काठमाडौं, पुस १८ (नागरिक)
- मुलुकको पर्यटक आगमन इतिहासमै पहिलोपल्ट करिब ८ लाख पर्यटक आएका छन्। 'नेपाल पर्यटन वर्ष २०११' को लक्ष्य १० लाख भए पनि अहिलेको आगमनबाट निराश हुनुपर्ने ठाउँ नरहेको पर्यटन व्यवसायी बताउँछन्
नेपाललाई बिदा मनाउने उत्कृष्ट गन्तव्य ब्रान्डका रूपमा स्थापित गर्ने, नयाँ र भइरहेका पर्यटन गन्तव्यमा पूर्वाधार सुधार र विस्तार गर्ने, यो क्षेत्रका सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्ने, नयाँ गन्तव्यमा पर्यटकको आवश्यकता पूरा गर्न सामुदायिक क्षमता बढाउने र उद्योगको दिगो विकासका लागि आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने पर्यटन वर्षका प्रमुख उद्देश्य थिए।
पर्यटन वर्षमा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिइएको थियो। यीमध्ये ७ लाख हवाई मार्ग र ३ लाख स्थलबाट ल्याइनेछ। व्यवसायीले १० लाख पर्यटक ल्याउनेमात्र पर्यटन वर्षको लक्ष्य नरहेको बताए। पर्यटन वर्ष अभियान अवधिमा पूर्वाधार निर्माण, नयाँ गन्तव्य पहिचान, विमानस्थल सुधार, होटललगायत पर्यटनका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने योजना पनि थिए।
कुनै विशेष प्रचार-प्रशार वा प्रवर्द्धनबिना सुरु भएको अभियानमा झन्डै ८ लाख पर्यटक आउनु सकारात्मक हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बेलायतको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) र अमेरिकाको केबुल न्युज नेटवर्क (सिएनएन) बाट पर्यटन वर्षको प्रचार गर्ने योजनामा विवाद हुँदै लगभग अभियानकै अन्तिम महिनामात्र सुरु हुन सक्यो। चीन र भारतमा गर्ने प्रचार सुरु हुनै पाएन। यति हुँदा पनि व्यवसायी सन्तुष्ट छन्।
'संख्यामात्र ठूलो कुरा होइन, वृद्धि दरबाट पनि हामी आशावादी छौं,' पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले आइतबार नागरिकसँग भने, 'पर्यटन वर्ष अभियानबाट हामी ८० प्रतिशत सन्तुष्ट छौं।'
गत वर्ष दुवै मार्गबाट गरी ६ लाख ८ हजार ७ सय ६९ पर्यटक आएको तथ्यांक रेकर्ड भएको थियो। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०११ मा हवाई र स्थल दुवै मार्गबाट गरी ७ लाख १९ हजार ५ सय ४७ पर्यटक आएका छन्। यसमा हवाई मार्गबाट ५ लाख ४४ हजार ९ सय ८५ तथा स्थलबाट १ लाख ७४ हजार ६ सय १२ आएका हुन्। हवाई मार्गबाट गत वर्षको दाँजोमा ९६ हजार २ सय १६ बढी पर्यटक आएका छन्।
बोर्डले यो तथ्यांकमा हवाई मार्गको पूरै र स्थलको ११ महिनाको पर्यटक आगमन समेटेको छ। २०११ डिसेम्बरको स्थल मार्गबाट आएका पर्यटकको संख्या आउन बाँकी रहेको बोर्डले जनाएको छ। 'डिसेम्बरमा स्थलबाट करिब ५० हजार पर्यटक आएको अनुमान छ,' शाक्यले भने।
सरकारले बाह्र वर्षपछि पर्यटक संख्या उच्च बनाउने उद्देश्य लिएर पर्यटन वर्ष राष्ट्रिय अभियान घोषणा गरेको थियो। यसअघि सन् १९९८ मा 'नेपाल भ्रमण वर्ष' मनाइएको थियो।
पर्यटन वर्षमा सरकारले चीन र भारतका पर्यटक बढी ल्याउने प्रमुख लक्ष्य लिएको थियो। यो अभियानका लागि सरकारले २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमध्ये बिबिसीलाई २ करोड ५४ लाख रुपैयाँ
र सिएनएनसँग पनि १ करोड ३६ लाख रुपैयाँमा विज्ञापन प्रसारण सम्झौता भई काम सुरु भइसकेको छ।
त्यसै गरी चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न ३ करोड र भारतका लागि ६ करोड छुट्ट्याइएको छ। हवाई मार्ग हुँदै चीनबाट १ लाख र भारतबाट २ लाख ६५ हजार ल्याउने लक्ष्य थियो।
अहिलेको तथ्यांकअनुसार चीनबाट ४५ हजार ४ सयमात्र आएका छन्। यो साढे ७७ प्रतिशतले बढी हो। भारतबाट १ लाख ४५ हजार ३ सय ३८ आएका छन्। वृद्धि ३९ प्रतिशत हो। तर, दुवै देशबाट लक्ष्य पूरा हुन सकेन। 'प्राविधिकलगायत विभिन्न कारणले चीन र भारतमा प्रचार गर्नै पाइएन,' शाक्यले भने, 'यसले गर्दा लक्ष्य भेट्न गाह्रो भयो।'
सरकारले पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि १३ करोड रुपैयाँ विनियोजन गरेको थियो। यसमध्ये भारतका लागि ६ करोड, चीन ३ करोड र बाँकी ४ करोड युरोप, अमेरिकालगायत देशमा प्रचार गर्न खर्च गर्ने योजना थियो।
१९९८ मा मनाइएको भ्रमण वर्षमा हवाई र स्थल मार्गबाट गरी ४ लाख ६३ हजार ६ सय ८४ पर्यटक आएका थिए। हवाई मार्गबाट ३ लाख ९८ हजार ८ र स्थलबाट ६५ हजार ६ सय ७६ आएका थिए। त्यसबेला पर्यटकको औसत बसाइ दर साढे १० दिन थियो।







0 comments:
Post a Comment