Wednesday, January 11, 2012

शनिबारदेखि लुम्बिनी भ्रमण वर्ष सुरु

काठमाडौं, पुस २८ (नागरिक)- बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व आकर्षणको केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको 'लुम्बिनी भ्रमण वर्ष २०१२' अभियान आगामी शनिबारबाट औपचारिक रूपमा सुरुवात हुँदैछ।

राष्ट्रपति रामवरण यादवले लुम्बिनी पुगेर अभियान उद्घाटन गर्ने कार्यक्रम छ। पर्यटन विकासप्रति प्रतिबद्धता कायम राखिरहन र यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको मान्यता दिँदै सरकारले भ्रमण वर्ष अभियान सुरु गर्न लागेको हो।
लुम्बिनी भ्रमण वर्षसँगै 'पर्यटन भिजन २०२०' सार्वजनिक गर्ने र 'नेपाल पर्यटन वर्ष २०११' औपचारिक समापन गर्ने कार्यक्रम छन्।

'लुम्बिनी भ्रमण वर्षले नेपाल पर्यटन वर्ष र पर्यटन भिजन कार्यक्रमबीच पुलको काम गर्नेछ,' लुम्बिनी विकास कोषको काठमाडौंस्थित सम्पर्क कार्यालयका प्रमुख ज्ञानिन राईले बुधबार नागरिकसँग भने, 'भ्रमण वर्ष अभियानले बुद्ध जन्मस्थललाई एकपल्ट फेरि विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने छ।'

उनका अनुसार लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र यसको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट आर्थिक सहयोग जुटाउने भ्रमण वर्षका प्रमुख उद्देश्य हुन्।

'यति संख्यामा पर्यटक ल्याउने भन्ने कुनै ठोस लक्ष्य लिएका छैनौं,' उनले भने, 'हाम्रो अनुमान अभियान अवधिमा स्वदेशी र विदेशी गरी १० लाख पर्यटक आउँछन् भन्ने हो, तर पर्यटक लक्ष्य गरेर अभियान सुरु गर्न लागिएको होइन।'

उनका अनुसार गत वर्ष लुम्बिनी भ्रमण गर्न पासपोर्टवाहक १ लाख २८ हजार पर्यटक आएका थिए। त्यसबाहेक नेपाली र भारतीय पर्यटक गरी करिब ५ लाखले लुम्बिनी भ्रमण गरेका थिए।

भ्रमण वर्षका लागि सरकारले हालसम्म बजेट नदिएको उनले जानकारी दिए। कोषकै वार्षिक बजेटबाट १३ करोड रुपैयाँ छुट्ट्याइएको उनले बताए।

अभियानअन्तर्गत पूर्व काँकडभिट्टा (मेची) देखि पश्चिम गड्डाचौकी (महाकाली) सम्म राजमार्गमा लुम्बिनीसम्बन्धी १ सय ८ वटा होर्डिङ बोर्ड राखिने छन्। यस्ता बोर्ड प्रत्येक ३० किलोमिटर दुरीमा राखिने छन्।

त्यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय, पोखरा, विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढीलगायत विमानस्थलमा पनि लुम्बिनी झल्काउने होर्डिङ बोर्ड राखिने छन्। 'लुम्बिनी हाम्रै सम्पदा हो भन्ने आभाष दिलाउन प्रत्येक घरधुरीमा लुम्बिनीको तस्बिर राख्न प्रेरित पनि गर्छौं,' उनले भने।

पर्यटन भिजन २०२०
सरकारले लुम्बिनी भ्रमण वर्ष सुरुवातकै दिन 'पर्यटन भिजन २०२०' अभियान सार्वजनिक गर्नेछ। पाँच दशकदेखि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटोका रूपमा पर्यटन क्षेत्रको योगदान रहँदै आएकाले भिजन सार्वजनिक गर्न लागिएको हो।

आर्थिक वृद्धि, विकास र रोजगारी सिर्जनामा पर्यटनको योगदानअनुसार भिजन अवधिमा अन्तर्राष्ट्रिय पर्यटक संख्या २० लाख पुर्‍याउने लक्ष्य लिइएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन वर्षमा हवाई र स्थल मार्गबाट पौने ८ लाख विदेशी पर्यटक नेपाल आएका थिए।

आर्थिक अवसर वृद्धिसँगै पर्यटन क्षेत्रमा १० लाख रोजगारी सिर्जना गर्ने पनि भिजनको लक्ष्य छ। भिजनबाट प्रमुख सरोकारवालालाई पर्यटन क्षेत्रको विकास गर्न 'गाइडलाइन' को काम गर्ने विश्वास लिइएको छ।

Source :(नागरिक)

0 comments:

Post a Comment