Wednesday, January 18, 2012

जापानवाट नेपाल आउने पर्यटकको संख्या ५ वर्ष यताकै उच्च

१८ जनवरी, काठमाण्डौ । सरकारले घोषणा गरेको लक्षअनुसार नेपालमा विदेशी पर्यटक नभित्रिएपनि नेपाल भ्रमण बर्ष घोषणा गरिएको सन् २०११ मा जापानवाट नेपाल आउने पर्यटकको संख्यामा भने निकै वृद्धि भएको छ । सन् २०११मा हवाई र स्थलमार्गको प्रयोग गरि जापानबाट २२ हजार ८ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१० मा यो संख्या २० हजार ४ सय ५८ रहेको थियो । सन् २००६ देखि हालसम्मको तथ्याङकलाई हेर्दा विस्तारै जापानी पर्यटक नेपाल भित्रिने क्रम वढ्दै गएको देखिन्छ । सन् २००६ यता सवै भन्दा वढि पर्यटक सन् २०११ मै नेपाल भित्रिएको नेपाल पर्यटन वोर्डले जनाएको छ ।

यसअघिका वर्षहरुमा सन् २००६ मा जापानवाट १८ हजार ५ सय ७४ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २००७ मा २१ हजार ९ सय ८९ , सन् २००८ मा १९ हजार ६ सय ९४ र सन् २००९ मा १९ हजार ४५ जना जापानी पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा माओवादीको १० वर्षे जनयुद्ध सकिएर शान्ति प्रक्रियामा आएपछि सवैजसो मुलुकवाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन वोर्डले जनाएको छ ।

नेपालको परम्परगत पर्यटन बजार मानिने जापानबाट अन्य देशको तुलनामा धेरै पर्यटक आउँछन् । खासगरि नेपालको पदयात्रा, जंगल सफारी, पोखरा लगायतको स्थानको दश्यावलोकन र सगरमाथा आधार क्षेत्र घुम्नका लागि जापानी पर्यटकहरु नेपाल आउने गरेका छन् । नेपालमा पर्यटकका रुपमा आएर नेपाली लोकसंगीत र नृत्यबारे अनुसन्धान गरेकी जापानी नागरिक युको ओकामोतो मल्लका अनुसार नेपाली मौलिक संस्कृतिलाई जापानीमाझ प्रचार गर्न सके जापानबाट आउने पर्यटकको संख्या निकै बढ्न सक्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०११ मा हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकको संख्या ५ लाख ४४ हजार ९ सय ८५ पुगेको छ । गत वर्ष -सन् २०१०) मा ४ लाख ४८ हजार ७ सय ६९ पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए । गत वर्षको तुलनामा यो वर्ष हवाई पर्यटक ९६ हजार २ सय १६ जनाले बढेका छन् । यो वृद्धिदर गत वर्षको भन्दा २१.४ प्रतिशतले बढी हो । सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरी नेपालमा १० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो ।

सन् २०११ मा दक्षिण एसियाली मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा ३१.२ प्रतिशतले वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष १ लाख ३० हजार ७ सय ९५ पर्यटक नेपाल भित्रिएकामा सन् २०११ मा यो संख्या बढेर १ लाख ७० हजार १ सय ४५ पुगेको छ । पर्यटन वर्षको अबधिमा पनि अघिल्ला वर्षहरूमा जस्तै सबैभन्दा बढी भारतबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । भारतबाट नेपाल आउने पर्यटकको संख्या गत वर्ष १ लाख ४ हजार ४ सय ७० पर्यटक रहेकामा सन् २०११ मा उक्त संख्या वृद्धि हुँदै १ लाख ४५ हजार ३ सय ३८ पुगेको छ, यो संख्या ३९.१ प्रतिशतले बढी हो ।

सन् २०११ मा एसिया प्रशान्त मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा पनि उच्च वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष ८३ हजार ३ सय ९६ पर्यटक नेपाल आएकामा चालू वर्षमा १ लाख १० हजार २ सय ८० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यो संख्या गत वर्षभन्दा ३२.२ प्रतिशतले बढी हो । यी मुलुकहरूमध्ये चीनबाट नेपाल आउने पर्यटकको संख्या ७७.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष चीनबाट नेपाल आउने पर्यटकको संख्या २५ हजार ५ सय ५९ पर्यटक नेपाल आएकामा यस वर्ष ४५ हजार ४ सय पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

Source : Tokyonepal.com

0 comments:

Post a Comment