वाषिर्क १० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षासाथ सरकारले घोषणा गरेको पर्यटन वर्ष २०११ लाई आगामी पाँच वर्षे अभियानका रूपमा मनाउने भएको छ । मुख्यतः नेपाल भ्रमण वर्ष १९९८ को सफलतापछि निरन्तर प्रवर्द्धनात्मक अभियान आवश्यकता भएकाले सरकारले फेरि यस्तो घोषणा गरेको थियो ।
पर्यटन वर्ष मनाएर पर्यटक दर बढाउने लक्ष्य लिइए पनि अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावकारी नहुँदा अपेक्षा गरेअनुसार पाहुना नआउने दाबी पर्यटन वर्ष २०११ राष्ट्रिय सचिवालयले जनाएको छ । अहिले देखिएको २५ प्रतिशत पर्यटकको वृद्धिदर पर्यटन वर्षका कारण नभई अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी थप हुनुले देखिएको निजी क्षेत्रको दाबी छ । त्यसमा पनि त्रिभुवन विमानस्थलले थेग्न सक्नेभन्दा बढी यात्रु र हवाई आवागमनले यो वृद्धिदर पनि एक/दुई वर्षमा हालकै स्थितिमा सीमित हुन सक्ने व्यवसायीहरू बताउँछन् । 'कन्ज्युमर मार्केट' मा पुग्न नसक्दा पर्यटन वर्ष २०११ को प्रमुख लक्ष्य नै पछिल्तिर धकेलिने हो कि, शंका छ । लक्ष्य पूरा गर्न पर्यटक आगमनको औसत वृद्धि ३१ प्रतिशत कायम हुनुपर्ने देखिन्छ । यो प्रवर्द्धन अभावमा सम्भव नभएको व्यवसायीहरू बताउँछन् ।
पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्र र सरकार दुवैबाट अख्तियारी पाएको नेपाल पर्यटन बोर्डले अभियान सचिवालयको जिम्मेवारी सम्हालिरहेको छ । यसका लागि सयौंलाई पर्यटन राजदूत तोकिए पनि जिम्मेवारी पाएका अहिले निष्त्रिmयजस्तै छन् । अन्तर्राष्ट्रिय मेलामा नेपाल प्रवर्द्धन जारी
छ । स्वदेशमै थुप्रै पर्यटकीय गन्तव्य पहिचान भएका छन् । यद्यपि, 'पर्यटन वर्ष घोषणा हुँदाजस्तो जोस अब न सचिवालयसँग छ, न सरकार नै सक्रिय छ,' सचिवालयकै एक सदस्यले बताए ।
विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा नेपाल संसारका ५० औँ गन्तव्य स्थलमध्ये एकमा दर्ता भइसकेको छ । यसलाई कायम राख्न नेपाली पर्यटनलाई प्राथमिकतामा राखी नीति बनाइनुपर्ने व्यवसायी बताउँछन् । सन् १९९९ मा ४ लाख ९३ हजार पर्यटक नेपाल आएका थिए । त्यसपछि २०१० मा हालसम्मकै धेरै ६ लाख १० हजार पाहुना नेपाल भित्रिएका थिए । तर अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीले आफूलाई फाइदा नभएको अवस्थामा उडान रोकेपछि पर्यटन क्षेत्र फेरि ओरालो लाग्ने निश्चित छ । त्यतिबेला व्यवसायी, सरकार र सम्बद्ध निकायले निधार खुम्च्याएर बस्नुको विकल्प हुनेछैन । त्यसैले निगमको जहाज खरिद प्रक्रिया जतिसक्दो चाँडो टुंग्याउनुपर्ने निजी क्षेत्रको पहिलो माग बनेको छ ।
त्यसो त अहिले पर्यटन उद्योगलाई पाहुनाको आतिथ्य गर्नमै फुर्सद छैन । यतिमै सीमित हुने या घोषित भिजन २०२० को लक्ष्य पूरा गर्न अहिल्यै तयार रहने ? यसको लक्ष्य सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक ल्याउनु हो तर दोस्रो विमानस्थल निर्माणका लागि अन्तिम निर्णय भइनसक्नु, द्रुत मार्ग बनाउन ढिलाइ हुनु र पदयात्रा क्षेत्रमा आवश्यक पूर्वाधारका लागि सरकारको ध्यान नपुग्नु आदि समस्या यथावतै छन् ।
१ सय ३२ राष्ट्रसँग दौत्य सम्बन्ध स्थापित नेपालले यहाँ रहेका निकाय मात्र नभई सम्बद्ध राजदूतावासहरूलाई पर्यटन प्रवर्द्धनका लागि परिचालित गर्नुपर्छ । संसारका विभिन्न मुलुकमा राजदूत र महावाणिज्यदूतका रूपमा मुलुकको प्रतिनिधित्व गरिरहेका कूटनीतिक नियोगहरूलाई पनि जिम्मेवार बनाउनु आवश्यक छ । यहाँबाट प्रवर्द्धनका लागि दूतावास पठाइने सामग्रीको सदुपयोग नहुने गरेको बोर्डकै कर्मचारी पनि स्विकार्छन् । एकपल्ट ब्रोसर, सिडीलगायत प्रचार सामग्री दूतावासमा पुर्याइदियो, अर्कोपल्ट जाँदा जस्ताको तस्तै । बोर्डले दूतावासलाई प्रवर्द्धनका लागि १० देखि ५० लाख रुपैयाँसम्म दिने गरेको भए पनि एक दुई स्थानमा मात्र यस्ता गतिविधि भएका छन् । जसमध्ये अमेरिका र बेलायतमा केही समयअघि त्यहाँ चल्ने मेट्रो बसहरूमा पर्यटन वर्ष अंकित ब्यानर राखेर नेपालको प्रचारप्रसार गरिएको थियो ।
वाषिर्क २७ अर्ब बराबर विदेशी मुद्रा आर्जन गरी अर्थतन्त्रमा योगदान दिइरहेको पर्यटनका लागि भोलि होइन, आजैदेखि प्राथमिकतासाथ योजना सार्वजनिक गर्नु आवश्यक छ । यसको अभावमा सन् २००९ को जुनदेखि सुधार देखिन थालेको पर्यटन उद्योगले यथास्थितिमै चित्त बुझाउनुपर्ने हुन सक्छ ।
source: kantipur







0 comments:
Post a Comment