पर्यटन प्रवर्द्धनका नाममा हल्ला धेरै गर्दै सरकारले चालू आर्थिक वर्ष २२ वटा पर्यटकीय आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि दुईवटा मात्र पूरा गरेको छ ।
पर्यटन मन्त्रालयले सुरु गरेको काममा साँखु-नगरकोट-बनेपा- धुलिखेल -३० किलोमिटर) पदमार्ग र दामोदर कुण्ड पदयात्रा सुधार कार्य मात्र सकिएको हो । मन्त्रालयले चालू आर्थिक वर्षका लागि २२ आयोजनामा काम सुरु गरेको थियो । तीमध्ये दुई आयोजना स्थगित गरेको छ । सरकारले पर्यटकीय पूर्वाधार विकासका लागि १७ करोड ४६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
पर्यटकीय पूर्वाधार विकास आयोजना प्रमुख रवि शाहका अनुसार अर्थले विनियोजित बजेटबाट १ करोड ३७ लाख रुपैयाँ कटौती गरेपछि दुई आयोजना स्थगित गर्नुपरेको हो । त्यस्तै सिन्धुली- हरिहरपुरगढीमा पर्यटकीय पूर्वाधार विकासका लागि गुरुयोजना तयार गर्ने योजना स्थगित भएको छ । 'अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन वर्ष २०११ को ल्यान्डमार्क स्ट्रक्चर निर्माण गर्ने काम पनि रोकिएको छ,' शाहले भने, 'सरकारले जग्गा लिन सकेन, अर्थले पनि बजेट घटाइदियो, त्यसैले काम स्थगित भयो ।'
आयोजनाको मुख्य कार्यक्रम अन्तर्गत रहेका पदयात्रा मार्ग निर्माण पनि १५ प्रतिशत मात्र सम्पन्न भएको छ । चालू आवभित्र २ सय १८ किमि पदयात्रा मार्ग निर्माण हुनुपर्नेमा मात्र ३२ किमि काम भएको आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै मन्त्रालय अन्र्तगत पूर्वाधार विकास आयोजनाले दक्षिणकालीदेखि सुन्दरीजलसम्मको पदयात्रा मार्ग -३५ किमि) र फूलचोकी- दसचोक -३८ किमि) पदयात्रा मार्ग निर्माणका लागि फेरि बोलपत्र आह्वान गरेको छ । 'बोलपत्र मूल्यांकनमा कुनै प्रस्ताव पास नभएपछि पुनः आह्वान गरेका छौं,' शाहले
भने ।
रसुवा गोसाइँकुण्डमा पर्यटकको सुविधाका लागि यात्री निवासको निर्माण कार्य सम्पन्न हुनुपर्नेमा राष्ट्रिय निकुञ्जबाट स्वीकृति पाउन ढिलाइ भएकाले काम सुरु भएको छैन । 'जेठ ३१ गते मात्र स्वीकृति पायौं,' उनले भने, 'अर्को आर्थिक वर्षको सुरुवातमै काम थालिनेछ ।'
गुल्मी रेसुङ्गा केवलकार, जनकपुर पर्यटकीय गुरुयोजना र स्याङ्जा/राम्दीघाट पदयात्रा मार्गको सम्भाव्यता अध्ययन पूरा गरिसक्नुपर्नेमा परामर्शदाता छनोट गरी स्थलगत निरीक्षणमा खटाइएको शाहले जानकारी दिए । भक्तपुर चाँगुनारायण मन्दिरको सौन्दर्यीकरण तथा वरपर बाटो निर्माण, नीलबाराही मन्दिरको सौन्दर्यीकरण तथा गणेशमान वाटिका सुधार कार्य पनि असार मसान्तसम्म पूरा हुनुपथ्र्यो ।
यीमध्ये दुई योजनाको केही प्रतिशत काम मात्र भएको छ । 'सुधारका लागि अझै उपभोक्ता समितिसँग छलफलकै क्रममा छौं,' उनले भने ।
आयोजनाले काठमाडौंको चन्दागिरी, शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिन्चोक र मुस्ताङको मुक्तिनाथमा केवलकार निर्माणका लागि लगानीको पूर्वसम्भाव्यता अध्ययन जारी राखेको छ ।
प्रकाशित मिति: २०६८ अषाढ १९
Source: kantipur







0 comments:
Post a Comment