मनोज अधिकारी/सन्तोष पोखरेल, पोखरा, पुस १८- महत्वकांक्षी पर्यटन वर्ष २०११ उत्साहजनक नभए पनि सम्भावनाको संकेतसहित विदा भएको छ। नेपालमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरिए पनि त्यसअनुरुप सफलता भने हासिल हुन सकेन। तर व्यवसायीले यसलाई सकारात्मक भनी मुल्याङ्कन गरेका छन्।
यसअवधिमा मुलुककै पर्यटकीय सहर पोखरामा भने ५ लाख पर्यटक भित्र्याउने लक्ष्य थियो। पोखरामा भने यसको प्रभाव सन्तोषजनक परेको व्यवसायीको अनुभव छ।
व्यवसायीले समग्रमा पर्यटन वर्ष २०११ उत्साहजनक नभए पनि सुधारको संकेतसहित आशावादी लक्षणहरु भने दिएको बताएका छन्। पर्यटन वर्षलाई केही व्यवसायीले उत्साहजनक र निराशाजनक दुवै नभएको भन्दै मध्यमस्तरको मुल्याङ्ककन गरेका छन्। पर्यटनविद्हरुले भने घोषणासहित देश-विदेशमा प्रचार-प्रसार गरि बोलाउँदा पनि १० लाख पर्यटक ल्याउन नसक्नु योजनाकै असफलता भनी टिप्पणी गरेका छन्।
अनुमानअनुसार सन् २०११ मा पौने ४ लाख पर्यटक पोखरामा भित्रिएका छन्। हवाई र सडकमार्ग भएर आउने पर्यटकको अनुमानित आंकडा हो। यो सोचेअनुरुप नभए पनि उत्साहजनक रहेको पर्यटन वर्ष २०११ कार्यक्रम कार्यान्वयन समितिका पश्चिमाञ्चल संयोजक विप्लव पौडेलले जानकारी दिए। उनकाअनुसार पर्यटन वर्षको सबैभन्दा सकारात्मक पक्ष नेपाली (आन्तरिक) पर्यटनमा आएको उल्लेख्य बृद्वि हो।
पोखरा विमानस्थलकाअनुसार हवाईमार्ग भएर सन् २०११ मा ३ लाख ६९ हजार पर्यटक यहाँ भित्रिएका छन्। यो अघिल्लो वर्षको तुलनामा ९ हजार अर्थात् १३ प्रतिशत मात्र बढी हो। सन् २०१० मा ३ लाख ६० हजार पर्यटक हवाईमार्ग भएर पोखरा आएका थिए।
'पोखरामा सोचेजस्तो लक्ष्यमा पुग्न नसके पनि पौन चार लाख (करिब ३ लाख ७५ हजार) पर्यटक पोखरा आए' पर्यटन वर्षका पश्चिमाञ्चल संयोजक पौडेलले नागरिकसँग भने,'विदेशीको तुलनामा आन्तरिक पर्यटनमा आएको उल्लेख्य सुधारलाई भने दिर्घकालिन सकारात्मक प्रभावका रुपमा लिएका छौं।'
यो वर्ष आन्तरिक पर्यटनमा करिब २० प्रतिशतले बृद्वि भएको उनले जानकारी दिए। पश्चिमाञ्चल होटल संघका अध्यक्ष समेत रहेका पौडेलकाअनुसार अघिल्ला वर्षहरुमा यो दर निकै कम थियो। विगतका तुलनामा वर्षैभरी आन्तरिक पर्यटकले होटलहरु चलायमान रहिरहे। व्यवसायीले विदेशी पर्यटकको लस्कर देख्न मुख्य मौसम अक्टोबर, नोभेम्बर र डिसेम्बरनै कुर्नुपर्यो भने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति सधैंजसो देखिरहे।
'समग्रमा पर्यटन वर्ष २०११ सोचेअनुरुप उत्साहजनक नभए पनि यसले व्यवसायीलाई आगामी वर्षका लागि आशावादी हुने आधार दिएर गएको छ' पौडेलले नागरिकसँग भने,'संक्रमणकालमा पनि पर्यटन आगमन बढाउनु चुनौतीपूर्ण थियो।' पोखरामा पर्यटकस्तरका करिब पाँच सय होटल छन्। तीमध्ये २ सय ५५ होटलले संघमा सदस्यता नविकरण गरेका छन्। यी होटलले वर्षभरीमा औसतमा ५५ देखि ६० प्रतिशत कोठा बिक्री गरेको पौडेलले जानकारी दिए। उनकाअनुसार यहाँका होटलको कोठा बिक्री अहिलेसम्मकै उच्च दरमा भएको छ। यसलाई उनले इतिहासकै उत्कृष्ट वर्ष भनेका छन्।
