Tuesday, September 20, 2011

पर्यटकको संख्या बढे पनि व्यापारिक कारोबार न्यून

मधुजंग पाण्डे/राजधानी
काठमाडौं, २ असोज
विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिने पर्यटक आगमनको संख्या बढे पनि अहिले राजधानीको पर्यटकीय बजार ठमेललगायत मुलुकभरका अधिकांश क्षेत्रको व्यापारिक कारोबार आशातित् रूपमा बढेको छैन । गत अगस्ट महिनामा हवाई मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलव ४ प्रतिशतले वृद्धि भएको देखिए पनि व्यापारिक कारोबार अपेक्षा गरे अनुरुप छैन । अगस्ट महिनामा ४३ हजार ४ सय ८७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । सोही अनुपातले स्थलमार्गबाट आउनेहरूको संख्या पनि विगतका वर्षरूको तुलनामा केही बढेको देखिन्छ । तर, व्यापारिक कारोबार नबढेकामा व्यवसायी चिन्तित छन् ।
विगत १५ दिनदेखि नै वर्षै सबैभन्दा राम्रो पर्यटकीय मौसम सुरु भएर राजधानीका होटल भरिए पनि अपेक्षाकृत रूपमा व्यापार नभएको अधिकांश व्यवसायीको भनाइ छ ।
उनीहरूले संख्यात्मक रूपमा पर्यटक आगमन बढेको देखिए पनि बढी खर्च गर्ने युरोपियन मुलुकबाट आउनेको संख्या न्यून भएकाले ठमेललगायत मुलुकभरका पर्यटकीय बजारमा व्यापारिक कारोबार घटेको बताए ।
ठमेलस्थित वर्ल्डवाइड टुर एन्ड ट्राभलका प्रबन्ध निर्देशक महेन्द्र खनालले गत एक सातादेखि ठमेलको व्यापारिक करोबारमा गिरावट आउन थालेको बताए । विगतका वर्षरूको तुलनामा यसपालि बढी खर्च गर्ने खालका पर्यटक नआएको बताउँदै प्रबन्ध निर्देशक खनालले भने, 'अहिले ठमेल क्षेत्रको व्यापारिक करोबार ४० प्रतिशतले घटेको छ ।
गत ५ सेप्टेम्बरसम्म आफ्नो ट्राभलबाट दैनिक विभिन्न एयरलाइन्सका दर्ुइ दर्जनभन्दा बढी टिकट बिक्री हुने गरेको जानकारी गराउँदै उनले हाल दैनिक चारओटा टिकट बनाउनसमेत मुस्किल
परेको बताए ।
यदि आइहाले पनि छिमेकी मुलुक भारतीयहरूको संख्या बढी रहेको जानकारी गराउँदै उनले अहिले विगतका वर्षरूमा भन्दा न्यून कारोबार भएको बताए । पर्यटकीय मौसम सुरु भएर होटल एवं गेस्ट हाउसको बुकिङ उच्च रहे पनि अहिले राजधानीको प्रमुख पर्यटकीय बजार ठमेल, दरबारमार्ग, वसन्तपुर, भक्तपुर, पाटन दरबार संरक्षण क्षेत्र र नगरकोटको व्यापारिक कारोबारमा गिरावट आएको उनको भनाइ छ ।
होटल एसोसियसन अफ नेपाल -हान) ले भने अहिले आगामी अक्टोबर र नोभेम्बरका लागि होटल बुकिङ उच्च रहेको जनाएको छ ।
हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले आगामी नोभेम्बरसम्मका लागि ९० प्रतिशतभन्दा बढी होटल बुकिङ भएको बताए । उनले अहिले ठूला तारेदेखि स-साना पर्यटकीय होटलहरूमा युरोपियन मुलुकबाट आउने पर्यटकको संख्याभन्दा छिमेकी मुलुकहरू चीन र भारतबाट आउनेको संख्या केही बढी भएकाले कारोबार घटेको बताए । दरवारमार्गस्थित यती पस्मिना एवं हयान्डीक्राफ्टका प्रबन्धक राजाराम लामिछानेले पसलमा आउने सबै बढी खर्च गर्न नसक्ने खालका भएकाले व्यापारिक कारोबार न्यून रहेको बताए ।
२०६८ - असोज - २

0 comments:

Post a Comment