Wednesday, September 28, 2011

टुरिजम लिङकिङ कल्चर’ नारा नेपालको

विश्व पर्यटन दिवस नेपालमा पनि मनाइयो
‘पर्यटनको विकल्पमा आर्थिक विकासको अरू बाटो छैन’

काठमाडौं, १० असोज

टुरिजम लिङकिङ कल्चर’ भन्ने नाराका साथ नेपालमा पनि मंगलबार ३२ औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड एर्व पर्यटन क्षेत्रका सरोकारवालाहरूको सहकार्य एवं सहभागितामा बिहानैदेखि विविध कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

विश्व पर्यटन दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी एक दिन मनाइने गरेको भए पनि यस वर्ष भने सेप्टेम्बर १७ तारिखदेखि नै कार्यक्रम गरिँदै आएको छ । यो कार्यक्रम अक्टोबर १ तारिखसम्म सञ्चालन गर्ने कार्यक्रम छ । मंगलबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशराज जोशीले विश्व पर्यटन दिवसको यस वर्षको नारा नेपालको सन्दर्भमा मेल खाने बताए । “नेपालमा पर्यटनको विकल्पमा आर्थिक विकासको अन्य बाटो छैन,” सचिव जोशीले भने । उनले पर्यटन विकास गर्न १७ वटा पर्यटन क्षेत्र निर्माण गर्न लागेको जानकारीसमेत दिए ।

नेपाल पर्यटन वर्ष सन् २०११ जारी रहेको बेला मनाइएको पर्यटन दिवस फलदायी भएको नेपाल पर्यटन वर्षका राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले बताए ।

यसै अवसरमा सगरमाथा क्षेत्र आसपासका जिल्लालाई समेटेर ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले चारवटा नयाँ पदमार्ग सार्वजनिक गरेको छ । नेपाल भ्रमण गर्ने पर्यटकको झन्डै ४० प्रतिशत पदयात्रामा जाने भएकोले पनि नयाँ पदमार्ग आवश्यक देखेर हरेक वर्ष नयाँ पदमार्ग सार्वजनिक गर्ने गरेको टानका अध्यक्ष महेन्द्रसिंह थापाले बताए ।

नयाँ पदमार्गहरूमा सगरमाथा क्षेत्रमा रहेको अरुण भ्यालीदेखि खोटाङ–खुम्बु क्षेत्र हुँदै पुनः सगरमाथा क्षेत्र फर्किने गरी, त्यसैगरी, काठमाडौं लामिडाँडा हुँदै हलेसीसम्मको रुट, त्यस्तै, काठमाडौं–फाप्लु–पाँचपोखरी खरिखोला, नार्चेन रुट बागलुङको ढोरपाटन र सिन्धुपाल्चोकको पाँचपोखरी पदमार्ग छन् ।

पर्यटन दिवसमा नेपालको नारा

‘टुरिजम लिङकिङ’ कल्चर भन्ने ३२ औं विश्व पर्यटन दिवसको नारा नेपालको प्रस्तावमा विश्व पर्यटन संगठनले तय गरेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले बताएका छन् । नेपालको पर्यटन संस्कृतिसँग जोडिएकाले यसलाई नयाँ ढंगबाट परिभाषित गर्न जरुरी रहेकाले संगठनको बैठकमा प्रस्ताव गरेको कार्यकारी प्रमुख श्रेष्ठले जानकारी दिए ।

नेपालले गरेको प्रस्तावलाई संगठनले सहजै स्वीकार गरेको उनले बताए । उनले भने, “नेपालको हिमाली, पहाडी तथा तराईका सम्पूर्ण भूभागका संस्कृतिसँग पर्यटन जोड्न आवश्यक देखेर हामीले उक्त प्रस्ताव गयौं ।”

source : Karobaar daily

0 comments:

Post a Comment