काठमाडौ, भाद्र ८ - विश्व पर्यटन संगठनले नेपालको दिगो विकासका लागि आवश्यक जनशक्ति तयार पार्न आर्थिक सहयोग गर्ने भएको छ ।
यहाँ पर्यटनले रोजगारी र आर्थिक वृद्धिदरमा महत्त्वपूर्ण योगदान पुर्याइरहेकाले थप विकासका लागि पहल थालेको हो । संगठनले एसएभी नेदरल्यान्ड विकास संगठनसँग सहकार्य गरी विकासोन्मुख मुलुकको सहयोग गर्ने घोषणा गरेको छ । संगठनले नेपालसँगै बेनिन, कम्बोडिया, घाना, माली, मोजाम्बिक र भियतनामलाई पनि सहयोग गर्ने जनाएको छ ।
यी मुलुकका लागि २० करोड ९५ लाख २० हजार रुपैयाँ (२० लाख युरो) खर्च गर्ने संगठनको वेबसाइटमा उल्लेख छ । यस कार्यक्रमअन्तर्गत छनोट भएका मुलुकका ८ हजार पर्यटन मजदुर र व्यवसायीलाई तालिम दिने तथा प्रतिस्पर्धी मुलुकको विकास शिक्षालाई हस्तान्तरण गर्न विभिन्न कार्यक्रम गरिने संगठनले जनाएको छ ।
शान्ति प्रक्रिया सुरु भएपछि पर्यटन विस्तारले नेपालमा गति लिन थालेको छ । यसका कारण सबैभन्दा बढी पर्यटक आएको सन् १९९९ अब इतिहास बनिसकेको छ । यो वर्ष ५ लाख पर्यटक आएका थिए । त्यसपछि जनयुद्धका कारण घट्दै गएको पाहुना संख्या, शान्ति स्थापना प्रक्रिया सुरु भएपछि सन् २०१० मा नयाँ रेकर्ड बनाएको छ । यो वर्ष नेपाली पर्यटन व्यवसायीले ६ लाख २० हजार पाहुनालाई आतिथ्य दिने मौका पाए ।
संख्यात्मक मात्र होइन, पर्यटकको गुणस्तरमा पनि सुधारको संकेत देखिएको व्यवसायीहरू बताउँछन् । संगठनको तथ्यांक अनुसार नेपालमा आउने प्रत्येक पर्यटकले १२ जनालाई रोजगारी दिएका छन् ।
प्रकाशित मिति: २०६८ भाद्र ८
Source : Kantipur







0 comments:
Post a Comment