'यसअघि यतिधेरै पर्यटक आएका पनि थिएनन्' लेकसाइडस्थित होटल बाराहीका सञ्चालक पौडेलले भने,'यहाँका होटलहरुको अकुपेन्सी पनि यतिधेरै कहिलै भएको थिएन। होटलहरुका लागि यो इतिहासकै उत्कृष्ट वर्ष भयो।' संक्रमणकालकाबीच राजनीतिक दलहरुमा आर्थिक क्रान्तिको सोच विकास हुनु, विगतको तुलनामा बन्द-हड्तालमा कमी आउनु र नेपालीहरुमा पनि आन्तरिक भ्रमणको संस्कार विकास हुनु पर्यटन व्यवसायका लागि सकारात्मक वर्ष बनेको उनले टिप्पणी गरे। यसले समग्र व्यवसायीकै आत्मबल बढाएको र अहिले मात्र नभएर भविष्य पनि यसमा उज्ज्वल छ भन्ने अनुभूति गराएको उनले बताए।
पौडेलले केही राजनीतिक उतारचढाव र पर्यटन मन्त्रीको पटक-पटक बेरबदल पनि पर्यटन वर्षको लक्ष्य पुरा नहुनुको एउटा कारण औंल्याए। राष्ट्रिय ध्वजावहाक विमान अभावमा पनि नेपालले पर्याप्त पर्यटक ल्याउन नसकेको उनको बुझाई छ। व्यवसायीले प्रसस्त दवाव दिए पनि राज्यले यसका लागि ठोस कदम चाल्न नसक्नु उनले अर्काे कमजोरी ठानेका छन्।
अघिल्ला पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माले करिब ६ महिनाको अवधि बीना योजना र बीना कुनै पूर्वाधार समय खेर फालेको उनको आरोप छ। उनकाअनुसार उक्त अवधिमा पर्यटन वर्षको एउटा पनि बैठक भएन। पर्यटन वर्षका लागि कुनै पनि कार्यक्रम अन्तर्गत बजेट पनि पास भएन। 'राजनीतिक अदुरदर्शीता र सोचको अभावका कारण पनि पर्यटन वर्ष सफल हुन केही बाधक बन्यो' उनले भने,'त्यतिबेला पर्यटन वर्ष बेकार र निराश मात्रै हुने हो कि भन्ने चिन्ता पनि छाएको थियो।'
पर्यटन वर्ष २०११ घोषित लक्ष्यको नजिक पुगे पनि यसको प्रभावले आगामी वर्षहरुमा पर्यटक आगमनमा १५ देखि २० प्रतिशतको बृद्वि सजिलै हासिल हुने उनको अनुमान छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटाले पर्यटन वर्ष उत्साहजनक र निराशाजनक दुवै हुन नसकेको टिप्पणी गरे। राज्यले व्यक्त गरेको प्रतिवद्धता अनुरुप काम नगरेकाले घोषित १० लाख पर्यटक ल्याउन नसकेको उनले बताए। 'तामझामसहित घोषणा गरेअनुरुप राज्यका संयन्त्रहरु प्रयोग हुन नसकेको र राज्यले भनेबमोजिम खर्च पनि नगरेकाले पर्यटन वर्ष सोचेअनुरुप हुन नसकेको हो' सापकोटाले भने।
अघिल्ला वर्षहरुमा १०-१२ प्रतिशत रहने पर्यटक आगमनको बृद्धिदर २०११ मा २२ प्रतिशतभन्दा माथि पुग्नुलाई उनले सकारात्मक संकेतको रुपमा लिएको बताए। उनकाअनुसार यसपटक पर्यटकको बसाई अवधि केही लम्बिएको अनुभव व्यवसायीले गरेका छन्। पोखरामा पर्यटकको औसत बसाई १.५ दिन रहेकोमा अहिले १.७ दिनको हाराहारीमा रहेको अनुमान छ। पोखरा र आसपासको क्षेत्रमा ट्रेकिङ, प्याराग्लाइडिङ लगायत साहसिक खेल पर्यटनका माध्यमबाट पनि समग्र पर्यटनमा राम्रो प्रभाव परेको उनको भनाई छ।
पर्यटनविद् झलक थापा भने नीतिगत र पूर्वाधारमा पर्याप्त तयारी बीना हतारमा गरिएको पर्यटन वर्ष घोषणाबाट नेपालले उपलब्धि हासिलभन्दा पनि नाक जोगाउनै नसकेको टिप्पणी गरेका छन्। संसारका कतिपय ठाउँमा करोडको संख्यामा पर्यटक पुगेभन्ने सुन्दा जिब्रो टोक्ने यहाँका नीति निर्माता र व्यवसायीले बोलाएर पनि १० लाख पर्यटक ल्याउन नसक्नु ठूलो कमजोरी हो भन्ने उनले ठानेका छन्।
उनले नेपाल आएका पर्यटकलाई राम्रो सत्कार र संस्कार दिएर पठाउन नसक्नु असफलताको मुख्य कारण मानेका छन्। 'हङकङमा ४-५ करोड र ग्रेटवालमा ३ करोड पर्यटक पुग्छन् भने हाम्रो जस्तो संसारकै सुन्दर देशमा किन १० लाख पर्यटक आउन सकेनन्' थापाले भने,'मुख्य कुरा हामीले पर्यटकलाई बोलाउन मात्र जान्यौं उनीहरुको मनमा नेपाल र नेपालको संस्कार दिएर पठाउन सकेनौं।'
