Sunday, September 18, 2011

पर्यटन वर्ष प्रचारका लागि पुनः टेन्डर


नयाँ पत्रिका
पर्यटन वर्ष २०११ सकिन केही महिना मात्र बाँकी हुँदा यसको प्रचारप्रसारका लागि टेन्डर आह्वान गरिएको छ । कानुनी प्रक्रिया नमिलेका कारण अघिल्लो टेन्डर रद्ध भएपछि पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले पुनः टेन्डर गरेको हो । 'भारत र चीनमा प्रचारप्रसार गर्न टेन्डर आह्वान गरिएको छ,' पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्यालले भने ।

भारत र चीनबाहेक तेस्रो मुलुकमा प्रचार गर्न सिएनएन र बिबिसीसँगको वार्ता-प्रक्रिया पनि अगाडि बढाइएको उनले बताए । यसअघि टेन्डर डकुमेन्ट नै तयार नगरी प्रक्रिया अगाडि बढाइएकाले रद्ध गर्नुपरेको बताउँदै बस्यालले यसपटक टेन्डर डकुमेन्ट तयार गरे प्रचारप्रसारको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 'नयाँ आर्थिक वर्ष सुरु भएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो,' उनले भने । सबै कानुनी प्रक्रिया पुर्‍याएर तीन महिनाभित्र प्रवर्द्धनको काम सुरु हुने उनको दाबी छ ।

यसअघि सरकारले गत १५ साउनमा पर्यटन वर्षको प्रचारप्रसार गर्न छनोट गरिएका कम्पनी सोचेजस्तो सक्षम नभएको भन्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका सबै काम रोकेको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिले टेन्डर प्रक्रियामा कानुनी हिसाबमा पनि केही कमजोरी देखिएको निष्कर्ष निकाल्दै कार्यक्रम रोक्ने निर्णय गरेको थियो ।

समयमा प्रक्रिया पूरा नहुँदा गत आर्थिक वर्षमा पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि छुट्याएको करिब १३ करोड रुपैयाँ पि|mज भएको थियो । यसमध्ये भारत र चीनमा प्रचारप्रसार गर्न ९ करोड त्यसबाहेक देशका लागि ४ करोड रुपैयाँ छुट्याइएको थियोे, तर सो रकमलाई सरकारले चालू आर्थिक वर्षमा रकमान्तर गरेको छ । त्यस्तै चालू आर्थिक वर्षमा १२ करोड रुपैयाँ थप गरिएको छ ।

भारत र चीनमा प्रवर्द्धन गर्न नेपाली तथा भारतीय गरी ११ वटा विज्ञापन एजेन्सीले प्रस्ताव हालेका थिए भने तेस्रो देशका लागि दुई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र सिएनएनसँग वार्ता-प्रक्रिया अगाडि बढाइएको थियो । पर्यटन वर्ष प्रचारप्रसार उपसमितिका संयोजक रञ्जित आचार्यले आफूले छनोट गरेको एजेन्सीलाई ठेक्का दिन खोजेपछि मूल समितिले प्रक्रिया नै रद्द गरेको बताइएको छ । त्यस्तै बिबिसी र सिएनएनको प्रस्ताव पनि लगभग अन्तिम चरण्ँमा पुगिसकेको थियो ।

प्रचारका लागि नयाँ प्रक्रियामा जानुपर्ने भएपछि पर्यटन वर्ष प्रभावित हुने व्यवसायीले बताएका छन् । पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले २०११ मा हुनुपर्ने सबै काम अब एक वर्षपछि २०१२ मा मात्र हुने बताए । पुरानै कार्यक्रमलाई निरन्तरता दिने योजना भए पनि सरकारी ऐन-कानुनका कारण्ँ प्रचारप्रसारका काम गर्न नसकिएको उनको भनाइ छ । पर्यटन व्यवसायीका अनुसार भारतमा मेदेखि जुलाईभित्र प्रचारप्रसार गर्नुपर्छ ।
12/09/2011

0 comments:

Post a Comment