बीबीसी र सीएनएनमा नेपालको विज्ञापन । अर्को भारत र चीनमा २०१२ लाई लक्षित गरी विशेष प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने । बीबीसीमा नोभेम्बरबाट प्रचारप्रसार सुरु भइसकेको छ । सीएनएनमा अझै केही समय लाग्ने सम्बन्धित पक्षको भनाइ छ । 'अहिलेलाई यी दुईबाहेक अरू योजना तयार छैन,' बोर्डका निर्देशक आदित्य बरालले भने ।

सन् २००० मा नेपाल वायुसेवा निगमले जापानमा उडान गर्ने हुनाले त्यहाँबाट धेरै पर्यटक आउने गरेको निजी व्यवसायीहरू बताउँछन् ।

'निगम कमजोर भएर उडान गन्तव्य घटाएपछि तेस्रो मुलुकबाट आउने पाहुनाको संख्यामा उल्लेख्य वृद्धि हुन सकेन,' ट्राभल ट्रेडमा संलग्न भोला थापाले भने ।

त्यस्तै जर्मनी पर्यटकको संख्या पनि घटेको छ । २०११ को अध्यागमन कार्यालयको तथ्यांकअनुसार २१ हजार ९ सय ८० जर्मनी पाहुना आएका छन् । सन् २००० मा यो संख्या २२ हजार ६ सय ७६ थियो । अन्य पर्यटक आगमनको 'ट्रेन्ड' हेर्दा यी पर्यटक पनि बढ्दै जानुपथ्र्योे । तर यो सम्भव भएन । फ्रान्सेली पर्यटकको संख्यामा पनि एक दशकको अन्तरालमा खासै राम्रो वृद्धिदर देखिएन । २०११ मा २३ हजार ४ सय ९५ फ्रान्सेली पाहुना आए, जबकि सन् २००० मै २० हजार ३ सय ८२ ले नेपाल घुमेका थिए ।

सीधै नेपाली एजेन्सीसँग सम्पर्क गरी आउने इन्टरनेटमार्फत सस्तो प्याकेज खोजेरमात्र आउने बोर्डका अर्का अधिकारी बताउँछन् । उनका अनुसार इंग्ल्यान्ड, फ्रान्स, अमेरिका र जर्मनी पर्यटकका लागि यहाँका एजेन्सीले पहुँच पुर्‍याउन नसकेको हुँदा तुलनात्मक रूपमा यी क्षेत्रका पाहुना घटेको मान्नुपर्छ । सन् २००० को तथ्यांकअनुसार झन्डै ११ हजार ३ सय पाहुना नेदरल्यान्डबाट आएकोमा २०११ मा यो मुलुकबाट आउनेहरू ८ हजार ९ मा झरेका छन् ।

प्रकाशित मिति: २०६८ पुस २४
Kantipur

0 comments:

Post a Comment