एकपटक आउने पर्यटकलाई जबसम्म यहाँको संस्कार र आथित्यले जितेर पटक-पटक आउने बनाउन सकिंदैन तबसम्म यस्ता घोषणा जतिसुकै गरे पनि पर्यटकको संख्या कहिलै बढाउन नसकिने उनको तर्क छ। थापाले नेपाललाई पर्यटन मैत्री समाज बनाउन कक्षा ५ देखिकै पाठ्यक्रममा राखेर नयाँ पुस्तामा यसको सत्कार र संस्कारको शिक्षा दिनुपर्ने बताए।
'हामीले पर्यटकलाई राम्रो सत्कार र संस्कार दिएर भनभरी नाम्चे, मनभरी पोखरा, मनभरी रारा दिएर पठाउन सके उनीहरुलाई बोलाउनै पर्दैन' थापाले भने,'पर्यटक नेपालमा आफैं फर्केर आउँछन्।'
पोखरा घुम्न आउने विदेशी पर्यटकको संख्यामा वर्षेनी बृद्धि भएको छ। सन् २००९ को तुलनामा २०१० मा २७ हजार बढि विदेशी पर्यटकले पोखरा भ्रमण गरेका थिए। २०१० मा पोखरा भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २ लाख ३० हजार ७ सय ९९ थियो। पर्यटन कार्यालय पोखराकाअनुसार २००९ मा जम्मा २ लाख ३ हजार ५ सय २७ विदेशी पर्यटकले पोखरा भ्रमण गरेका थिए। २००९ माभन्दा २०१० मा २७ हजार २ सय ७२ थप विदेशी पर्यटकले पोखराको भ्रमण गरे। पोखरामा विशेषगरि बेलायत, जापान, जर्मन, चीन, अमेरिका, भारत लगायतका मुलुकका पर्यटक घुम्न आउँछन्। सन् २०१० मा पोखरा भित्रिएका विदेशी पर्यटकमध्ये ५२ हजार ७ सय ४० भारतीय र बाँकी तेश्रो मुलुकका थिए।
पर्यटन वर्षमा के के भए?
पर्यटन वर्ष लक्षित गर्दै पोखरा पर्यटन परिषद्ले पोखरा विमानस्थलमा सूचना काउण्टर, पर्यटक बसपार्क व्यवस्थापनसहित असारे रोपाई गर्ने र आरोहण दिवस मनाएको थियो। पश्चिमाञ्चल होटल संघले पर्यटकीय गतिविधि झल्काउने न्यूजलेटरसहित 'ईन्फरमेसन' डाईरेक्टरी प्रकाशन गर्ने कार्यक्रम अघि सार्यो। त्यस्तै मेला, महोत्सव गर्ने र फेवाताल सरसफाई लगायतका कार्यक्रम पनि भए।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा) ले विभिन्न देशमा प्रमोशनल टुर आयोजना गर्यो। जसअन्तर्गत नाटाले मलेशिया, सिंगापुर, दक्षिण भारत तथा चीन र पूर्वि एशियाका विभिन्न देशमा प्रमोशनल टुर गर्याे। साईकल दौड, टुरगाईड र सवारी चालकलाई तालिम, दृष्यावलोकन कार्यक्रम समेत नाटाबाट भए।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले पर्यटन वर्षको अवधिभर हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लेकसाईडमा सडक महोत्सव गर्ने कार्यतालिका सार्वजनिक गर्याे। तर यस तालिकाअनुसार वर्षैभरी कार्यक्रम हुन भने सकेन। वर्षेनी हुँदै आएको सडक महोत्सवलाई भने निरन्तरता दिईयो।
टेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) क्षेत्रीय च्याप्टरले कालिगण्डकी भ्याली प्रमोशनल टुर, धौलागिरी ट्रेकिङ रुट एक्सप्लोरेसन, नयाँ पदमार्गको नक्साङ्ककन गर्दै काठमाडौं-पोखरा ऐतिहासिक मार्गको प्रवर्द्वन गरेको छ। पर्यटन वर्षमा डेढ दिनको पोखरा बसाईलाई लम्बाएर ३ दिन पुर्याउने व्यवसायीको लक्ष्य भने पुरा हुन सकेन। यस्तै पर्यटकको औषत प्रतिदिन खर्च ७० डलरलाई बढाएर १ सय डलर पुर्याउने लक्ष्यमा केही प्रगति भए पनि पुरा नभएको व्यवसायीले बताए।
MONDAY, 02 JANUARY 2012 नागरिक







0 comments:
Post a Comment