Sunday, January 22, 2012

रारामा रिसोर्ट र पर्यटक सेवा केन्द्र बन्ने

नेपालगन्ज, माघ ८ - देशकै ठूलो ताल रारालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गर्ने भएको छ । रारामा सरकारी स्तरबाट रिसोर्ट र पर्यटक सेवा केन्द्र निर्माण गर्ने निर्णय मन्त्रालयले गरेको छ । कर्णाली क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिमार्फत मन्त्रालयले रारा किनारमा अत्याधुनिक रिसोर्ट बनाउन लागेको हो । त्यसका लागि ८० लाख निकासासमेत भइसकेको छ ।

रारा राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट निर्माण गर्न तयारी भइरहेको मन्त्रालयका योजना विभाग प्रमुख लोकबहादुर खत्रीले बताए । 'निर्णय भएको दुई महिना भइसक्यो,' उनले भने, 'निकुञ्जभित्र जग्गा लिने प्रक्रियामा ढिलाइ भइरहेको छ ।' रिसोर्टका लागि जग्गा दिन वन मन्त्रालय र निकुञ्ज विभाग सहमत भइसके पनि प्रक्रिया मिलाउन समय लाग्ने खत्रीले बताए ।

राम्रो पर्यटकीय सम्भावना भएको रारामा पर्यटन वर्ष-२०११ मा पनि पर्यटक वृद्धि नभएपछि मन्त्रालय भौतिक पूर्वाधार निर्माणमा लागेको हो । 'रारा जाने धेरैले होटल समस्या देखाए । पर्यटकलाई सहज वास उपलब्ध गराउन मन्त्रालयले अत्याधुनिक रिसोर्ट बनाउन लागेको हो,' खत्रीले भने । रारामा निजी क्षेत्रको एक मात्र होटल छ । त्यहाँ धेरैमा २५ पर्यटक बस्न सक्छन् । पर्याप्त होटल अभावले पर्यटक रारा किनारको चउरमा टेन्ट टाँगेर सुत्ने गर्छन् ।

मन्त्रालयले पर्यटक सेवा केन्द्रसमेत निर्माण गर्न लागेको छ । सेवा केन्द्रका लागि ६० लाख निकासा भइसकेको छ । सेवा केन्द्र खोल्न निजी क्षेत्रबाट निःशुल्क जग्गा माग गरिएको छ । 'निःशुल्क जग्गा अपेक्षा गरेका छौं,' पर्यटकीय पूवार्धार विकास विभागका इन्जिनियर रवि शाहले भने, 'स्थानीयले रुचि देखाएका छन् । जग्गा प्राप्त भने भइसकेको छैन ।'

सरकारले लगानी गरेपछि निजी क्षेत्र आकषिर्त हुने पर्यटन वर्ष २०११ कार्यान्वयन सचिवालय सदस्य राजु कार्कीले बताए । 'रिसोर्ट र पर्यटक सेवा केन्द्रपछि पर्यटकलाई राहत पुग्नेछ,' कणर्ाली क्षेत्र पर्यटन प्रवर्द्धनका प्रस्तावक संयोजकसमेत रहेका कार्कीले भने, 'रारालाई केन्द्रमा राखेर भेरी र कणर्ाली क्षेत्रको पर्यटकीय विकास गर्ने सरकारी योजना छ ।'

रारासँगै मन्त्रालयले रुरु-रेसुंगा, अरुण-भोजपुर, रारा, रामारोशन र जनकपुरमा पनि पर्यटक सेवा केन्द्र स्थापना गर्न बजेट निकासा गरिसकेको छ । रुरु र अरुणमा जग्ग्ाा प्राप्त भई नक्सांकन सुरु भइसकेको शाहले बताए । 'जग्गाको प्रक्रिया पूरा हुनासाथ काम थाल्ने गरी तयारी अवस्थामा छौं,' इन्जिनियर शाहले भने । मन्त्रालयले छुट्टयाएका १७ पर्यटकीय क्षेत्रमध्ये ६ क्षेत्रमा सेवा केन्द्र निर्माण गर्न लागेको हो ।



प्रकाशित मिति: २०६८ माघ ८
Kantipur

0 comments:

Post a Comment