देशकै सबैभन्दा ठूलो रारासँगै गहिरो ताल सेफोक्सुन्डो समेत रहेको मध्यपश्चिम क्ष्ाेत्रमा सन् २०११ को पहिलो ८ महिनामा ४ हजार पर्यटक मात्रै घुम्न आएका छन् । जुन नेपाल घुम्न आउने पर्यटकको ० दशमलव ०१ प्रतिशत मात्रै हो । यस अवधिमा करिब ४ लाख पर्यटक नेपाल घुम्न आएका थिए ।
सरकारद्वारा नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजनामा परेको मध्यपश्चिमका पर्यटकीय स्थलले पाहुनालाई आतिथ्य दिन पाएका छैनन् । 'निकै कम विदेशी पाहुना आउँछन्,' नेपालगन्जस्थित पर्यटन कार्यालयका प्रमुख भरत मल्लले भने ।
स्थानीयहरू पनि भाषणमा मध्यपश्चिमलाई पर्यटकीय हब बनाउने भनिए पनि काम केही नभएको गुनासो गर्छन् । 'पर्यटन वर्ष सकिन थाल्यो । यहाँ पर्यटक ल्याउने कुनै काम भएका छैनन्,' स्थानीय तुलबहादुर चौधरीले भने, 'विकासका नाममा बनेका समितिले समेत काम गरेका छैनन् ।'
मध्यपश्चिमको मुख्य आकर्षण चिसापानी क्षेत्र र राष्ट्रिय निकुञ्जसँगै कर्णाली, रारा र सेफोक्सुन्डोजस्ता स्थल सुनसान रहने गरेको चिसापानी क्षेत्र पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
सरकारले यसपालि भने रारामा पर्यटकीय आवास बनाउने तयारी गरिरहेको छ । तर स्थानीय पर्यटन विकास समितिमा दलीय मतभेदले काम पूरा हुने/नहुनेमा शंका छ । 'त्यहाँ पुगेका पर्यटक बस्ने ठाउँ छैन,' पर्यटन मन्त्रालय योजना शाखाका लोकबहादुर खत्रीले भने, 'यस्तोमा चाहेर पनि प्रवर्द्धन गर्न गाह्रो
छ ।' योजना ल्यायो समितिको झगडाले काम हुन नसक्ने अवस्था आउने गर्छ ।'
'विदेशी पाहुना फाट्टफुट्टमा देखिन्छन्, होटल प्रायः शून्य हुन्छन्,' होटल व्यवसायी समेत रहेका समिति अध्यक्ष भट्टराईले भने, 'यता २०११ को कुनै प्रभाव पर्न सकेन ।' यो अवधिमा धेरै पर्यटक आउलान् भन्ने आशाले उनीहरूलाई घुमाउन राखिएका हात्तीले पनि काम पाएका छैनन् । 'चारैतिर पर्यटन वर्षको हल्ला चल्दा यहाँ पनि पहिलेभन्दा बढी पाहुना आउलान् भन्ने सोचेका थियौं,' बर्दिया राष्ट्रिय निकुञ्ज स्थित हात्तीसारका कर्मचारी श्याम छेत्रीले भने, 'उनीहरूलाई घुमाउन राखेका हात्तीले कामै पाएनन् ।'
पर्यटन मन्त्रालयअन्तर्गत चिसापानी क्षेत्र पर्यटन प्रवर्द्धन समितिले समेत पाहुना आकषिर्त गर्ने कार्यक्रम बनाएकै छैनन् । 'पर्यटक आकषिर्त गर्ने कुनै कार्यक्रम छैनन्,' मल्लले भने, 'त्यसमाथि यस क्षेत्रमा बन्द हडतालजस्ता गतिविधि निरन्तर भइरहेकाले पनि पर्यटक आउन छोडेका हुन् ।' बन्दकै कारण मंगलबारमात्र निकुञ्ज जाने कार्यक्रम बनाएका १ सयभन्दा बढीले निर्धारित कार्यक्रम रद्द गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार र बुधबार बन्द आह्वान गरेको छ ।
Source : Kantipur daily
प्रकाशित मिति: २०६८ आश्विन







0 comments:
Post a Comment