काठमाडौ, अषाढ २ - सरकारी उदासीनताले पर्यटन वर्षको आधा समय सकिन लाग्दा पनि उपलब्धि न्यून भएपछि निजी क्षेत्रका प्रतिनिधिहरू यस कार्यक्रमबाटै बाहिरिने तयारीमा छन् ।
औपचारिक शुभारम्भ र क्षेत्रगत रूपमा २०११ को लहर पुर्याए पनि लक्षित पर्यटक ल्याउन मुख्य सहयोगी मानिएको अन्तर्राष्ट्रिय प्रवर्द्धन कार्यक्रमले ठोस रूप लिन नसक्दा निजी क्षेत्रका प्रतिनिधि निराश भएका हुन् । भ्रमण वर्ष सचिवालय अन्तर्गगतका समितिहरूमा १२ जना निजी क्षेत्रका प्रतिनिधि छन् ।
मुख्य काम नै नहुने भएपछि समितिमा बस्नुको औचित्य नभएको सचिवालयअन्तर्गत वस्तु/गतिविधि विकास समितिका एक सदस्यले बताए । '६ महिना लगाएर तयार पारेको कार्यक्रमको प्रक्रिया नै अगाडि बढिरहेको छैन,' ती सदस्यले भने, 'काम नपाएर समितिमा बसेका त होइनौं नि ।'
चालू आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि १३ करोड रुपैयाँ छुट्याइएको छ । बजेट भए पनि पर्यटनमन्त्रीले वास्ता नगर्दा काम अघि बढ्न नसकेका ती सदस्यले बताए । 'यस विषयमा मन्त्रीले एकपटक पनि छलफल समेत छैनन्,' उनले थपे । यसै पनि झन्डै चार महिना ढिला आएको बजेट र त्यपछिको लामो सार्वजनिक खरिद प्रक्रियाले प्रवर्द्धन सन्तोषजनक छैन । त्यसमाथि सबै कुरा तयार हुँदा मन्त्रीले त्यसमा चासो नदिँदा काम नभएको सचिवालयको भनाइ छ ।
भारतमा मे महिनादेखि सुरु गरिने भनिएको 'समर स्प्लेन्डर' प्रवर्द्धनात्मक कार्यक्रम हुन सकेन । भारतका लागि पर्यटन वर्ष प्रवर्द्धन गर्न ५ करोड २५ लाख रुपैयाँ छुट्टयाएको छ ।
चीनका लागि जुन र जुलाई महिना लक्षित गरिएको थियो । 'यो कार्यक्रम पनि नहुने भयो,' सचिवालय सदस्यले भने । सरकारले चीनमा प्रवर्द्धनात्मक काम गर्न ३ करोड रुपैयाँ छुट्टयाएको छ । युरोप तथा अन्य बजारमा बिबिसी र सिएनएनलाई प्रवर्द्धनको जिम्मा दिने तयारी समितिको छ ।
पर्यटन बोर्डले आफ्नो नियमित कार्यक्रमअन्तर्गत केही स्थानमा सञ्चालित मेलामा गरेको प्रचारप्रसार मात्र काफी नहुने भएकाले 'कन्ज्युमर बजार' का लागि यस्तो प्रवद्धर्नात्मक योजना बनाइएको हो ।
मन्त्रालयले भने सरकारद्वारा अनुदानका रूपमा दिइएको यो रकम सचिवालयले २०११ को अन्तिमसम्म प्रयोग गर्न पाउने भएकाले आत्तिनु नपर्ने बताएको छ । 'प्रवर्द्धनका लागि छुट्टयाइएको रकम फ्रिज नहुने भएकाले प्रक्रिया पूरा हुनासाथ काम गर्न सक्छन्,' मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले भने, 'विज्ञापन जिम्मेवारी दिन छनोटमा परेका कम्पनीको वित्तीय पक्षबाट प्रस्ताव अध्ययन भइरहेको छ ।'
धेरै पर्यटक नआउने समय 'अफ सिजन' का लागि भारत र चीनमा प्रवर्द्धन योजना बनाइएको थियो । 'समय सकिएपछि प्रवर्द्धन गर्नुको के फाइदा,' प्रवर्द्धन समितिका अर्का सदस्यले भने, 'अनौपचारिक रूपमा प्रवर्द्धन प्रक्रिया फेरि सुरु गर भन्ने मन्त्रालयको निर्देशन छ ।' यस्तोमा पर्यटन वर्षका कार्यक्रम सफल नहुने निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ ।
प्रकाशित मिति: २०६८ अषाढ २
Source : Kantipur







0 comments:
Post a Comment