होटलहरू ९५ प्रतिशत बुक
काठमाडौ, आश्विन १० - नयाँ सरकार, केही स्थायित्व द्वन्द्वपछि आर्थिक क्षेत्रमा राजनीतिक दलहरूले देखाउन थालेको चासोले पर्यटन उद्योगमा पनि आशा जगाएको छ । नयाँ पर्यटकीय मौसमका लागि अब कोठा बुक गर्न चाहने पाहुनाले नपाउने सम्भावना बढेको छ । प्रायः होटलका ९५ प्रतिशत कोठा ओगटिइसकेका छन् ।
पर्यटकीय मौसमको सुरु हुनु अगावै देखिएको बुकिङले व्यवसायीहरूलाई यो वर्ष निकै फलदायी हुने आशा छ । 'अक्टुबरबाट सुरु हुने आउँदो मौसमका लाग होटलको बुकिङ झन्डै ९५ प्रतिशत छ, 'होटल संघका माधवओम श्रेष्ठले भने, 'लामो समयपछि सुन्दर दिनको व्यग्र प्रतीक्षामा छौं ।' बुकिङको क्रम अझ बढिरहेको छ ।
दसैंतिहारमा घर र्फकने नेपालीको संख्या पनि उल्लेख्य हुने गरेकाले सम्भावित पाहुनाहरूलाई हवाई टिकट पाउनसमेत गाह्रो हुने स्थिति आएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्सी (नाटा) का अध्यक्ष अर्जुन शर्माले बताए ।
दुई वर्षअघिको तुलनामा हवाई सिट संख्या शतप्रतिशत बढे पनि टिकट पाउन सजिलो नभएको उनी बताउँछन् । 'बाहिर भएका नेपाली आउने र विदेशी पाहुना पनि नेपाली संस्कृति बुझ्न तथा यहाँ घुम्न आउने मौसम हो,' शर्माले भने, 'यसले गर्दा आउन चाहनेले पनि अर्को मौसमसम्मका लागि कार्यक्रम स्थगित गर्नुपर्ने हुन सक्छ ।' करिब डेढ वर्षअघि नेपाल आउने सिट संख्या १८ हजार रहेकामा हाल विमान कम्पनी बढेर ४२ हजार नाघेको छ ।
यो मौसममा अधिकांश टिकट बिक्री भइसकेको छ । विशेषगरी युरोपबाट आउन पर्यटकले टिकट पाउन सक्ने अवस्था छैन । युरोपका विभिन्न सहरबाट काठमाडौं उडान गर्ने कतार, गल्फ र ठूलो सञ्जाल भएको थाई एयरवेजले अक्टुबरदेखि तीन महिनाका लागि अघिकांश टिकट बुक भएको जनाएका छन् । केहीले थप उडान (चार्टर) का लागि तयारी गरिरहेका छन् ।
'बुकिङको दर अत्यन्त उत्साहजनक छ,' ह्यात होटलका एक कर्मचारीले भने, 'अक्टुबर र नोभेम्बरका लागि औसतमा ९० प्रतिशत कोठा बुक भइसकेका छन् ।' तर यो मौसम अन्तर्गत झन्डै आधा समयका लागि भने सबै कोठा बुक भइसकेको उनले बताए । 'चाखलाग्दो ढंगले अझै बुकिङ बढ्ने क्रम जारी छ' उनले भने ।
वास्तविक बुकिङ संख्या भने मौसम सुरु हुनु १५/२० दिनअघि निक्र्योल हुन्छ । 'हामी त्यो दिनको प्रतीक्ष्ाामा छौं,' ती कर्मचारीले भने । याक एन्ड यती होटलको बुकिङ पनि उत्तिकै उत्साहजनक छ । 'यदि बुकिङको अवस्था यस्तै रहने हो भने यो मौसममा हाम्रो होटलका सबै कोठा भरिने छन्,' होटलका बजार निर्देशक भरत जोशीले भने, 'हाम्रो मात्र होइन अरू होटलमा पनि कोठा पाउन गाह्रो छ ।'
अघिल्ला वर्षमा पहिले बुकिङ नगरी एक्लै घुम्न आउने पाहुनाले पनि तारे होटलमा बस्न पाउँथे, अहिले अवस्था परिवर्तन भएको नाटा अध्यक्ष शर्माले बताए । 'फ्री इन्डिपेन्डेन्ट ट्राभलर (एफआइटी) हरूले यो मौसममा ठूला तारे होटलमा कोठा पाउने छैनन्,' उनले भने 'तल्लोस्तरका होटल खोज्नुपर्ने छ ।' यसले गर्दा प्रमुख मौसमका लागि ठमेलका सस्ता र साना होटल पनि ९० प्रतिशतसम्म भरिने आशा व्यवसायीको छ ।
'ठमेलका ठूला होटलको ७० देखि ८० प्रतिशत कोठा पाहुनाले ओगटिसकको छन्,' ठमेल पर्यटन विकास समितिका तेजेन्द्रनाथ श्रेष्ठले भने । ठमेलमा मात्र होटल र गेस्टहाउस गरी २ सय ५० छन् र यिनमा झन्डै ५ हजार कोठा छन् ।
यही दरले पर्यटक आएमा आतिथ्य सत्कार उद्योगका लागि सबैभन्दा राम्रो समय हुने आशामा व्यवसायी छन् । २०१० मा ६ लाख १० हजार पाहुना नेपाल घुम्न आएका थिए । नेपाल भ्रमण वर्ष १९९८ लगत्तै १९९९ मा ५ लाख पर्यटक नेपाल आएका थिए ।
यो उत्साहको प्रतिविम्ब राजधानी बाहिरका होटल र पदयात्रा कम्पनीमा पनि देखिन्छ । 'सबै क्षेत्रको बुकिङबाट यो मौसममा पदयात्रा व्यवसायीले पनि राम्रो व्यापार पाउने अवस्था छ,' ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापाले भने । नेपाल आउनेमध्ये करिब २५ प्रतिशत पर्यटक पदयात्रामा जान्छन् ।
करिब २ खर्ब रुपैयाँ लगानी भएको होटल उद्योगले रोजगारी र वैदेशिक मुद्रा आर्जनमा समेत उल्लेख्य योगदान पुर्याउँदै आएको छ । राजधानीमा ७ वटा पाँच तारे होटल छन् । मुलुकभर एक दर्जन ४ तारे होटल छन् । होटल संघको सदस्य भएका होटल संख्या २ सय ५० छ । सदस्य नभएका समेत करिब १ हजार होटल छन् । सबै होटल गरी करिब ३० हजार कोठा छन् । सरकारले पर्यटन वर्ष घोषणा गरेपछि खुलेका होमस्टेका कारण पर्यटकको आवासका लागि ५५ हजार कोठा थपिएको अनुमान छ ।
प्रकाशित मिति: २०६८ आश्विन १०
Source : Kantipur







0 comments:
Post a Comment