Monday, September 5, 2011

दक्षिण एसियामा नेपालको वृद्धिदर उच्च

काठमाडौ, भाद्र १५ - प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का अनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा रुचाइएको पर्यटकीय गन्तव्य भएको देखिएको छ । पाटाले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सन् २०११ को पहिलो ६ महिनामा नेपाल घुम्ने विदेशी पाहुनाको संख्या अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढेको छ । यो वृद्धिदर यस क्षेत्रकै सबैभन्दा बढी हो ।

यो ६ महिनामा दक्षिण एसियामा १२ प्रतिशत बढी पर्यटक घुम्न आएका छन् । पाटाको तथ्यांक अनुसार दोस्रो स्थानमा रहेको माल्दिभ्स घुम्ने पर्यटक २७ र श्रीलंका आउने पाहुनाको संख्या २० प्रतिशतले बढेको छ । त्यस्तै, भारतमा ७ दशमलव २ प्रतिशत बढी पर्यटक आएको उल्लेख छ । यो अवधिमा २९ लाख १९ हजार पर्यटकले भारत घुमेको पाटाको तथ्यांकमा छ । दक्षिण एसियाली क्षेत्रको पर्यटन क्षेत्रमा देखिएको वृद्धिमा युरोपियन पाहुनाको सबैभन्दा बढी योगदान हुने गर्छ ।

यसपालि युरोप र अमेरिकाको कमजोर अर्थतन्त्रका कारण एसिया/प्यासिफिक क्षेत्रमा अन्तर क्षेत्रीय मुलुकका पाहुनाले बढी भूमिका खेलेको पाटा, रणनीतिक अनुसन्धान केन्द्रका निर्देशक क्रिस लिमले प्रतिवेदनमा भनेका छन् । उनका अनुसार क्षेत्रीय अर्थतन्त्र बलियो हुनु र यी क्षेत्रभित्र विमान कम्पनीको सिट क्षमता वृद्धिका कारण नेपालमा बढी पर्यटक भित्रिएका हुन् ।

लिमका अनुसार हालकै वृद्धिदर कायम रहे २०११ को अन्त्यसम्म एसियाली क्षेत्रको पर्यटक आवागमन ४३ करोड ३० लाख पुग्नेछ । गत वर्ष यो क्षेत्रमा घुम्ने पर्यटकको संख्या ४० करोड ८० लाख थियो । पाटाका अनुसार क्षेत्रीय आधारमा दक्षिण-पूर्वी एसियामा सबैभन्दा बढी १५ दशमलव ५ प्रतिशतले पर्यटक बढेका छन् । यस क्षेत्रमा पर्ने मुख्य पर्यटकीय मुलुक थाइल्यान्ड घुम्ने पर्यटक ५४ प्रतिशत बढेको तथ्यांकमा छ । यहाँ जाने पर्यटकमा चिनियाँको संख्या उच्च रहेको तथ्यांकमा छ । त्यस्तै, उत्तरपूर्वी एसियाली क्षेत्र पर्यटक वृद्धिदरमा सबैभन्दा पुछारमा छ । २०११ को ६ महिनामा यो क्षेत्रको पर्यटक आवागमन शून्य दशमलव ६ प्रतिशत मात्र बढेको पाटाले जनाएको छ । यो क्षेत्रका मुलुकमा हङकङको १६, मकाउ १५ र कोरियाको ११ प्रतिशत छ । चीन जाने पर्यटक एक प्रतिशतले मात्र बढेका छन् । त्यस्तै, जापान र चाइनिज ताइपेई जाने विदेशी पाहुना घटेको तथ्यांकमा छ ।

तर नेपाल पर्यटन बोर्डको तथ्यांकले अघिल्लो वर्षको तुलनामा यो अवधिमा नेपाल आउने विदेशी पाहुना २५ प्रतिशत मात्र बढेको देखाएको छ । बोर्डका अनुसार जनवरीदेखि जुनसम्म २ लाख ४५ हजार ३ सय पर्यटक हवाई मार्ग हुँदै नेपाल घुमेका छन् । नेपालका लागि पर्यटक आउने मुख्य बजारमा भारत, अमेरिका, बेलायत र चीन पर्छन् ।

नेपालको हवाई मार्गबाट आउने पाहुना मात्र पर्ने भएकाले देखिएको वृद्धि अझै कम भएको बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलाले बताए । 'उनीहरूको तथ्यांक लिने आफ्नै माध्यम हुन्छ,' उनले भने 'बोर्डसँग समन्वय हुँदैन । तथ्यांक संकलन गर्दा ५ प्रतिशतसम्म तलमाथि पर्न सक्छ ।' विभिन्न प्राविधिक त्रुटिका कारण बोर्डको तथ्यांकमा २५ प्रतिशत वृद्धि देखिएको उनले बताए । 'वास्तविक वृद्धि २८ प्रतिशतभन्दा तल छैन,' निरौलाले भने ।

यसपालि बोर्डले गरेको सर्भेमा विभिन्न ८ नाकाबाट वाषिर्क ५ लाखको हाराहारीमा भारतीय मात्र आउने गरेको उल्लेख छ । भारत र चीनबाट बाहिर घुम्न जानेहरू निकै बढेकाले दक्षिण एसियाका पर्यटकीय मुलुकहरू लाभान्वित भएको पाटाले जनाएको छ ।


Source : Kantipur
प्रकाशित मिति: २०६८ भाद्र १५

0 comments:

Post a Comment